प्रजातन्त्र समर्थक अभियानका एक महत्वपूर्ण अनुहार टोनी चुङ हङकङबाट भागे
काठमाडौं । हङकङमा प्रजातन्त्र ल्याउने अभियानका एक महत्वपूर्ण अनुहार टोनी चुङले सरकारको निगरानी आदेशको उल्लंघन गर्दै बेलायतमा शरण मागेका छन्।
२२ वर्षीय टोनी चुङले बीबीसीलाई भनेअनुसार उनी हङकङमा निरन्तर निगरानीमा थिए, जहाँ प्रहरीले उनलाई ‘धेरै तनावमा’ राखेको थियो।
जेल सजाय काटेका चुङलाई सरकारले एक वर्षसम्म निगरानीमा राख्न आदेश दिएको थियो । यस अन्तर्गत उनलाई विदेश जानुअघि सरकारको अनुमति चाहिन्छ।
यस्तो अवस्थामा प्रशासनको अनुमति लिएर उनी ६ दिने बिदामा डिसेम्बर २० गते जापान गएका थिए । त्यहाँ पुगेपछि उनले हङकङ नफर्किने र बेलायतमा शरण लिने निर्णय गरे ।
चुङलाई हङकङ अलग गर्न आह्वान गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । तर, उनको सजाय जुनमा सकियो ।
तर, रिहा भएपछि आफूलाई जेलभन्दा ‘ठूलो र खतरनाक जेल’ भएको वातावरणमा राखिएको उनले दाबी गरे ।
आफ्ना सहकर्मीको बारेमा जानकारी दिन प्रहरीले आफूलाई ‘पेड इन्फर्मेन्ट’ बन्न बाध्य तुल्याएको चुङको दाबी छ ।
यसरी चुङ हङकङका ती सीमित प्रजातन्त्र समर्थकहरूसँग सामेल भएका छन् जो पछिल्ला केही वर्षमा अर्को देशमा भागेका छन्।
Facebook Comment