चन्द्रपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको बिरोध प्रर्दशन
रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटको चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेको छ।
ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दुई जना बेरोजगार युवाको न्यायको लागि र देशमा भएका ठूला भ्रष्टाचार र बेथितिको काण्डबारे सरकारसँग प्रश्न गर्न विरोध प्रदर्शन गरिएको रास्वपाका चन्द्रपुर नगर सभापति उदय सापकोटा सुरेनले बताएका छन्।
विभिन्न भ्रष्टाचार र काण्ड हरुको विरोध गर्न शान्तिपूर्ण आन्दोलन गरिएको सभापति सापकोटाले बताए। एक घण्टे विरोधको कार्यक्रममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला अगाडि राखेर ठूला काण्डका प्रश्न लेखिएका प्लेकार्ड राखेर विरोध प्रदर्शन गरिएको थियो।
रास्वपाका नेता कार्यकर्ताहरुले सरकार जवाफ चाहियो भन्दै प्रश्न सोधेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने? ललिता निवास काण्डमा दोषी उम्काउने? सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने? एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने?
टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने? वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरी बन्धु काण्डका फाइल थन्क्याउने? नारायणघाट-बुटवल, मुग्लिन-पोखरा लगायतका सडकहरू वर्षौं अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?
प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने? दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने? भन्दै प्रश्न गरेका छन्। देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ भन्दै सो पार्टीले कार्यक्रम गरेको छ।
कार्यक्रममा रास्वपाका रौतहट ४ क्षत्रीय सभापति जनक राज भारती, चन्द्रपुर नगर सभापति उदय सापकोटा सुरेन लगाएत उक्त पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
Facebook Comment