बंगलादेशमा आम निर्वाचनभन्दा ठीक अघि रेलमा आगलागी हुँदा चार जनाको मृत्यु

डिसी नेपाल
२१ पुष २०८० १०:२८

काठमाडौं । शुक्रबार राति करिब ९ः३० बजे बेनापोलबाट ढाका जाँदै गरेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको बंगलादेशको दमकल सेवाले जनाएको छ ।

र्‍यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनले राति १०:३० बजे घटनास्थलमा पत्रकारहरूलाई भनेअनुसार अहिलेसम्म रेलभित्रबाट चारजना शव निकालिएको छ।

ढाकाको कमलापुर रेलवे स्टेसन पुग्नुअघि राति करिब ९ः३० बजे गोपीबाग खाचा बजार क्षेत्रमा उक्त घटना भएको अग्नि नियन्त्रण कक्षले जनाएको छ ।

रेलका केही डिब्बामा आगलागी देखिएको र रेल त्यहाँ रोकिएपछि स्थानीयले आगो निभाउने प्रयास गर्न थालेको बताइएको छ । केही समयमै दमकलका धेरै टोली त्यहाँ पुगे ।

यो घटना देशमा आम निर्वाचनको मतदान सुरु हुनुभन्दा करिब ३५ घण्टा अगाडि भएको हो ।

ढाका महानगरीय प्रहरी अतिरिक्त आयुक्त महेदुद्दीनले आगलागीबाट रेलका तीनवटा डिब्बामा क्षति पुगेको बताए ।

आगलागीको कारणबारे र्‍यापिड एक्सन बटालियनका मिडिया निर्देशक अल मोइनले शुक्रबार राति घटनास्थलमा पत्रकारहरूसँग कुरा गरे।

उनले भने, “यो तोडफोड हो भन्ने प्रष्ट छ। यस घटनाको उद्देश्य मानिसलाई तर्साउने र उनीहरूको सामान्य जीवन बिगार्नु हो। जसले यस्तो गरेको छ, उसलाई कानुनको दायरामा ल्याइनेछ।”

उनले यस घटनाको रेलवे अधिकारी र गुप्तचर निकायले अनुसन्धान गरिरहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *