डेनमार्ककी महारानीले लाइभ शोमा नयाँ वर्षको शुभकामना दिँदै राजगद्दी त्यागेको घोषणा गरिन्
काठमाडौं । डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको शुभकामना दिँदै प्रत्यक्ष टिभी सम्बोधनका क्रममा सिंहासन त्याग गरेको घोषणा गरेकी छन् ।
मार्गरेट द्वितीयले औपचारिक रूपमा जनवरी १४ मा आफ्नो पद छोड्नेछिन्। उनी ५२ वर्षदेखि डेनमार्ककी महारानी रहेकी छिन् ।
मार्गरेट द्वितीयले घोषणा गरेअनुसार अब उनको छोरा क्राउन प्रिन्स फ्रेडरिक सिंहासनमा बस्नेछन् । रानी ८३ वर्षकी भइन् । सन् २०२३ मा भएको शल्यक्रियापछि यो निर्णयमा पुगेको उनले बताइन् ।
मार्गरेट द्वितीयले १९७२ मा सिंहासन ग्रहण गरेकी थिइन् जब उनका बुबा राजा फ्रेडरिक नवौंको मृत्यु भयो।
मार्गरेट द्वितीयले भनिन्, “शल्यक्रिया पछि, म भविष्यको बारेमा सोच्न सक्षम भएँ र अर्को पुस्तालाई जिम्मेवारी सुम्पने समय आएको छ कि छैन भन्ने बुझें । मैले निर्णय गरेकी छु कि यो सही समय हो।”
उनले देशका जनतालाई सहयोग गरेकोमा धन्यवाद दिइन् । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले महारानीलाई उनको सेवाका लागि धन्यवाद दिएकी छिन्।
Facebook Comment