सामाजिक अन्तरद्वन्द्वमा नेपाल
संगठित भएर लाग्ने हो भने कुनै पनि काम सल्टाउन निकै सजिलो हुन्छ। अर्थात् कार्य सिद्धिको आधार नै संगठन हो। तर संगठन मजबुत र दरिलो हुन उद्देश्य पनि संगठनमा लाग्ने सबैको साझा हुनुपर्छ। यसो भयो भने साझा उद्देश्य पूर्तिको लागि मानिसहरु लगनशील भएर लाग्ने हुन्छन्।
मन बचन र कर्मले सबैले सहयोग गर्दछन्। श्रम पैसा र अन्य भौतिक सहयोग पनि आफ्नै चाहनाले गर्ने भएकाले कसैले कर लगाउनु पर्दैन। काम गर्ने जाँगर र स्फुर्ती स्वतःस्फुर्त आउने भएकाले निकै सहजता महसुस हुन्छ। सबैमा जागर र स्फुर्तिको उजागार हुन्छ। यसैले संगठन नै बल हो भनिन्छ।
बिना संगठन राजनैतिक, आर्थिक र सामाजिक कुनै पनि काम सफल हुँदैन। तर पनि उद्देश्यमा खटपट हुने बित्तिकै यस्तो कार्यमा सफलता कहाँ सम्भव छ र? आर्थिक, भौतिक, नैतिक सबै हिसाबले संगठनमा आबद्ध मानिसहरु लागिपर्ने हुन्छन्।
तर फायदा कुनै अमुक मान्छे एकजनाले मात्र कुम्लयाउने भएमा संगठन फितलो र कमजोर बन्दै जान्छ। यसो हुनुको कारण सामुहिक उद्देश्य परिपूर्ती हुने कुरामा अबिश्वसनीयता बढ्नु हो।
पञ्चायत कालमा राजालाई पल्टाएपछि निरंकुशता समाप्त हुन्छ भन्ने थियो। अथवा प्रजातन्त्र प्राप्त हुन्छ, यो प्राप्त भएपछि सबै सुखी हुन्छन् भन्ने आम मानिसको बुझाइ थियो। गणतन्त्र आएपछि त जनताका सबै माग सम्बोधन हुन्छ भन्ने थियो। यसकारण मानिसहरुले बन्दुक बोक्न तयार भए। मर्न मार्न तयार भए।
आजकल यो प्रजातन्त्र र गणतन्त्रमा एक दुई दर्जन नेताहरुलाई मात्र असीमित फाइदा भएको र उनीहरुका मात्र उद्देश्य पूर्ती भएको सबैले देखिरहेका छन्। यसकारण पार्टी संगठनहरु फितलो भैरहेको छ। पार्टीको आन्तरिक जीवनमा अन्तरबिरोधहरु चर्किरहेका छन्। नेताहरु पनि थाल खाउँ कि भात खाउँको अबस्थामा छन्।
संसदीय ब्यबस्थामा भोटको महत्व ज्यादा हुने भयो। भोट ल्याउन पार्टी संगठनहरु मजबुत हुनु आबश्यक छ। संगठनलाई मजबुत बनाउने नाममा, जागिर लगाइदिने, ठेक्का मिलाइदिने, बिकास गरिदिने अनेक आश्वासन बाँड्दै हिड्नुपर्छ। यो नै आजका नेताहरुको दिनचर्या हो।
बिना ढेउवामा बिदेश पठाउने कुरा यसैको एउटा उदाहरण मान्न सकिन्छ। नभए त भोट झर्दैन नि! आश्वासन बाँडिए पनि आश्वासन दिएका कुरा सबै पूरा हुँदैनन्। पूरा गर्न नसकेपछि पुन अविश्वासको भड्खालो ठूलो बन्दै जान्छ। यी र यस्तै खालका श्रृंखलाबद्ध संकट झन् झन् बड्दै गैरहेका छन्।
यसको बिकल्प वा कारणको परिणाम हो पूर्बदेखि पश्चिमसम्म हर्क, बालेन र गोपीको बिजय। तर यी पनि एउटा ब्यक्ति भएकाले माथिका अहम् महत्वका दार्शनिक सवालहरुको सामाधान पूर्ण रुपले हुन सक्ने देखिँदैन। उपर्यूक्त परिणाम स्वतःस्फुर्त परिणाम मात्र हो।
यसैले पुरानाले नयाँपनको बिरोध गरिरहन्छ। समाजलाई जहिले पनि यथास्थितिमा राख्न खोज्दछ। नयाँले नौलोपन खोज्दछ। समाजलाई परिवर्र्तन गर्न खोज्दछ। सामाजिक समस्या र अन्तरबिरोधको हल गर्न खोज्दछ। यो यस्तै भैरहेको छ यहाँ। जे भैरहेको छ ठिकै भैरहेको छ। द्वन्द्ववाद छचल्किरहेको छ। समाजमा सामाजिक समस्याको असन्तुलनलाई सन्तुलन मिलाउनका लागि भनेर बुझ्दा हुन्छ।
आजका नेताहरु केही इमान्दार पनि देखिन खोज्दछन् आजकल। किनकी चारैतीर बिकृति बिसंगति बिरुद्ध चर्को आवाज उठिरहेको छ। यसै अवसरमा फाइदा उठाइहालौ भन्ने पनि लाग्दो हो। जस लिन र फेरि पनि आफ्नो पार्टी संगठन मजबुत बनाइहाल्ने अवसरको रुपमा पनि शिर्ष नेताहरुले नसोचेका होलान भन्ने लाग्दैन।
यसैले सत्ताधारीहरुले ललिता निवास काण्डका फाइल आफैंले खोले, भुटानी शरणार्थी काण्डका फाइल खोले, सुन काण्डका कुराहरु बाहिर ल्याए तर प्रमुख रुपमा पार्टीहरु भित्रकै गन्यमान्य नेताको नाम जोडिएर आयो यसमा।
यस्ता कर्म गर्ने अरुको त कहाँ हिम्मत पुग्न सक्छ? अहिले त झन एनसेलको शेयर खरिद बिक्री काण्डले सरकार प्रमुखको टाउको खाएको छ। भर्खरै प्रचण्ड परिवार भित्र भएको दरवारिया खानदानको जस्तो बिबाह र उहिलेको क्रान्तिकारी बिवाहसँग दाजेर संचार माध्यमले निकै हल्लाखल्ला गरे यसपाली।
अहिलेका यस्ता बिकृति र बिसंगतिहरु उहिलेदेखि नेपाली राजनीतिमा भित्रिएको बिकृति, बिसंगतिको चरम रुप हो भन्न सकिन्छ। लाउडा काण्ड होस् कि धमिजा काण्ड, गिरीबन्धु टी स्टेट होस् कि यती र ओम्नी काण्ड सरकारमा बस्नेको स्वरुप निर्धारण गरिदिएका छन् यस्ता कुराहरुले।
भएका हुन वा नभएका हुन्। मिडियाले हल्ला त गरिरहेकै छन्। गरिबीपन र देशको दूराबस्थालाई हेर्दा र नेताहरुको तामझामलाई दाँजेर हेर्दा नपत्याइ रहने अबस्था पनि छैन। जनसाधारणमा यो लोकतन्त्र र गणतन्त्र आएपछि केही राम्रा काम पनि नभएका होइनन्।
जस्तो की चारैतीर बाटाघाटाहरु खोलिए। सडकहरु बनाइए। स्कुल र कलेजहरु खोलिए। तर गुणस्तरीय काम चाहिँ कुनै पनि भएन। बरु शिक्षित बेरोजगारहरुको जन्म भयो।
दिनदिनै युवा पलायन भैरहेका छन्। यसैले हजारौ हजार युवा दिनहुँ त्रिभुवन बिमानस्थलमा लर्को लागेको देखिन्छ। देश छोड्नेको ताँती हेर्दा कुनै दिन छिट्टै नै देश खाली हुन्छ झैं लाग्छ।
यसरी सत्तासिनहरुमा दिन प्रतिदिन दरवारिया सान सौकत देखिनुमा भ्रष्टाचार घुसखोरी दलाली बिचौलिया जस्ता बिकृति बिसंगतिले उनीहरुमा मलजल दुबै पुग्दै गएको छ भन्ने प्रष्ट हुँदैनन र? यकातिर यस्तो छ भने अर्कातिर निरीह जनता देश भित्र काम माम पाउँदैनन्।
काम मामको खोजीमा बिदेश जान पाउँ भन्ने माग गर्ने कलिला युवा गोलीका सिकार पनि बन्न थालेका छन्। दुई जनाको केही दिनअघि मात्र यही गति भएको कुरा आएको छ। मृतक सुजन रावत र वीरेन्द्र शाहको कथा व्यथा सुनियो। बोल्ने शब्द भेटिएन र घाँटी गाठो परिरह्यो…….।
विदेश गएर विधवा आमा पाल्ने र घर सम्हाल्ने सपना बोकेको छोराको मृत्यूको खवरले त्यो बिदुवा आमाको मन कस्तो भयो होला ….? देशमै काम गरिखान्छु भन्दा पनि भाको कारखाना बन्द छ । आफैं काम गरी खान्छु भन्दा पनि बजार ब्यबस्था अस्तब्यस्त छ। आन्दोलन गरेपनि यसरी मर्नुपर्ने बाध्यता छ।
पद र पोष्ट सम्हालेर बस्ने भ्रष्टहरुले मात्र देशमा सुुख भोग गरेर देशको सम्पत्तिमा ढलीमली गरेर बस्ने हो र? भौतिक चिजबिजको क्षति नै गरेको भएपनि जनताको ज्यानै लिन त भएन नि! यस्तै यस्तै सुनिन्छ जताततै।
दैलेखका सुजन रावतको ललितपुर बालकुमारीमा भएको एउटा ईपीएस परीक्षा सम्बन्धी आन्दोलनमा प्रहरीको लाठी र बन्दुकको कुन्दाले छातीमा लागि मृत्यु भएको कुरा सार्बजनिक भएको छ।
यी भर्खरका कलिला युवा हुन्। गत बर्ष मात्र बुवा गुमाएका यिनले विधवा आमा र सानु भाइको सपना पूरा गर्न कोरियन भाषा परीक्षा दिन काठमाडौं आएका थिए। उनको इच्छा कहिल्यै पूरा नहुने गरी उनी अस्ताए।
मन्त्री प्रकाश ज्वाला र उनको चालकलाई बाहिर निकालेर मन्त्रीका गाडीमा आन्दोलकारीले आगो लगाएको कुरा पनि सत्य हो। यो गर्नु ठिक हो भन्ने कुरा हुँदै होइन। कारवाहीका अन्य विधि पनि थियो होला राज्यसँग। तर, अन्य विधिको प्रयोग गरिएन। भोकको ज्वाला दन्काउने र युवाहरुको आक्रोशलाई उजागार गर्ने काम पनि त यही हाम्रो राज्य प्रणालीले गरेको हो।
चरम रोजगारीको संकट र चरम भ्रष्टाचार तथा घुसखोरीबाट धन कमाउने चिन्तनबीच आजकल चरम अन्तरबिरोधको श्रृजना भैरहेको छ नेपाली समाजमा। धेरै अरु अन्तरबिरोध पनि छन्। तर प्रमुख अन्तर बिरोध भनेको देश भित्र रोजगारी नपाइनु हो। यसको हल गर्ने अन्तरदृष्टि र दूरदृष्टि भएको नेता जन्मने छाटकाँट अझै देखिएको छैन।
पार्टीहरु भित्र युवा जोश जाँगर र केही गर्छु भन्नेलाई उठ्न दिइएको छैन। पार्टीहरु चरम गुटबन्दीको शिकार भएको छ। गुटको हित सामुहिक हित र देशको हित भन्दा ठूलो भएको छ। यसो हुनु शिर्ष नेताहरुको चरम ब्यक्तिगत स्वार्थ हावी हुनुको कारण हो भन्ने कुरा बुझ्न कुनै कठिनाई छैन।
यो ब्यक्तिगत स्वार्थ देश भित्र मौलाई रहेको दलाल पूँजीबादको अनुपम नमूनाको हेर्न लायक हिस्सा हो। यो नै आजको नेपालको राज्य प्रणालीमा हावी भैरहेको मुख्य कुतत्व हो। फेरि पनि यसैको पछिपछि लाग्नेको जमात पनि ठूलै छ। यसको उन्मुलन नगरेसम्म, बर्तमान परिस्थितिमा कुनै फेरबदल पक्कै आउनेछैन।
Facebook Comment