श्रीलंकामा धर्मगुरुसहित सात जनाको मृत्यु, पुनर्जन्मको चाहनाले आत्महत्या गरेको आशंका
काठमाडौं । श्रीलंकामा धार्मिक नेतासहित सात जनाको मृत्यु भएको समाचार छ । मृत्यु हुनेमा तीन बालबालिका रहेका छन् ।
छिट्टै पुनर्जन्म हुने दाबीबाट प्रेरित भएर यी व्यक्तिले आत्महत्या गरेको दाबी गरिएको छ । मृत्यु भएका तीन बालबालिकाकी आमाले खानामा विष मिसाएको आरोप छ ।
यस विषयमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार ४७ वर्षीय बौद्ध धर्मगुरु रुवान प्रसन्न गुणरत्नेले आफ्नो प्रवचनमा आत्महत्या गरेपछि मानिसले छिट्टै पुनर्जन्म लिन सक्ने बताएका थिए ।
गुणरत्नेमाथि श्रीलंकाका विभिन्न भागमा बुद्ध धर्मको गलत व्याख्या र प्रचार गरेको आरोप लागेको छ ।
गुणरत्ने सुरुमा केमिकल ल्याबमा काम गरे पनि पछि यो काम छोडेर जनतालाई प्रचार गर्न थालेको बताइएको छ ।
धर्मगुरु गुणरत्नेले डिसेम्बर २८ गते आफ्नै घरमा विष खाएर आत्महत्या गरेका थिए ।
धर्मगुरुकी श्रीमतीले आफ्ना तीन छोराछोरीको खानामा विष हालेको र पछि उनले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमान्को मृत्युको पीडा सहन नसकेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भमा आशंका भएपनि पछि घटनाका बारेमा धेरै कुरा बाहिर आएपछि प्रहरीले धेरै कोणबाट पूरै घटनाको अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले परिवारको अन्त्येष्टिमा गएका ३४ वर्षीय पिर्थी कुमारलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
केही वर्षअघि पनि यही धर्मगुरुको धार्मिक कार्यक्रममा सहभागी भएको पिर्थीले बताए । त्यसयता उनी धार्मिक गुरु र आफ्नो परिवारको अनुष्ठानमा सहभागी हुँदै आएका छन् ।
धर्मगुरुको प्रवचनमा आत्महत्या जस्ता विषय समावेश भएको पिर्थीले बताए । उनीहरुबाट प्रहरीले धर्मगुरुले छिट्टै पुनर्जन्म लिने मनसायले आत्महत्या गरेको थाहा पाएको थियो ।
सोधपुछको केही समयपछि जनवरी २ मा पिर्थी कुमारको शव होटलबाट बरामद भएको थियो । उनले पनि लागुऔषध सेवन गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आत्महत्या गर्न प्रयोग हुने औषधि प्रहरीले होटलबाट बरामद गरेको छ ।
त्यस्तै, धर्मगुरु र उनको परिवारको अन्त्येष्टिमा गएकी अर्की एक महिलाले पनि विष सेवन गरी आत्महत्या गरेको आरोप लागेको छ ।
आत्महत्या गरेकी महिला धर्मगुरुको प्रवचन कार्यक्रममा समेत सहभागी भएको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्नेले पनि एउटै किसिमको विष प्रयोग गरेका थिए कि भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले अब धार्मिक नेता र उनको परिवारको अन्त्येष्टिमा सहभागी अन्य व्यक्तिहरूलाई पनि सोधपुछ गरिरहेको छ।
प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक निहाल तलुडाले सञ्चारकर्मीसँग कुरा गर्दै सबैले साइनाइडजस्ता विष खाएर आत्महत्या गरेको बताए ।
उनले भने, ‘चारवटै घटनामा मृत्यु हुने तरिका लगभग उस्तै देखिन्छ । हामीले एउटा झोला फेला पारेका छौँ जसमा विष भएको आशंका गरिएको छ । हामीले सानो बाल्टिनमा विष पनि फेला पार्यौं। हामीलाई लाग्छ कि यो साइनाइड हो। प्रयोगशालाको रिपोर्ट आएपछि थप जानकारी दिन सक्नेछौँ ।”
धर्मगुरुले विष खाएर आत्महत्या गर्ने र मृत्युपछि पहिलेभन्दा राम्रो जन्म पाउने सल्लाह दिएको अनुसन्धानबाट खुलेको छ ।
उनीहरुलाई विश्वास गर्नेहरु धेरै रहेको प्रहरीले जनाएको छ । धर्मगुरुले आफूलाई पछ्याउने मानिसहरूलाई आफ्ना आफन्तहरूलाई पनि यो उपदेश सुनाउन आग्रह गरेका थिए।
Facebook Comment