पर्यटन बोर्डको कार्यशैलीप्रति सांसदको चासो
काठमाडौं । सांसदहरुले नेपाल पर्यटन बोर्डको कार्यशैलीमाथि चासो जनाउँदै बोर्डले उद्देश्य विपरितका कार्यक्रममा महत्त्व दिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनीहरुले बोर्डको काम कारबाहीबारे जानकारी लिँदै अन्तर्राष्ट्रिय बजारीकरणमा रणनीतिक कार्यक्रमका साथ जानुपर्नेमा ठीक विपरित दिशामा अघि बढेको उल्लेख गरे ।
सार्वजनिक निजी साझेदारीको नमूनाका रुपमा रहेको बोर्डको संरचना र कार्यशैलीमाथि प्रश्न उठाउँदै सांसदहरुले गठन हुनुको उद्देश्य विपरितका कार्यक्रम गरिरहेको भन्दै बोर्डले मुख्य कामभन्दा अन्यत्र विषयलाई प्राथमिकता दिएको बताए ।
बजेटको ६० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरणमा खर्च गर्नुपर्नेमा विगत ४० वर्षदेखि हँुदै आएको ‘वल्र्ड टुरिज्म मार्ट’ (डब्लुटिएम) मा सहभागी हुन नसक्नुका कारणबारे सांसदहरुले जावाफ माग गरे ।
विश्वकै ठूलो टुरिज्म मार्टको रुपमा रहेको संयुक्त अधिराज्य बेलायतमा हुने ठूलो पर्यटन मेला डब्लुटिएमलगायत चालु आवमा कुनै पनि अन्तर्राष्ट्रिय मार्टमा बोर्डले सहभागिता नजनाउनुका कारणबारे सांसदहरुले जिज्ञासा राखेका थिए ।
नीतिगत रुपमा व्यवस्था नभए पनि बोर्डको जम्मा बजेटको ६० देखि ७० प्रतिशत अन्तर्राष्ट्रिय बजारीकरण गर्न खर्च गर्नुपर्ने प्रावधान रहेको बोर्डले उल्लेख गरेको छ । झण्डै रु दुई अर्ब बजेटमध्ये बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धन, आन्तरिक गन्तव्य प्रवर्द्धन, पूर्वाधार विकास, धार्मिक पर्यटनलगायतमा खर्च गर्ने गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं समितिका सदस्य माधवकुमार नेपालले पर्यटक आकर्षण गर्न अन्तर्राष्ट्रिय बजारीकरणलाई नीतिगत सुधार गरिनुपर्ने बताए । उनले नारायण सङ्ग्रहालयलाई ‘ग्राण्ड म्युजियम’ बनाउनुुपर्ने धारणा व्यक्त गरे ।
सांसद वर्षमान पुनले बोर्ड उद्देश्य विपरित गएको सञ्चार माध्यममा आएको बताए । उनले भूगोल सम्मेलनलगायत अन्य विषयमा खर्च गर्ने गरेको भन्दै बोर्डले आफ्नो मुख्य दायित्वतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।
सांसद पुनले नेपाल अथाह पर्यटकीय सम्भावना रहेको मुलुक भएको उल्लेख गर्दै छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने कार्ययोजनासहित अघि बढ्न बोर्डलाई सुझाव दिए ।
सांसद भीमप्रसाद आचार्यले बोर्डलाई समयसापेक्ष नीतिगत सुधार गरी ‘डिजिटल मार्केटिङ’ मा केन्द्रित हुन आग्रह गरे । उनले स्पष्ट पर्यटन रणनीति नभएको जनाउँदै मन्त्री र सचिव फेरिने वित्तिकै योजना तथा कार्यक्रम परिमार्जन हुने प्रबृत्तिले दिगो पर्यटन विकासमा ह्रास आएको उल्लेख गरे ।
सांसद उदयशम्शेर जबराले बोर्डको उद्देश्य अनुरुप ६० प्रतिशत बजेट अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा खर्च गर्नुपर्ने भए पनि पर्यटन क्षेत्रभन्दा बाहिरका विभिन्न कार्यक्रममा किन करौडौँ रकम खर्च गरिरहेको भनी प्रश्न गरे । उनले एक भूगोल सम्मेलनमा रु पाँच करोड खर्च भएको भनिएको विषयमा समितिलाई स्पष्ट जवाफ दिन माग गरे । डब्लुटिएम जस्ता कार्यक्रममा सहभागिता नजनाउनु बोर्डको असक्षमता भएको उनको भनाइ थियो ।
सांसद एकनाथ ढकालले बोर्डको प्रवर्द्धन गर्दा प्रविधिमैत्री हुनुपर्ने धारणा राखे । भूगोल सम्मेलनलगायत अनावश्यक विषयमा बोर्ड जिम्मेवारी बाहिरका गतिविधिमा संलग्न भएको भन्दै उनले गुणस्तरीय पर्यटक भित्र्याउन रणनीतिक कार्यक्रमका साथ अघि बढ्नुपर्ने सुझाव दिए ।
सांसद प्रभु साहले बोर्डको बजारीकरण प्रभावकारी नभएको तथा संरचना र कार्यशैलीमाथि नै प्रश्न उठेको भन्दै बोर्डको कार्यशैली परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । सांसद सुनिता बरालले सङ्घीय संरचना अनुरुप बार्डले प्रविधिमैत्री प्रभावकारी बजारीकरण गर्न जरुरी रहेकामा जोड दिए ।
समितिका सभापति राजकिशोर यादवले बोर्डका बारेमा स्थलगत अवलोकन र छलफलपछि आवश्यक निर्णय लिइने जानकारी दिए । उनले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा ओगटेकाले विद्यमान कार्यशैली र बजारीकरण प्रभावकारी बनाउन समितिले सक्रियतापूर्वक छलफल गरी निर्णय लिने बताए ।
बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डको गतिविधिबारे समितिमा प्रस्तुति गरेका थिए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दिपक काफ्ले, बोर्डका प्रमुखलगायत उपस्थित थिए ।
Facebook Comment