कासिम सुलेमानीको समाधिनजिक विस्फोटमा १०३ जनाको मृत्यु भएपछि इरानमा राष्ट्रिय शोक

डिसी नेपाल
१९ पुष २०८० १३:४२

काठमाडौं । इरानको रिभोलुसनरी गार्डका जनरल कासिम सुलेमानीको हत्याको चौथो वार्षिकीको अवसरमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १०३ पुगेको छ । यसैबीच १४१ जना घाइते भएका छन् ।

इरानले केरमान प्रान्तमा भएका यी विष्फोटहरूलाई ‘आतंकवादी हमला’ भनेको छ। यी विस्फोटहरू केरमानमा कासिम सुलेमानीको मृत्युको चौथो वार्षिकीमा भएको थियो।

कासिम सुलेमानी जनवरी ३, २०२० मा बगदादमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए। ७ जनवरी, २०२० मा ५६ जनाको मृत्यु भयो र उनको अन्त्येष्टि समारोहमा भीडको कारणले अन्त्येष्टि स्थगित गरियो।

इरानका सबैभन्दा शक्तिशाली नेता सर्वोच्च धार्मिक नेता अयातोल्लाह अली खामेनी पछि यदि कसैलाई इरानमा दोस्रो सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ भने, त्यो जनरल कासिम सुलेमानी थिए।

इरानको समाचार एजेन्सी इरनाले केरमान विष्फोटपछि बिहीबार देशमा राष्ट्रिय शोक मनाइने जानकारी दिएको छ । साथै केरमान प्रान्तमा तीन दिने शोक मनाइनेछ।

इरानी समाचार अनुसार इरानी संसदको राष्ट्रिय सुरक्षा आयोग र विदेश नीति समितिले यस हमलाको सबै पक्षको छानबिन गर्न केरमान प्रान्तमा एउटा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

एक प्रहरी प्रवक्ताले भनेअनुसार विस्फोट पछि मानिसहरूलाई मद्दत गर्न खोजिरहेका तीन प्रहरीको पनि मृत्यु भएको थियो। यसैबीच, केही अन्य सञ्चारमाध्यमलाई उद्धृत गर्दै इरनाले आक्रमणमा चार प्रहरीको ज्यान गएको लेखेको छ।

केरमान मेडिकल इमर्जेन्सी सेन्टरका प्रमुख शाहब सालेहीले विस्फोटहरू “दुईवटा बम विष्फोट”का कारण भएको बताए। केरमानका मेयर सईद शेरबाफले दुवै विस्फोट ‘१० मिनेटको फरकमा’ भएको बताए। इरानी समाचार एजेन्सी तस्निमका अनुसार बमहरू दुईवटा झोलामा राखेर टाढाबाटै विस्फोट गराइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *