भारत नजिकै आएका रुसी तेल ट्याङ्कर फर्किन थाले, चीनले मौकाको फाइदा उठायो

डिसी नेपाल
१८ पुष २०८० १४:५६

काठमाडौं । अमेरिकी प्रतिबन्धका कारण भारतलाई रुसबाट सस्तो तेल खरिद गर्न कठिनाइ भइरहेको छ । रुस–युक्रेन युद्धपछि भारतले रुसी तेलको खरिद बढाएको छ । तर रुसमाथिको प्रतिबन्धका कारण अमेरिकी डलरमा भुक्तानी गर्न कठिनाइ भइरहेको छ ।

समाचार एजेन्सी ब्लूमबर्गको रिपोर्टका अनुसार रुसबाट कच्चा तेल बोकेका सबै कार्गो जहाजहरू जुन पहिले भारत आउँदै थिए, अब मलाक्का खाडीतर्फ सरिरहेका छन्। डाटा इन्टेलिजेन्स प्रोवाइडर केप्लरका प्रमुख क्रुड विश्लेषक भिक्टर काटोना भन्छन्, ‘समुद्रमा घुमिरहेको रुसी ट्याङ्करलाई बचाउन चीन अगाडि आएको देखिन्छ ।’

जहाज ट्र्याकिङ डाटाका अनुसार, रुसी तेल बोकेका पाँचवटा जहाज मलाक्का स्ट्रेटतर्फ लागेका छन्। एनएस सेन्चुरी हाल श्रीलंकाको वरिपरि छ। रुसको तेलमा पश्चिमी प्रतिबन्धले खासै प्रभाव पार्न सकेको छैन, जसलाई हेरेर अमेरिकाले हालै प्रतिबन्ध थप कडा गरेको छ । जसका कारण भारतले रुसबाट खरिद गरेको तेलको पैसा तिर्न सक्ने अवस्था छैन । जसका कारण गत महिना रुसबाट आउने तेल ट्याङ्करको संख्या घटेको छ ।

रुस–युक्रेन युद्ध सुरु भएदेखि नै भारतले रुसबाट सहुलियत मूल्यमा ठूलो परिमाणमा तेल खरिद गर्दै आएको छ । तर भुक्तानी सम्बन्धी समस्याका कारण गत महिना रुसबाट तेल खरिदमा ठूलो गिरावट आएको छ । केप्लरका अनुसार, गत महिना रूसी तेल आयात जनवरी २०२३ पछि सबैभन्दा कम थियो।

यसको मुख्य कारण अमेरिका र यसका अन्य सहयोगी राष्ट्रहरूले गत महिना एनएस सेन्चुरीलगायत पाँच रुसी जहाजलाई प्रतिब्यारेल ६० डलरभन्दा माथिको तेल निर्यात गर्न प्रतिबन्ध लगाउनु हो । रुस–युक्रेन युद्धलाई ध्यानमा राख्दै अमेरिकाले रुसी तेलको मूल्य निर्धारण गरेको छ, जसअनुसार रुसी तेल प्रति ब्यारेल ६० डलरभन्दा बढीमा बेच्न पाइँदैन । एनएस सेन्चुरी जहाजले एक पटकमा ७ लाख ब्यारेल तेल बोक्न सक्छ ।

एक रिपोर्टका अनुसार नोभेम्बर २०२३ मा कच्चा तेलले भरिएको रुसी ट्याङ्कर १० दिनभन्दा बढी समयदेखि भारतीय तट नजिकै घुमिरहेको थियो । किनकी भारत उसलाई आफ्नो किनारमा बस्न दिने कुरामा अलमलमा परेको थियो । रुसी तेल ट्याङ्कर एनएस सेन्चुरी भारतको तटबाट १६०० माइल टाढा बसेको थियो । रिपोर्टका अनुसार यो ट्यांकर दक्षिण कोरिया हुँदै गुजरातको वाडिनार बन्दरगाह पुग्न लागेको थियो ।

रुस–युक्रेन युद्धमा भारत सुरुदेखि नै तटस्थ रहे पनि रुसबाट ठूलो परिमाणमा तेल किन्दै आएको छ । रुसले भारतलाई सहुलियत दरमा तेल दिने प्रस्ताव गरेको थियो, जसको भारतीय रिफाइनर्सले ठूलो फाइदा उठाएका थिए । यहाँ अमेरिकासँग राम्रो सम्बन्ध राख्न भारतलाई दबाब पनि छ । यही कारणले भारतले रुसी ट्याङ्करलाई आफ्नो बन्दरगाहमा अवतरण गर्न नदिएको मानिन्छ ।

यसैबीच रुसले भारतबाट आफ्नो तेलको भुक्तानी चिनियाँ मुद्रा युआनमा गर्नुपर्ने माग गर्दै आएको छ । तर चीनसँगको सम्बन्धलाई हेर्दा भारत युआनमा भुक्तानी गर्न असहज भएको छ। समाचार एजेन्सी रोयटर्सले रिपोर्ट गरेअनुसार अक्टोबर २०२३ सम्म भारतमा कम्तीमा सातवटा तेल ढुवानी आएका थिए जसको लागि भुक्तान गरिएको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *