शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा : राष्ट्रपति पौडेल

डिसी नेपाल
१७ पुष २०८० १३:००

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन्।

काठमाडौं महानगरपालिकाद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताए।

उनले भने, ‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन्।’

शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताए। उनले भने, ‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तरनिहीत प्रतिभाको विकास गर्न सक्छन्। खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ठ प्रयत्नहरु होउन् भनेर म सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु।’

राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताए। उनले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पारे।

खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने राष्ट्रपति पौडेलको धारणा थियो। उनले भने, ‘खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ। यो उनीहरूलाई ऊर्जा, सजीवता र सामर्थ्य दिने माध्यम तथा स्वास्थ्य ठिक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो।’

राष्ट्रपति पौडेलले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गर्दै खेलकुदमा भाग लिने विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुन सक्ने बताए।

उनले भने, ‘यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो भन्ने पनि मलाई लाग्छ। खेलकुदले युवामा नेतृत्वको विकास गराई जटिल परिस्थितिमा सहजतासाथ प्रतिस्पर्धा गर्ने क्षमता प्रदान गर्ने भएकाले यसमा सहभागी हुनेले धैर्य र समर्थनको भावना विकास गर्न सक्नुपर्छ जुन हाम्रो राष्ट्रको लागि आजको आवश्यकता हो।’

उनले राष्ट्रपति रनिङ सिल्ड नाममा काठमाडौं महानगरपालिकाभित्रका विद्यार्थीबीच भएको यस खेलकुद प्रतियोगिताले विद्यार्थीमा उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने आफुले विश्वास लिएको बताए।

उनले भने, ‘स्कुल कलेजजस्ता सार्वजनिक स्थानमा आयोजना हुने खेलकुद प्रतियोगिता विद्यार्थीबीचमा सामूहिकता, सहभागिता र उत्साह जगाउने र शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सफल बनाउने साध्य भएकाले शिक्षा र खेलकुदबीच अद्भुत सम्बन्ध हुन्छ जसले जीवनभर सफलताको खोजी गर्न बाटो देखाउँछ। यस्ता प्रतियोगिता शिक्षणसिकाइका अंगकै रूपमा सबै विद्यालयमा सञ्चालन हुनुपर्छ भन्ने म ठान्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *