श्रीमतीलाई नेतृ बनाउने चाहना : फाप कि अफाप

विश्वको इतिहासको हेर्ने हो भने विभिन्न कालखण्डमा महिलाहरूले राजनीतिलगायत महत्त्वपूर्ण क्षेत्रमा विशेष भूमिका निर्वाह गरेका घटनाहरू पाइन्छन्। महिलाहरूको योगदान, त्याग तथा महिमा जस्ता विषयमा धार्मिकलगायत अनेकौँ ग्रन्थहरूमा चर्चापरिचर्चा पनि भएका छन्।

साहित्य र कलाका विभिन्न विधामा नारी पात्रले प्रमुख स्थान पाएका छन्। राष्ट्रको छवि, स्वाभिमान, गरिमा, पहिचान आदि वृद्धि गर्न महिलाको स्थान स्तुत्य छ, हुनुपर्छ पनि। तर, महिलाकै कारण अनेकौँ राजवंशको उत्थान तथा पतन भएका घटना पनि छन्।

महिलाकै कारण पुरुष सफल भएका छन् भने असफल भएका दृष्टान्त पनि भेटिन्छन्। नेपालको इतिहासमा नारीहरूको स्थानका विषयमा वस्तुनिष्ठ मूल्यांकन गरी समीक्षात्मक अध्ययन स्वरूप डा कृष्णबहादुर थापा, डा मेदिनीप्रसाद शर्मा तथा डा विमला शाक्य जस्ता विद्वान्हरूले विद्यावारिधि नै गरेका छन्।

नेपालको इतिहासमा महिलाको स्थान विषयक यस्ता शोधकार्यहरूले निरन्तरता पाउनै पर्छ। तर, यदाकदा राजनीतिमा महिलालाई अघि देखिने गरी उठाउन खोज्दा गिरेका घटना पनि छन्। हिजोका राम्रा घटना मार्गदर्शन पनि हुन सक्छन् र हुनुपर्दछ भन्ने लोकको मान्यता हो।

महिलाकै महत्त्वाकांक्षाका कारण जंगबहादुरको उदय भयो। रणोद्वीप सिंह मारिए। देवशमशेर लखेटिए र महिलाकै कारणबाट जानिया राणावंश पनि ढल्यो। राणाकालसम्म आइपुग्दा राजनीतिमा राजपरिवारका महिला त्यसमाथि राजमाता वा रानीबाहेक अरूको खासै चासो र वर्चस्व थिएन। सम्बत् २००७ सालको परिवर्तनबाट नेपालीहरू रैतीबाट जनतामा रूपान्तरित हुँदा महिलाहरू पनि सबै क्षेत्रमा अगाडि देखा परे।

सम्बत् २००७ सालपश्चात् शासक अर्थात् राष्ट्रप्रमुख वा सरकार प्रमुखका श्रीमतीहरूको नेपालको राजनीतिमा देखापरेको छविका विषयमा चर्चा गर्न यस आलेखमा खोजिएको हो। विसं २००७ सालपछि राजाको स्थान सर्वेसर्वा भयो। मुलुकको राजनीतिका मियो राजा नै भए।

राजा त्रिभुवन र महेन्द्रका रानीहरूको मुलुकको राजनीतिमा प्रत्यक्ष भूमिका देखिएन, आन्तरिक रूपमा केकसो थियो थिएन, बाहिर देखिएन। महेन्द्रकी रानी रत्नको बाल संगठन जस्ता केही सामाजिक संस्थामा भूमिका देखियो तर राजनीतिमा त्यति चर्चा भएन।

नेताहरूकै रवैयाले गर्दा बढ्दै गएको असन्तुष्टिलाई क्यास गर्ने जंगबहादुरको सिर्जना नहोस् भन्ने कुरामा हेक्का राख्नै पर्दछ। अन्य मुलुकमा सफल भएको दृष्टान्तलाई अनुकरण गर्न कतिसम्म ठिक छ वा छैन त्यसको लेखाजोखा गर्नै पर्छ।आफ्ना जोईहरूको महत्त्वाकांक्षा पूरा गर्न उद्योग गर्दा पोई खाडलमा परेका ऐतिहासिक तथ्य बुझ्नै पर्ने भएको छ।

राजा महेन्द्रले समसामयिक राजनीतिक विषयमा आफ्ना प्रधानमन्त्री लगायत उच्च अधिकारीहरूसँग गर्ने छलफलमा रानीहरूलाई सामेल नगराउने कुराको स्मरण तत्कालीन नेताहरूले गरेका छन्। राजा वीरेन्द्रको राज्यकालको पहिलो चरण (विसं २०२८ देखि २०४६) मा रानी ऐश्वर्या नै राजनीतिमा हावी भएकी थिइन्।

सामाजिक संघसंस्था त राजपरिवारका महिलाहरूकै एकलौटी भएका थिए। रानी ऐश्वर्यको आशीर्वादबाट धेरैले उच्च पद हासिल पनि गरे कतिको हुँदा खाँदाको रोजीरोटी समेत खोसियो पनि।

राजा वीरेन्द्रका रानीको विषयमा दरबारियाहरू सुन्दर राना, ऋषिकुमार पाण्डे तथा विवेक शाहले आफ्ना आत्मवृत्तान्तहरूमा प्रशस्त चर्चा गरेका छन्। ती चर्चामा कति सत्यता छ त्यो अर्कै पाटो भयो । विसं २०५९ को राजा वीरेन्द्रको वंशनाश हुनुमा पनि रानी ऐश्वर्य कारण बन्न गएको परिचर्चाहरू भए।

यो दरबार हत्याकाण्ड अझै रहस्यमय भएको र हुँदै गएको छ। अनुमानकै आधारमा विश्लेषण हुने गरेको छ, यसको सत्यता गर्भमै छ र रहनेछ। राजा ज्ञानेन्द्रको छोटो राज्यकालमा रानी कोमलको कतै कुनै प्रत्यक्ष भूमिका देखिएन। हालसम्म यस विषयमा कसैले औलो उठाएका पनि छैनन्। अब त नेपालको राजनीतिमा रानी खोजअनुसन्धानको मलिलो फाँट हुन पुगेको छ।

सम्बत् २००७ सालको परिवर्तनपश्चात् अन्य क्षेत्रमा अगाडि नै परे पनि राजनीतिक क्षेत्रमा उत्साह देखाउने कमै भए यसको कारण तत्कालीन सामाजिक आर्थिक परिवेश नै मुख्य थियो।

सम्बत् २००७ सालदेखि १७ सालसम्म महिलामन्त्री औलामा गन्न पुग्नेसम्म पनि भएनन् र प्रधानमन्त्रीका श्रीमतीहरूको पनि राजनीतिक रंगमञ्चमा बलियो उपस्थिति देखिएन। मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, केआई सिंह तथा बिपी कोइरालाका श्रीमतीहरू आफ्नै पृथक् राजनीतिक हैसियत बनाउन उद्यत् देखिएनन्।

बिपी कोइरालालाई बिपी बनाउन उनकै श्रीमती सुशीला कोइरालाको हात उल्लेख्य थियो। गणेशमानजीलाई गणेशमान, सर्वमान्य नेता, लौहपुरुषका रूपमा स्थापित गराउन उनकी श्रीमती मंगलादेवीको कम भूमिका थिएन।तर चुलिँदै गएको लोकप्रियतामा उनै मंगलादेवीका कारण यदाकदा छाया पर्न गएको तथ्य पनि सम्झनै पर्दछ।

पञ्चायत कालमा कथित सम्भ्रान्त परिवारका महिलाहरू राजनीतिमा देखिए भने कालन्तरमा शिक्षित र स्थानीय समाजमा बोलवाला भएका केही महिलाहरू पनि राजनीतिमा तानिए। पञ्चायतका हस्तीहरूले अरू नानाथरी गरे तापनि आफ्ना श्रीमतीहरूलाई राजनीतिमा उजागर गर्नेतर्फ कमै ध्यान दिए ।

नसकेर हो कि के हो? दैव जाने। पञ्चायती तन्त्रको उत्तरार्धमा ‘शेरे धनुषा’ उपनाम भएका हेमबहादुर मल्लले आफूसहित श्रीमतीलाई नै राष्ट्रिय पञ्चायतको चुनावमा विजयी गराई इतिहास नै रचे तर अन्य नेताका श्रीमतीको प्रभाव चाहिँ थियो नै तर बाहिर कमै प्रकाशमा आयो।

सम्बत् २०४६ को राजनीतिक परिवर्तनबाट नेपाली महिलाहरू उत्साहका साथ राजनीतिका क्षेत्रमा देखा परे। खुल्ला वातावरण शिक्षाको जागरण र विश्वमा उत्साहजनक एवं सम्मानजनक रूपमा महिला उपस्थितिको कारणले पनि नेपाली महिलामा ऊर्जा थपेको थियो।

सबै राजनीतिक पार्टीहरूमा महिलाहरूले यथायोग्य मानसम्मान एवं अवसर पाए। यस सन्दर्भ प्रशंसनीय त थियो तर यसै समयमा पार्टीका नेताहरूले पनि आफ्ना श्रीमतीहरूलाई सार्वजनिक हैसियत दिन भगीरथ प्रयत्न गरे। ती सबै नेताका श्रीमतीहरूको क्षमता, दक्षता, योग्यता र बलिदान नै नभएको चाहिँ होइन।

योगदान दिने त्यस्ता महिलाहरूको कदर हुनु स्वागतयोग्य कुरा हो, हुनु पनि पर्दछ। तर, क्षमता, योग्यता, सामथ्र्य र योगदान नभएका नेताकै श्रीमती भएको कारण वा पारिवारिक पृष्ठभूमिका कारण धेरै महिला राजनीतिमा देखा परे। यो विकसित सन्दर्भबाट योग्यता भएका क्षमतावान् सिमान्तीकृत वर्गका महिला पछाडि पर्दै गए।

विसं २०४७ पश्चात् देखा परेका प्रधानमन्त्रीहरूमा कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी जस्ता केही प्रधानमन्त्रीका श्रीमती एवं परिवारका महिलाहरू खासै चर्चामा आएनन्। हुन त सन्त नेताको पनि रसरङका प्रसंग उठेकै थियो तर झिनो र मसिनो स्वरमा।

विसं २०४६ देखि २०६२–६३ सम्म नेपालको सम्पूर्ण राजनीतिको केन्द्रबिन्दुमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला थिए। उनकै व्यक्तित्व र पृष्ठभूमिका कारण २०६२-६३ को आन्दोलन परिणाममुखी भयो भने नेपालबाटै राजतन्त्र पनि गयो। यस्तै उनको लोकप्रियताको बढ्दै गएको ग्राफलाई उनको पुत्रीमोहले अन्तिम समयमा ओझेलमा पार्न पार्न खोजेको भान पनि भयो।

सम्बत् २०६२-६३ पश्चात् भएका प्रधानमन्त्री प्रायः सबैबाट परिवारका महिलालाई राजनीतिमा ल्याउने दौड सुरु भयो। नेताका श्रीमतीलाई पनि राजनीतिमा ल्याउने अनेकौँ प्रपञ्च रचिए। आफ्नै हातमा डाडुपन्युँ भएकाहरूले आफ्ना बाहेक राम्रा हेर्न भ्याएनन्।

संविधानको आशय तथा मर्मविपरीत समानुपातिकमा पनि नेताकै परिवार त्यसमाथि श्रीमती सर्वाधिक प्राथमिकतामा पर्न थाले। हाल समानुपातिकबाट सांसद् हुन पुगेका महिलाहरूको गणना गर्दा यो तथ्य स्पष्ट हुन्छ।

हालसालै केही पार्टीका प्रमुख नेताहरू त आफूपछि आफ्नो स्थानमा श्रीमती वा परिवारकै सदस्यलाई स्थापित गर्न साम, दाम, दण्ड र भेदको नीति लिइरहेका छन्। यस्तो प्रवृत्तिले गर्दा जनमानसमा गणतन्त्रप्रति निराशा उत्पन्न हुन थालेको सङ्केत देखा परिसकेको छ।

नेताहरूकै रवैयाले गर्दा बढ्दै गएको असन्तुष्टिलाई क्यास गर्ने जंगबहादुरको सिर्जना नहोस् भन्ने कुरामा हेक्का राख्नै पर्दछ। अन्य मुलुकमा सफल भएको दृष्टान्तलाई अनुकरण गर्न कतिसम्म ठिक छ वा छैन त्यसको लेखाजोखा गर्नै पर्छ।

आफ्ना जोईहरूको महत्त्वाकांक्षा पूरा गर्न उद्योग गर्दा पोई खाडलमा परेका ऐतिहासिक तथ्य बुझ्नै पर्ने भएको छ। नेताहरूकै श्रीमतीमोहका कारण नेपालमा गणतन्त्रलाई कसैले धारे हात लगाउन नपरोस्। जो जससँग सम्बन्धित छ। अस्तु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *