राष्ट्रपतिको चिन्ता : विकास र सुविधाको उपभोग गर्ने मान्छे पो नहुने हुन् कि !
दमौली। राष्ट्रपति रामचन्द्र पौडेलले गाँउ गाँउमा विकास र सुविधा पुगेपनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन्।
तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका आफूहरू आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भाैंतारिने अवस्था रहेको गुनासो पनि गरे।
उनले भने, ‘अबका दुईचार वर्षमा यी सबै गाँउहरूमा कालोपत्रे सडक पुर्याउन हामी लागेका छौं। म भन्छु, त्यो पनि पूरा गरिन्छ। तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाँउमा कोही नरहने हुन कि ! विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भाैंतारिने हाम्रो हालत छ। आखिर किन भयो यस्तो? यो प्रश्न म आफैसँग गरिरहेको छु। उत्तर पनि म सँगै छ। गाऊँमा सवैथोक पुग्यो तर “सम्मानजनक रोजगारी र आम्दानी” को अवस्था बनेन।’
राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रम शक्तिको पलायन भएको उल्लेख गर्दै भने, ‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ। यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो शहर पस्नुभो। उतै बस्नु भयो। गाऊँको समस्या यही हो। अब आज देशको समस्या प्रतिभा पलायन, श्रम शक्तिको पलायन- मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ।’
राष्ट्रपति पौडेलले आफूले पहिलोचोटी चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाडोमा उभिएर “गाऊँबाट अस्थिर भएको मनलाई गाऊँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाऊँमा नै बसौं बसौं बनाउँंछु’’ भनेको स्मरण गर्दै आफूले ग्रामीण स्वावलम्बन अन्तर्गत मोटर गाडी र स्वास्थ्य चौकी अनि सातौं विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको र अहिले सबै गाऊँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताए। उनले गाँउ गाँउमा सवै विकास र सुविधा पुगेपनि गाऊँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गरे।
राष्ट्रपतिमा निर्वाचित भएपछि दोश्रो पटक गृहजिल्ला पुगेका राष्ट्रपति पौडेलले आफूले बैदी-छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार-कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही एजेण्डामा आज पनि उभिएको स्ष्पट पारे।
उनले हामीले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको र अवको शिक्षा पनि यीनै विषयमा केन्द्रित हुनुपर्ने धारण राखे। राष्ट्रपति पौडेलले भने, ‘हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, वायो डाइभर्सिटी छ। त्यसलाई हामीले चिन्न सकेनौं। हामी फोस्रा नारामा बढी बहकियौं। कुन उचाई र कुन पाटोमा के उब्जनी हुन्छ? त्यो ठम्याएर खेती गरौं। जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गरौं।’
उनले हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारहरूको विकास गरे गाऊँमै रोजगारी र आम्दानी आउने बताए। पौडलले भने, ‘हिमालबाट उर्लेर बग्ने हाम्रा नदीनालाबाट हजारौ मेघावाट उर्जा उत्पादन गरी छिमेकमा समेत बिक्री गरौं, हामी यहीबाट धनी हुन्छौं। आफ्नो परिवार तडपाएर विदेशतिर भौतारिन पर्दैन। आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन। आफैले आफैंलाई चिनौं-गाऊँमुखी बनौं-नेपालमुखी बनौं, हाम्रो स्कूलमा पढाउने यही नै हो असली राष्ट्रवाद।’
राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङगिण विकासको आधारशीला भएको बताउदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे।
उनले भने, ‘शिपबिना तथा आचरणबिनाको नागरिकबाट देश सम्बृद्ध हुन सक्दैन। त्यहिभएर सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर वृद्धि गरी सीपवान र शीलवान नागरिक बनाउनेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्ने मलाई लाग्छ।’
सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्व परिवेशको मागअनुरुपको शीक्षा नीति, पाठय्क्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तर अनुरुपको शिक्षा प्रदान गर्नेतर्फ अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो।
Facebook Comment