अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते

डिसी नेपाल
२० पुष २०८० ७:०५

अमेरिका। अमेरिकाको आयोवास्थित एक विद्यालयमा एक किशोरले गोली चलाउँदा कक्षा ६ मा पढ्ने एकजना विद्यार्थीको मृत्यु भएको छ। १७ वर्षीय ती किशोरले चलाएको गोलीबाट थप पाँच जना घाइते भएका छन्।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको आयोवाको अपराध अनुसन्धान उप निर्देशक मिच मोर्टभेडले बताएका छन्। स्थानीय पेरी हाइस्कुलमा भएको गोलीकाण्डमा घाइते भएका पाँच मध्ये चार विद्यार्थी र एकजना विद्यालय कर्मचारी रहेको पुष्टि भएको छ।

आफैंलाई गोली हानी घाइते भएका १७ वर्षीय किशोर डायलन बट्लरको पनि मृत्यु भएको अधिकारीहरुले बताएका छन्। दुईवटा बन्दुकसहित आएका ती किशोरले गोली चलाएको दृश्यहरु विभिन्न सामाजिक सञ्जालमा पोस्ट पनि गरेको खुलेको छ।

अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको मृत्यु हुने घटना सामान्यजस्तो बन्दै गएको छ। पछिल्लो घटना नयाँ वर्ष २०२४ सुरु भएयताको चौथो सामूहिक गोली काण्ड भएको सीएनएनले जनाएको छ।

पटक-पटक हुने यस्ता गोलीकाण्ड कम गर्न उपयुक्त सुरक्षा व्यवस्था अपनाउनुपर्ने माग उठ्दै आएपनि ठोस नीतिगत व्यवस्था हुन नसकेको अमेरिकी अभिभावकहरुको गुनासो छ।

अमेरिकामा बन्दुक सजिलै उपलब्ध हुने कारणले पनि यस्तो अवस्था आएको हो। अमेरिकाका अधिकांश राज्यमा बन्दुक घरमा राख्‍न पाइने कानुन छ। जसका कारण यस्ता घटना हुने गरेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *