बालकुमारी घटना : ६ दिनदेखि ललितपुर प्रहरी परिसर प्रमुखविहीन

प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच कसलाई पठाउने भन्नेमा विवाद

डिसी नेपाल
१९ पुष २०८० १०:०१

काठमाडौं। ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनापछि प्रहरी प्रधानकार्यालय तानिएका एसएसपी सिद्धिविक्रम शाहको स्थानमा अहिलेसम्म कसैलाई पठाइएको छैन।

प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच कसलाई पठाउने भन्ने बारेमा कुरा नमिल्दा ललितपुर प्रहरी परिसर निमित्तको भरमा चलेको छ। प्रहरी प्रधानकार्यालयले सिआइबीमा रहेका एसएसपी दिनेश आचार्य र ट्राफिक महाशखामा रहेका एसएसपी राजेन्द्र भट्ट मध्ये एक जनालाई पठाउन खोजेको तर गृहमन्त्रालयले उनीहरुको नाममा आनाकानी गरेपछि रोकिएको छ।

‘सवेदनशील जिल्लाको प्रहरी प्रमुख तानिएको एक साता वित्न लाग्यो अहिलेसम्म कसैलाई पनि जिम्मेवारी दिइएको छैन, त्यहाँ गृह मन्त्रालय र प्रहरी प्रधानकार्यालयबीच आपसमा कसलाई पठाउने भन्ने बारेमा सहमति नहुँदा रोकिएको हो’, मन्त्रालयका एक अधिकारीले भने।

अहिले निमित्त प्रमुखमा एसपी नवराज कार्की रहेका छन्। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गृहमन्त्रीस्तरीय निर्णयबाट हुने प्रावधान छ। गृहमन्त्रीमा नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भएकाले उनले आफू निकटका प्रहरी अधिकारीलाई पठाउन खोजेको स्रोतले जनाएको छ। त्यहाँ जान अन्य एसएसपीहरुले दौडधुप गरिरहेका छन्।

एसएसपी भट्ट अहिले ट्राफिक महाशाखामा प्रवक्ताको रुपमा रहेका छन्। उनको त्यहाँ १४ महिना भैसकेको छ। आचार्य पनि सिआइबीमा कार्यरत छन्। आचार्यले ६० किलो सुन तस्करीमा हङकङ पुगेर अनुसन्धान गरेका थिए।

विवादित एसएसपी ओम रानाले पनि त्यहाँ जान दौडधुप गरेका कारण रोकिएको स्रोतको दावी छ। उनीहरुको अलवा एसएसपी हिमालय कुमार श्रेष्ठ, शेखर खनाल, विश्व अधिकारी, दिपक रेग्मी, सानुराम भट्टराई, प्रविण पोखरेल, मुकुन्द मरासिनी, रेवती ढकालले चाहाना राखेको स्रोतको दावी छ।

ललितपुरको बालकुमारीमा गत शुक्रबार प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने दुई जना युवकले ज्यान गुमाएपछि त्यहाँका प्रमुख एसएसपी शाहलाई प्रधानकार्यालय तानिएको थियो।

उनी एक वर्षअघि ललितपुर परिसरको कमाण्ड गर्न पुगेका थिए। उनको सरुवा अवधि पुगेकाले पनि विवादमा आएपछि प्रधानकार्यालयले तानेको हो। ललितपुरमा सुरक्षाकर्मीले हानेको गोली लागी अछामका वीरेन्द्र शाह को पेटमा लागेको थियो।

शाहलाई प्रहरीले प्रहार गरेको सेल्फ लोडिङ्ग राइफल (एसएलआर) को गोली लागेको पुष्टि भएको छ। दैलेख घर भएका सुजन रावतको छातीमा नीलडाम भेटिएको थियो।सुजनलाई गोली नलागेको तर, भागदौडमा मृत्यु भएको हुनसक्ने सुरक्षा अधिकारीहरू बताएका छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरू त्यस दिन बिहान ७ बजे नै ग्वार्को स्थित ईपीएस कोरिया शाखामा जम्मा भएका थिए।

पानीजहाज निर्माण गर्ने कम्पनीका लागि दिएको परीक्षामा असफल भएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि फारम भर्न पाउनुपर्ने माग गरेका थिए। त्यसक्रममा झडप हुँदा त्यहाँको परिस्थिति सुुरक्षाकर्मीहरुको नियन्त्रणभन्दा बाहिर गएको थियो। झडपको क्रममा दर्जनौ प्रर्दशनकारी र प्रहरी घाइते भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *