दुई युवाको रगतले लत्पतिएको अनुहारको निर्लज्जता कहिलेसम्म ?
काठमाडौं। अंग्रेजी नयाँ वर्षको शुरुवात हुँदा हुँदै मुलुकले होनहार दुई नेपाली युवालाई गुमाउनु परेको छ। अत्यन्त दुखदायी यो घटनाका मुख्य दोषी को हुन् र कानून वा छानविनबाट कहिले पत्ता लाग्लान् यो प्रतिक्षाको विषय भए पनि आमरुपमा यी दुई युवाका हत्याराहरु सार्वजानिक छन्।
तिनको अनुहार गरीव नेपालीको आलो रगतले लतपतिएको छ, विद्रुप एवं रक्तपिपासु ती अनुहारलाई मुलुकले तिनै गरीव नेपालीका शासकका रुपमा स्वीकार गर्नु परेको छ।
इपीएस कोरियाको भाषा परीक्षा दिन पाउनु पर्ने माग राख्दै सडकमा ओर्लिएका युवाहरुमाध्ये छानेर किन दैलेखका सुजन राउत र डाेटीका वीरेन्द्र शाहलाई निर्ममतापूर्वक लाठी र लात्ती एवं गोली दागियो त्यो दाग्नेहरुलाई थाहा होला। तर, यो नांगाे अपराधमा निर्लज्ज अनुहार लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ अब कसरी राजनीति गर्छन् र राजनीतिक निर्लज्जता देखाउलान्?
हुन त नेपाली राजनीतिमा लज्जा हराएको बषौं भइसकेको छ। लाज पचेपछि नैतिकता वा नैतिक दायित्वको कुनै प्रश्न नै आउँदैन। विगतमा सिंहदरवारमा आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पदबाट राजीनामा दिएका थिए।
दशरथ रंगशालामा भीडभाड र भागदौड मच्चिँदा तत्कालीन मन्त्री केशरबहादुर विष्टले पद छोडेका थिए। यी नैतिकता र जिम्मेवारीबोधका उदाहरण थिए तर अहिले यस्ता घटनाको कुनै हिसाव छैन।
आफू र परिवारको सपनालाई अधुरो पार्दै, सबैलाई आशुमा डुवाएर जीवन गुमाउन बाध्य पारिएका यी दुई युवाको रगतले गोली प्रहार एवं नृशंस लाठी प्रहारको आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुनै पछुतो देखिएको छैन। यी युवाको आलो रगतले लत्पतिएको अनुहार निर्लज्जतापूर्वक देखाएर यिनी उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पदमा आसीन छन्।
रोजगारी दिन सकेनौं कोरिया गएर भए पनि पसिना बगाउँछु घर परिवारको ऋण तिर्छु र पारिवारिक जीवनलाई केही भएपनि सरल बनाउछु भन्ने यी दुई युवाहरुको बालकुमारीमा रगत बगेको छ अनाहकमा।
आफू र परिवारको सपनालाई अधुरो पार्दै, सबैलाई आशुमा डुवाएर जीवन गुमाउन बाध्य पारिएका यी दुई युवाको रगतले गोली प्रहार एवं नृशंस लाठी प्रहारको आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कुनै पछुतो देखिएको छैन। यी युवाको आलो रगतले लत्पतिएको अनुहार निर्लज्जतापूर्वक देखाएर यिनी उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पदमा आसीन छन्।
बरु यिनको आदेश पालन गरी लाठी चार्ज एवं गोली प्रहारको नेतृत्व गर्ने सिडिओ, प्रहरी प्रमुख र सम्बन्धित कर्मचारीहरु निलम्बन गरिएका छन्, आदेश पालकहरु अपराधी भएका छन् र आदेशदाता यी मन्त्री आदेश पालकहरुलाई मुख्य अपराधी बनाएर निर्लज्जता प्रदर्शन गरिरहेका छन्।
यो दर्दनाक दृष्यले मुलुक थप आन्दोलित, आक्रोशित र लज्जित भएको छ। भाषणमा नैतिकता र इमान्दारिताको पाठ पढाउने यिनको बिद्रुप अनुहार गृहमन्त्रीका रुपमा अझै पनि नेपाली जनताले सहनुपर्ने भएको छ।
यो निर्लज्जताको कुनै औषधि अवश्य छैन किनकि यी नेता आम निर्वाचनमा जनताबाट अनुमोदित थिएनन्, गोरखाबाट पराजित थिए तर यिनलाई पद विना बस्न सम्भव थिएन। र, यिनका दवाव थेग्न प्रचण्डलाई पनि सहज अवश्य थिएन त्यसैले यिनी राष्ट्रियसभामा उभ्याइएका थिए।
त्यहीबेला यिनको राजनीतिक इमानमाथि प्रश्न उठेको थियो नै अहिले आएर त यिनको अनुहारमा रोजगारीको तलासमा भौँतारिएका गरीब ग्रामिण युवाको नृशंस हत्याको आलो लत्पतिएको छ तै पनि यिनलाई त्यो रगतले पोलेको देखिएको छैन।
निर्ममतापूर्व गोली प्रहारको आदेश दिएर पनि त्यसलाई स्वीकार गर्न यिनलाई मुस्किल परेको छ, पद र सुविधाको भोकले यिनी निर्लज्जतापूर्वक मौन देखिएका छन् र कर्मचारीहरुलाई बलीमा चढाएर आफू रगतमाथिको ओभानो देखिएका छन्।
राजनीतिको यो प्रबृतिले नेपालको वर्तमान शासन व्यवस्थामाथि निराशामात्र होइन अविश्वास थप्दै लगेको छ र विद्रोहका झिल्काहरु यत्रतत्र देखिन थालिसकेका छन्। यी झिल्काहरुको फाइदा दरवारिया मण्डलेहरुले लिने र पुरातनपन्थी राजनीतिको पुनरावृत्ति गर्ने लालसा पनि यही र यस्तै कारणले मौलाएको छ।
जनताको शान्तिपूर्ण आंधीवेहरीले नै रक्तरंजित अनुहारहरु बेनकाव हुने हुन् त्यसैले होसियारीपूर्वक शान्तिपूर्ण विद्रोहमाथिको दमन टिकाउ हुनै सक्दैन भन्ने बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कति समय लाग्ला? सत्ता स्वार्थले विद्रोहको यो ज्ञानमाथि विर्को लागेकै हो?
Facebook Comment