एक लाख मानिस विनाशबाट बच्न गाजाको दक्षिणी भागमा रहेको रफाह पुगे
काठमाडौं । प्यालेस्टिनी शरणार्थीका लागि काम गर्ने संयुक्त राष्ट्रसंघीय निकाय युएनआरडब्लुएले मध्य गाजामा भएको भीषण लडाइबाट बच्न विगत केही दिनमा एक लाख मानिस दक्षिणी गाजाको रफाह पुगेको बताएको छ।
युएनआरडब्लुए निर्देशक टम ह्वाइटले बीबीसीलाई बताएअनुसार इजिप्टको सीमानामा रहेको रफाहमा १० लाखभन्दा बढी मानिस छन्।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली बमबारीमा १६५ जनाको मृत्यु भएको छ भने २५० जना घाइते भएका छन् ।
अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि गाजा पट्टीमा इजरायली बमबारीमा मृत्यु हुनेको संख्या २१ हजार ६ सय ७२ पुगेको छ भने ५६ हजार १६५ जना घाइते भएका छन् ।
युएनआरडब्लुएले जाडोको समयमा यति ठूलो संख्यामा विस्थापित मानिसहरूका लागि मानवीय सहायता दिनदिनै महत्त्वपूर्ण हुँदै गएको बताएको छ।
संयुक्त राष्ट्रसंघका अनुसार हालै मानवीय सहायता बढाउने प्रस्तावलाई स्वीकृति दिए पनि स्थितिमा कुनै सुधार आएको छैन ।
रफाहमा मानिसहरुको भीड बढ्दै गएको छ । इजरायलले मध्य गाजाको खान युनिसका केही भाग छाड्न मानिसहरूलाई आदेश दिएको छ। रफाहमा कठिन जीवनको बीचमा मानिसहरू आफूलाई सुरक्षित राख्न प्रयास गरिरहेका छन्।
अधिकांश मानिसहरू संयुक्त राष्ट्रको खाद्य कार्यक्रममा निर्भर छन्। संयुक्त राष्ट्र एजेन्सीहरूका अनुसार यहाँ सबै कुनै न कुनै रूपमा प्रभावित छन्। ठूलो जनसङ्ख्या भोकमरीको संघारमा पुगेको छ ।
धेरै क्षेत्रहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। दक्षिणी गाजामा ठूलो मात्रामा विस्थापनको बीचमा रोग फैलिने जोखिम बढेको छ।
Facebook Comment