बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन र संविधानको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।
४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको परिवर्तनमा दलहरुबीच एकता भएजस्तै शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा पनि राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् ।
उनले आफु नेतृत्वको सरकार सबैलाई एकठाँउमा ल्याएर सुशासन कायम गर्ने लक्ष्यका साथ अघि बढेको जिकिर गरे । वर्तमान सरकारले गरेका राम्रा काम र रेकर्डहरुको समर्थन गर्न पनि उनले आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले अहिलेको व्यवस्थाको विरोध गरेर राष्ट्रवादी बन्ने प्रयास गरेको भन्दै जनतामा निराशा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने धारणा राखे ।
त्यस्तै उनले दुई जना युवाको निधन हुनेगरी बालकुमारीमा भएको घटना बाहिर देखिएजस्तो नभएको आशंका व्यक्त गर्दै त्यसपछिका अभिव्यक्ति तथा प्रचारबाट गम्भिर हुनुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले बालकुमारीमा भएको घटनालाई लिएर मन्त्रीलाई गाडीमै जलाउनुपथ्र्याे भन्ने जस्ता र प्रमुख पार्टीका नेताहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अस्वाभाविक रहेको बताए । यी सबै गतिविधि लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने उनको भनाइ छ ।
उनले आफुले उक्त घटनालाई गम्भिर रूपमा लिएर उच्चस्तरीय छानविन आयोग बनाइएको बताए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा विपि कोइराला नेपाली राजनीतिको मुर्धन्य व्यक्तित्व भएको कुरामा कसैको विमति नरहेको बताए । जनुसुकै पार्टी र राजनीतिमा भए पनि अहिले सबै नेताहरू विपी स्कुलबाट प्रभावित भएको उनको भनाइ थियो ।
Facebook Comment