‘द बुल’का लागि सलमान खानले दैनिक साढे ३ घन्टाको कडा प्रशिक्षण गर्दै
काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्ना फ्यानहरूलाई लामो प्रतीक्षा नगराइ आफ्नो आगामी फिल्म ‘द बुल’ घोषणा गरेका छन् । सलमानको जन्मदिनमा निर्माता करण जोहरले २५ वर्षपछि फेरि सलमानसँग काम गर्न लागेको बताएका थिए । धर्मा प्रोडक्सनको ब्यानरमा बन्न लागेको ‘द बुल’मा सलमान खान एकदमै फरक रुपमा देखिने भएका छन् ।
चलचित्रको टिमले मुम्बईमा २९ डिसेम्बरमा मुहुर्त छायांकन सुरु गरेको हो । यसका लागि सलमान खानले आफ्नो फिटनेस ट्रेनिङ पनि सुरु गरिसकेका छन् । अहिले सलमान अर्धसैनिक बलसँग तालिम लिइरहेका छन् । फिल्ममा उनी अर्धसैनिक अफिसरको भूमिकामा देखिदैछन् । यस्तो अवस्थामा अभिनेताले यो भूमिकाका लागि आफ्नो तयारी र तालिमलाई सही राख्न कुनै कसर बाँकी नराखेको फिल्मसँग सम्बन्धित स्रोतले बताएको छ ।
फिल्मसँग सम्बन्धित एक स्रोतले भन्यो, ‘सलमान खानले सन् १९८८ मा माल्दिभ्समा अपरेशन क्याक्टसको नेतृत्व गर्ने ब्रिगेडियर फारुक बुलसाराको भूमिका निर्वाह गर्नेछन् । आगामी फेब्रुअरीमा सुटिङ सुरु हुने धर्मा परियोजनामा उनी अर्धसैनिक अधिकारी हुनेछन् ।’
फिल्ममा ब्रिगेडियर बुल्साराको भूमिका निर्वाह गर्नका लागि सुपरस्टारले कडा शारीरिक तालिम लिनुपर्नेछ । पूर्ण रूपमा क्यारेक्टरमा आउन सलमानले दैनिक साढे ३ घण्टा ट्रेनिङ लिइरहेका छन् । यो भूमिका निभाउनका लागि सलमानले आफ्नो डाइटमा सामान्य परिवर्तन गरेको पनि स्रोतले बताएको छ ।
विष्णु वर्धन निर्देशित फिल्म ‘द बुल’ले अपरेशन क्याक्टसको कथा प्रस्तुत गर्नेछ । यस अपरेसनमा भारतीय सशस्त्र सेनाले ३ नोभेम्बर १९८८ मा माल्दिभ्सलाई मद्दत गरेको थियो । त्यतिबेला व्यापारी अब्दुल्ला लुथुफी र पीपुल्स लिबरेसन अर्गनाइजेसन अफ तमिल इलम (प्लोट) को नेतृत्वमा कूको प्रयास गरिएको थियो। भारतीय सेनाले कुशलतापूर्वक धेरै सैनिकहरूलाई मारेर केही घण्टाभित्रै राष्ट्रपति मौमुन अब्दुल गयूमको सरकारमाथि नियन्त्रण फिर्ता लिएको थियो। ‘द बुल’ सन् २०२५ मा रिलिज हुन सक्छ ।
Facebook Comment