साउदीमा संगठित ठगी गर्ने गिरोहको बिगबिगी
काठमाडौं। साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ ।
आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले नेपाली श्रमिकसमेत मारमा परेका छन् । यी कार्य दैनिकजसो बढ्दै गएपछि रियादस्थित नेपाली दूतावासले आफ्नो मुलुकका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।
आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने व्यक्तिले ‘तपाईंको बासस्थानमा जनगणनाको सिलसिलामा गएकोमा भेट हुन नसकेको कारणले बासस्थानको बाहिर अरेबिकमा सूचना राखिएको छ, तपाईंले त्यसको जवाफ नपठाएकाले साउदीको कानुनअनुसार फोनबाटै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुहोला’ भन्दै कुरा सुरु गर्ने गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले एक सूचना जारी गर्दै त्यस्ता व्यक्तिले अकामा नम्बर माग्ने, एसएसएसबाट साउदीको आन्तरिक मन्त्रालयबाट आएजस्तो बनाई फोनमा ओटीपी पठाउने, सो ओटीपी माग्ने, सबै विवरण भर्नुपर्ने भनी आब्सर तथा बैंक खाता नम्बर वा बैंक कार्ड नम्बर पनि मागेर ठगी गर्ने गरेको भन्दै सचेत रहन त्यहाँ कार्यरत नेपालीलाई अनुरोध गरेको छ ।
त्यस्तै, ओटीपीसमेत मागी विवरण अद्यावधिक गर्ने नाममा बैंकमा भएको रकम लैजाने र आब्सर हात पारी अनेकखालका अवैध कारोबार गर्ने र सम्बन्धित व्यक्तिलाई फसाइदिने खालका संगठित अपराध र ठगीका घटना बढेको दूतावासले जनाएको छ ।
यस सम्बन्धमा साउदीको आन्तरिक मन्त्रालयले समेत कारबाही गरिरहेको जनाउँदै दूतावासले बेलाबेलामा एसएसएसमार्फत् सूचना जारी गरी सचेत गराइरहेको जनाएको छ । दूतावासले कुनै अनधिकृत व्यक्तिले फोनबाट वा अरू कुनै माध्यमबाट अकामा, आब्सर वा बैंक खाता–कार्ड नम्बर ओटीपी मागेमा कुनै पनि हालतमा नदिई ठगीबाट बच्न अनुरोध गरेको छ । यस्ता घटना भएमा साउदी प्रहरीकामा गएर उजुरी गर्न पनि दूतावासले अनुरोध गरेको छ ।
यूएईमा कम्पनीका म्यानेजरले दुव्र्यवहार गरेको भन्दै रुँदै लाइभ आएकी चेलीको उद्धार
रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेर बन्धक बनेकी एक नेपाली चेलीको उद्धार गरिएको छ । केही दिनअघि लाइभमा रुँदै आफूलाई कम्पनीको म्यानेजरले दुव्र्यवहार गरेको भन्दै आफ्नो पीडा सुनाएकी महिलालाई गैरआवासीय नेपाली संघ (एनआरएन) यूएईले उद्धार गरी नेपाल पठाएको हो ।
नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीले ती नेपाली महिलालाई फोन सम्पर्क गर्दा उनले असुरिक्षत छु भनेपछि तत्काल उद्धार गरिएको बताए ।
एनआरएनएको समन्वयमा विष्णु अधिकारीको सहयोगमा निजलाई आपतकालीन उद्धार गरी सुरक्षित ठाउँमा आवासको व्यवस्था गरी त्यसको भोलिपल्ट नै निज चेलीलाई भेटी उनको इच्छा बुझ्दा नेपाल जान चाहेको र त्यसपश्चात् उनी कार्यरत कम्पनीमा सम्पर्क गर्दा सम्पूर्ण खर्च स्वयं कम्पनीले नै बेहोर्ने र उनलाई नेपाल पठाउने बताएको थियो ।
सोहीनुसार बुधबार बिहान एयर अरबियाको फ्लाइटमार्फत नेपाल पठाइएको अध्यक्ष शाहीले बताए ।
ओमानमा नेपाली महिलाको ‘ब्रेस्ट क्यान्सर’को निःशुल्क जाँच हुने
ओमानमा कार्यरत नेपाली महिलाहरूको ‘ब्रेस्ट क्यान्सर’को लक्षण भए नभएको निःशुल्क जाँच गरिने भएको छ । बुधबार ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमान क्यान्सर एसोसिएसनका अध्यक्ष डा. वाहिद अली सैद अल खरुसीबीच भएको भेटमा ४० वर्ष नाघेका ओमानमा कार्यरत नेपाली महिलाहरूलाई क्यान्सर एसोसिएसनले निःशुल्क मेमेग्राम (ब्रेस्ट क्यान्सरको लक्षण भए नभएको जाँच गर्ने एक प्रकारको एक्स–रे) गरिदिने ’bout छलफल भएको हो ।
भेटको अवसरमा अध्यक्ष डा. अल खरुसीले क्यान्सर र यसको रोकथाम सम्बन्धमा सचेतना फैलाउने उद्देश्यले यही १२ जनवरीमा मस्कटस्थित कुरुम पार्कमा दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म १९औं वार्षिक वाकाथन कार्यक्रम गर्न लागेको र त्यसमा राजदूतावास र नेपाली समुदायको सहभागिताका लागि अनुरोध गरेका थिए ।
साथै, सो अवसरमा उनले ४० वर्ष नाघेका महिलाहरूलाई क्यान्सर एसोसिएसनले निःशुल्क मेमेग्राम गरिदिने बताए । यस्तो जाँचका लागि रेसिडेन्स कार्डसमेत आवश्यक नपर्ने र बुक नगरी सिधै जान सकिने उनको भनाइ रहेको थियो ।
साथै, आगामी शुक्रबार २ फ्रेब्रुअरीमा ४० वर्ष नाघेका नेपाली महिलालाई क्यान्सर एसोसिएसनले निःशुल्क मेमेग्राम राजदूतावास वा राजदूतावासले तोकेको ठाउँमा सुविधा सम्पन्न गाडीसहित आएर गरिदिने सहमति भएको छ ।
समयमै जाँच गराउँदा राम्रो उपचार भई कयौंको ज्यान जोगिने हुँदा ओमानमा बसोबास गर्ने सम्पूर्ण ४० वर्ष पुगेका महिला दिदीबहिनीहरूलाई निःशुल्क रूपमा जाँच गराइ फाइदा लिनुहुन अनुरोध गरिएको छ । १२ जनवरीमा मस्कटस्थित कुरुम पार्कमा दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म हुने वाकाथनमा भाग लिनसमेत नेपाली संघसंस्था तथा व्यक्तिहरूलाई अनुरोध गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
Facebook Comment