बीपीको मेलमिलापको मर्मलाई गोमानेको कोट बनाउनेहरु
नेपाली कांग्रेसले उहिले उहिलेभन्दा फरक ढङ्गले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैछ। यसपटक विशेष रुपमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा शान्ति प्रक्रिया र संविधान निर्माणमा संलग्न दलहरूसँग अन्तरक्रिया गर्ने भनेको छ।
यसका लागि नेपाली कांग्रेसले शान्ति प्रक्रियामा संलग्न दलहरुलाई निम्तो दिएको छ। निम्तो हेर्दा विस्तारै कांग्रेसले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गुमानेको कोटजस्तै बनाइएको बीपीको सिद्धान्तलाई आफ्नो पार्टीभित्र समेट्दै जाने हो कि भन्ने शुभ लक्षण देखिएको छ।
गण्डकी प्रदेशले बीपीले भनेकै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई स्वीकार गर्ने प्रजातन्त्रको सट्टा लेखिएको लोकतन्त्रलाई स्वीकार नगर्ने भनिसकेको सन्दर्भमा मेलमिलाप दिवसमा बीपीलाई सम्झना गर्दै नेपाली कांग्रेसले बीपीले पहिले भन्ने गरेको धार्मिक स्वतन्त्रता र संवैधानिक राजसंस्थालाई पनि अंगिकार गर्ने हो कि भन्ने सोच कांग्रेसजनले राखेकै होलान्।
बीपी बामपन्थीहरुसँग कहिल्यै मिल्नु हुँदैन भन्नेमा अडिग थिए। देश बामपन्थीमय हुन लाग्यो भनेर तर्सिएका बीपी राष्ट्रियताको मामिलामा राजा र मेरो घाँटी जोडिएको छ भनेर मर्न परेपनि नेपालमै मर्दछु भन्ने रणनीति अन्तर्गत नेपाल प्रवेश गरेका थिए।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने मुद्दा चलिरहेका बेला आफू राष्ट्रिय एकताका लागि जीवन अर्पण नै गर्न समेत तयार रहेको व्यहोराको प्रेस विज्ञप्ति जारी गर्दै वि.सं. २०३३ पुस १६ अर्थात् आजकै दिन ४८ वर्ष अघि मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएका थिए।
नेपाली कांग्रेसले विगतमा पार्टीभित्र आन्तरिक कार्यक्रम मात्रै गरेर दिवस मनाउने गरेकोमा यसवर्ष परम्परालाई तोड्दै मुलुकका प्रमुख राजनीतिक शक्तिहरूका बीचमा मेलमिलाप र अन्तरक्रिया गर्न लागेको जनाएको छ।
तर प्रमुख राजनीतिक शक्तिमा मधेसी जनअधिकार फोरम हुँदै जनता समाजवादी पार्टी भएको तथा २१ जना सांसद रहेको राष्ट्रिय स्वतन्त्र पार्टी लगायतलाई बोलाउँछ कि बोलाउँदैन वा संविधान जारी हुने बेलामा ब्ल्याक आउट गर्ने पार्टीहरु र अहिले राजा र हिन्दुधर्म मागिरहेको राजनीतिक शक्तिलाई आफ्नो कार्यक्रममा बोलाएको छ छैन त्यो त कार्यक्रम शुरु भएपछि थाहा हुन्छ नै।
तर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान संविधान र व्यवस्थामाथि प्रश्न उठाउनेहरू बढ्दै गर्दा शान्ति प्रक्रिया र संविधान निर्माणमा संलग्न दलहरू एकताबद्ध हुनुपर्ने आवश्यकता ठानेर मेलमिलाप दिवसमा अन्तरक्रिया कार्यक्रमको रुपमा रुपान्तरण गरेको बताइसकेपछि यसले धेरै खाले अर्थ लाग्दछ?
पटक पटक प्रधानमन्त्री हुने फिराकमा लागेर भारतको अन्धभक्त भएर समर्थन गर्ने जोसुकैलाई बीपीले नकारात्मक रुपमा लिनु हुन्थ्यो। त्यो काम नेपाली कांग्रेसले गर्न छोडेर भारतका बफादारहरुलाई निम्ता दिइरहेको छ। यसले बीपीको चित्त पक्कै दुख्नेछ।
के वीपीलाई बाँकी अन्य राजनीतिक शक्तिले मान्न पाउँदैनन् भन्न खोजेको हो? वा बीपी परिवर्तनवादी भन्दा यथास्थितिवादी थिए भनेर उनलाई यो कार्यक्रमको माध्यमले भारतीयको डिजाइनमा विवादमा ल्याउन खोजिएको हो?
वा बीपीले बामपन्थीहरुसँग कुनै हालतमा सहकार्य गर्नु हुदैन भनेर राख्नु भएको अडानलाई लत्याउँदै बामपन्थी शक्तिहरुलाई मात्रै बोलाएर कांग्रेसले बीपीलाई सम्झना गर्दै उनकै अडानमा धोती लगाइदिन खोजेको हो?
यो त नेपाली कांग्रेसमा पार्टी पंक्तिले आवश्यक स्थानमा नागरिकलाई जवाफ दिने नै छन्। तर जुन किसिमले बीपी कोइरालाका फलोअरर्सहरुले माओवादीसँग लगन गाँठो बाधेर सत्तामा रमाइरहेको छ त्यसमा गगन थापा वा डा. शेखर कोइराला वा बीपी पुत्र डा. शशांक कोइरालाले के भन्ने छन्? वा के गर्नेछन्? यो हेर्न बाँकी छ।
बीपीले कुन सन्दर्भमा कुन समयमा राष्ट्रिय मेलमिलापलाई आफ्नो नयाँ गन्तव्य बनाएका थिए? त्यसबारेमा यहाँ विवेचना गर्न आवश्यक छ। यसलाई विवेचना गर्दा ‘पाँच कुरा बीपीको मेलमिलापको इच्छा हुन्छ पुरा’ भन्ने नारा राखेरै विश्लेषण गर्नुपर्ने देखेको छु।
प्रथम जननिर्वाचित प्रधानमन्त्री भइसकेका बीपी जब राजा महेन्द्रको एउटा आदेशमा जेलमा कोचिनु पर्यो। त्यसबेला नेपाली कांग्रेसको नेतृत्व सम्हालेका सुवर्ण शमशेरले सशस्त्र आन्दोलन समेत गरेका थिए। ११ महिनाको सशस्त्र आन्दोलनमा ५०० घटनाहरु भए।
अनुपात निकाल्ने हो भने र मुक्ति सेना, सर्वसाधारण र सरकारी सेना र सुरक्षाकर्मी मरेको संख्या निकाल्ने हो भने माओवादीको १० बर्षको सशस्त्र विद्रोहमा मर्नेको संख्या र नेपाली कांग्रेसको ११ महिनामा मर्नेको संख्यालाई ११ ले गुणन गर्दा ‘कोही किसिसे कम नही’ भन्ने देखिन्छ। त्यही भएर माओवादीसँग माया पिरती जोडेको हो भने केही भन्नु छैन।
तपाईंहरुको लगनगाँठो विवाहमा नै परिणत होस्। तर सुवर्ण शमशेरले बीपी र गणेशमान सिंह लगायतलाई जेलबाट निकाल्न सन् १९६८ मे १५ मा मेलमिलापको नीति लिएका थिए। यहाँ सुवर्ण शम्शेरको मेलमिलापको नीतिलाई कांग्रेसजनले सम्झना गर्लान कि नगर्लान्?
अहिलेको विसम परिस्थितिमा सबै राजनीतिक शक्ति एकै ठाउँमा बस्नु पनि उपयुक्त वातारण छैन। अमेरिकी दूतावासले हुलमुलमा नजान आफ्ना नागरिकहरुलाई सूचना गरिसकेको अवस्थामा १२ बुँदेहरु एकै स्थानमा बालुवाटार वा सिंहदरवारमा बस्दा त राम्रै हो। तर सर्वसाधारणको पहुँच भएको स्थानमा बस्तु कत्तिको सेफ्टी हुन सक्छ?
हुन त नेपाली कांग्रेसका महामन्त्री शर्माले नै सञ्चारकर्मीलाई ‘१२ बुँदे शान्ति सम्झौता, शान्ति प्रक्रिया र संविधान निर्माणमा संलग्न दलहरु मिलेर प्राप्त भएका उपलब्धिहरूको रक्षा र संविधान कार्यान्वयनमा जुट्न’ कार्यक्रम राखिएको बताएपछि कुरै सक्कियो।
प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रमहरु केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई त निम्तालु पक्कै होलान्। बीपी बाँचेका भए एमालेमा आइसक्थे भन्ने केपी ओलीले फेरि त्यही भन्लान् कि नाई?
बीपी बामपन्थीहरुसँग मिलेर केही गर्न चाहँदैनथे भन्ने पढेका बामपन्थीहरुले त्यसबारेमा कस्तो धारणा राख्लान्? कार्यक्रम भएपछि पक्कै पनि बुझ्ने अवसर पाइएला।
तर बीपी कोइरालाको मेलमिलापको मूल मर्म भनेको भारतको आश गर्नु बेकार छ भन्ने हो। भारतले युजगर्छ र उसलाई समस्या पर्दा फाली दिन्छ भन्ने हो। किनकी बीपीले मेलमिलापको बाहना बनाएर नेपाल पस्तु अघि भारतीय पत्रिका हिमेशिया टाइम्स पाक्षिकलाई दिएको अन्तर्वार्तामा ‘प्रजातान्त्रिक सरकारबाट मलाई जुन कुराको अपेक्षा थियो त्यो भारत सरकारबाट मिलेन, हामीले अनावश्यक झण्झट उठाउनु पर्यो।’
भारतसँग रिसाएर नेपाल छिरेका वीपी भन्ने सबैलाई थाहा छ तर त्यही भारतको इशारामा १२ बुँदे गर्नुहरु भेला भएर वा भारतको टेकोमा टिकिरहेको सरकारका प्रधानमन्त्रीलाई साँचीराखेर मेलमिलाप दिवस मनाउने स्थितिमा नेपाली कांग्रेस पुग्नु भनेको लज्जास्पद कुरा हो। त्यसैले पाँच कुरामा पहिलो कुरा भनेको लम्पट भएर भारतको दलाली गर्न छोड्नु भन्ने वीपीको सन्देश नै हो।
दोस्रो कुरा भनेको बीपीले नेपालको राष्ट्रियता जोगाउन राजासँगै सहकार्य गरेर जानु पर्दछ भन्ने हो। बरु राजालाई फकाउने, रिझाउने, प्रजातन्त्रको पाठ पढाउने र राजसंस्थासँग मिलेरै देशको मुहार फेर्ने भनेर बीपीले संवैधानिक राजसंस्थालाई नेपाली कांग्रेसको विधानमा राखिराख्नु भयो र उहाँको मृत्युसम्म त्यसलाई हटाउनु भएन।
नेपाललाई सिक्किम बनाउन लागेभन्ने भेऊ पाएरै उहाँले राष्ट्रियताको सन्दर्भमा राजा र मेरो घाँटी जोडिएको भनेर स्वदेश फर्किनु भएको थियो। तर त्यही भारतको इशारामा राजा फाल्ने डेण्डर लिएर सशस्त्र आनदोलन गरेका माओवादीसंग नेपाली कांग्रेस मिलेको देख्दा स्वर्गमा रहेका बीपीले के भन्दै होलान्? लठुवाले गर्दा सबै विगारेर आयो भनेर गिरिजाप्रसाद कोइरालालाई नै हकार्दै होलान्।
स्वयं गिरिजाप्रसाद कोइरालाले अन्तिममा आएर प्रथम राष्ट्रपति हुने ललिपप देखाएर राजा मास्न लगाएर धोका दिएको बिर्सिएका छैनन् होला। यसमा नेपाली कांग्रेसले माओवादीलाई राष्ट्रिय मेलमेलाप दिवस मनाउन बोलाएर अर्को महागल्ती गरेको देखिन्छ।
तेस्रो कुरा भनेको बीपीले भनेका थिए हामी केबल प्रजातन्त्रको कुरा गर्दछौं र राष्ट्र रक्षाका कुरालाई नजरअन्दाज गरेर वेवास्ता गर्दछौंभने हामी विदेशी तत्वका हतकण्डा बन्न सक्नेछौं। यसको अर्थ के हो?
बीपीले पनि प्रचण्डको जस्तै गिरिजाप्रसादको जस्तै विदेशी तत्वको हतकण्डा बनेर पटक पटक प्रधानमन्त्री बन्न चाहेको भए सजिलै पाउँथे। तर वीपी कै अडानका कारण नेपाल सिक्किम हुनबाट बचेको हो।
पटक पटक प्रधानमन्त्री हुने फिराकमा लागेर भारतको अन्धभक्त भएर समर्थन गर्ने जोसुकैलाई बीपीले नकारात्मक रुपमा लिनु हुन्थ्यो। त्यो काम नेपाली कांग्रेसले गर्न छोडेर भारतका बफादारहरुलाई निम्ता दिइरहेको छ। यसले बीपीको चित्त पक्कै दुख्नेछ।
चौथो कुरा भनेको भारतमा संकटकाल थियो। भारतीय जनता पार्टी इन्दिरा गान्धीको खिलाफमा थिए। वीपीको हेमचेम समाजवादीहरुसँग थियो। समाजवादीहरुलाई सहयोग गरेको आरोप इन्दिरा गान्धीले लगाइरहेकी थिइन्।
इन्दिरागान्धी वीपीलाई भारतमा राख्न चाहँदैनथिइन्। त्यसका लागि उनले तत्कालीन नेपालमा रहेका भारतीय राजदूतलाई राजा बीरेन्द्रसँग कुरा गर्न लगाएकी थिइन्।
बीपीलाई नेपाल आउने वातावरण तयार गरिदिनु पर्यो भनेर। राजा बीरेन्द्रले राजदूतलाई भनेका कुरा वीपी भएको ठाउँमा पुर्याउनका लागि राजदूतले पाकिस्तान विवाह गरेर गइसकेकी विजया कोइरालालाई नेपाल बोलाएर पत्र दिएर वीपी समक्ष पठाएका थिए। राजा र भारतबीच बीपीका बारेमा कुरा भएपछि त्यसको सन्देश पाएपछि वीपीले मेलमिलापको नीति लिएका हुन्।
यो विशुद्ध भारतको अप्ठेरो परिस्थितिले सृजना गरेको कुरा हो। यसलाई नेपाली कांग्रेसले धेरै बढाईचढाई गरेर फुलबुट्टा भरेर प्रस्तुत गर्दैछ भन्ने धेरै टिप्पणी आउने गरेको छ। आजको कार्यक्रमले त झन कति न ठूलो घटना भनेर जसजसले बीपीको उक्त नीतिको विरोध गरिरहेका छन् तिनीहरुलाई नै बोलाएर के नै उपलब्धि हुने हो र?
पाँचौ कुरा भनेको बीपीले भनेका थिए हामी आपसमा नमिल्दा देशमा सङ्कट आइपरेको छ। राष्ट्रिय एकताको अभावले गर्दा देशमा विदेशी तत्वहरुले कुचक्र चलाउन र नेपाललाई अन्तराष्ट्रिय षड्यन्त्रको अखडा हुनबाट बचाउनका लागि राष्ट्रवादी शक्तिहरु मिल्नुको विकल्प नै छैन।
हिजोसम्मको संघर्ष जनताको लागि प्रजातन्त्रका लागि थियो तर अब राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै लिएर हिड्नु पर्नेभएकोले राष्ट्रवादी शक्ति र प्रजातन्त्रवादी शक्तिबीच राष्ट्रिय मेलमिलापको अपील गर्दछु भन्ने वीपीको अन्तिम निष्कर्ष छ।
तर यहाँ त त्यसको उल्टो, भारतीय सेना ल्याएर नेपालमा राजतन्त्र फालौ भन्ने माधवकुमार नेपाललाई अतिथि बनाएर बीपीको मेलमिलापको मूलमर्ममाथी प्रहार गरिँदैछ।
भारतको इशारामा नाच्नेहरुलाई विभिन्न भूमिकामा राष्ट्रिय मेलमिलाप नीतिको मूलमर्मलाई ओझेलमा पार्न खोजिँदैछ। वीपीलाई राजाले जीवनभर दुःख नै दिए, तर पनि बीपीले अन्तिम स्वास फेर्दासम्म संवैधानिक राजसंस्था नै रटान लगाइरहे। भविष्यको ज्ञान भएर बीपीले यस्तो गरिरहेका थिए।
राजा मुर्ख भयो भनेर आफू पनि मुर्ख हुनु हुँदैन भन्ने बीपीलाई लागेको हुनसक्छ। तर बीपीको विचारलाई गुमानेको कोट जस्तै बनाएर नेपाली कांग्रेसका आजका कार्यक्रमका आयोजकहरु आफूलाई महामूर्खको दर्जामा राख्ने प्रयास गर्दैछन्।
वीपीको राष्ट्रिय मेलमिलाप भनेको सबै राजनीतिक शक्तिलाई मूलप्रवाहीकरणमा ल्याउनु पनि हुन सक्छ। त्यसको लागि २०४७ सालकै संविधान ठीक होइन र? वा बीपी कै अगुवाईमा बनेको वि.सं. २०१५ को संविधान उपयुक्त होइन र? बामपन्थीहरुलाई विश्वास गर्नुभनेको वीपीको भावनामा ठेस पुर्याउनु हो।
हुन त नेपालमा बामपन्थीहरु को नै छन् र? तरपनि बामपन्थको खोल ओढेर भारतको गुलामबन्नेहरुबाट कम्तिमा नेपाली कांग्रेस भित्रको राष्ट्रवादी शक्ति होसियार हुनु पर्दछ।
बीपीको राष्ट्रिय मेलामिलाप दिवसले नेपाली कांग्रेसको राष्ट्रवादी भावना, संस्कृति जोगाउने चाहना राख्नेहरुको कल्याण गरोस्।
Facebook Comment