अरनिको : नेपालका पहिला सांस्कृतिक दूत
नेपालसित पहिलो सम्पर्क कायम भएको घनिष्ठ राष्ट्र तथा नेपालले सन्धि गरेको मुलुक भोट (तिब्बत) नै हो। भोटकै कारणबाट नेपाल-चीन सम्बन्ध कायम हुन गएको हो। नेपाल-चीन बीचको सम्बन्ध भोटलाई पृथक् राखेर अध्ययन गर्दा अपुरो हुन जान्छ।
हालसम्म पनि तिब्बत (चीनको स्वशासित प्रदेश) नेपाल-चीन सम्बन्धमा निर्णायक बनेको छ। नेपाल-चीन सम्बन्ध विस्तार गर्न, नेपालको छवि, पहिचान र संस्कृति भोट (चीन) पुर्याउन इतिहासको कालखण्डमा धेरै नेपालीहरूले उल्लेख्य भूमिका निर्वाह गरेका छन्।
यसै कोटीमा सर्वाधिक स्तुत्य व्यक्ति हुन्, अरनिको। नेपालको चीनका लागि सांस्कृतिक दूत बन्न पुगेका महामानव धर्तीपुत्रप्रति उनको स्मृति दिवस २०८० को उपलक्ष्यमा अर्चना गरी श्राद्ध(श्रद्धा) श्रद्धासुमन अर्पण गर्न यो आलेख तयार पारेको छु।
यथार्थमा नै सबै नेपालीले श्राद्ध (श्रद्धा) गर्ने पितृ (पुर्खा) नै हुन्, अरनिको। प्रत्येक वर्ष पौष २३ गते अरनिको स्मृति दिवस मनाउने सन्दर्भले नेपालको गौरवमा अतीतको सम्झना गराएको छ। इतिहासलाई सम्मान गर्न सुझाएको छ।
यी महान् नेपाली कलाकारको जन्ममिति, नाम र जन्मस्थानका विषयमा ठोकुवा गरेर भन्ने कुनै प्रामाणिक तथ्य फेला पार्न सकिएको छैन। नेपालमा उपलब्ध भएका ऐतिहासिक स्रोतहरू यी कलाकारका विषयमा मौन छन्।
भोट, चीन, मंगोलिया र इन्डोनेसियासम्म यत्रो नेपाली कलाकार भनी ख्याति आर्जन गरेका अरनिकोका सम्बन्धमा नेपाली सामग्री मौन हुनु एक खड्किदो विषय हो। उनको अनिको, अनिगो, अरनिको, बलबाहु आदि नाम भनेर उल्लेख गरिएको पाइन्छ।
संस्कृत शब्द अनेकाको अपभ्रंश हुँदै चिनियाँ भाषामा अनिको भनिएको हुनसक्ने अनुमान बाबुराम आचार्यको छ। अनेकाको अर्थ ‘नेपालका सम्मानित भाइ’ भन्ने हुन्छ। उनी नेपालको कुन ठाउँका हुन् भन्ने विषयमा पनि यथार्थ प्रमाण पाइँदैन।
वास्तुकलामा ख्याति कमाएको पाटन नै भएकाले उनी सोही ठाउँका बासिन्दा भएको अनुमानसम्म गर्न सकिन्छ। उनको नाम तथा जन्मथलो यकिन नभए तापनि अरनिको नेपालकै धर्तीपुत्र भएकोमा कुनै सन्देह छैन।
अरनिको नेपाल-चीन सम्बन्धका सेतु र चीनमा सबैभन्दा ठूलो सम्मानित पद र प्रतिष्ठा पाउने पहिलो नेपाली हुन्। नेपालको कला भोट, चीन, मङ्गोलिया, इन्डोनेसिया पुर्याउने कलासारथि हुन्। यस्ता महान् विभूतिको स्मृति जयन्ती मनाउँदा सम्पूर्ण नेपाली नै सम्मानित भएका छन्। नेपालका प्रथम सांस्कृतिक दूत धर्तीपुत्र अरनिकोप्रति हार्दिक श्रद्धाञ्जली।
सातौँ शताब्दीमा नेपाली राजकुमारीको विवाह भोटका राजा स्रङ चङ गम्पोसँग भएको थियो। यिनै राजकुमारीले आफूसँगै अक्षोम्य तारा, मैत्रेय आदिका मूर्ति लिएर गएकी थिइन्। उनैले नेपाली शैलीको झोकाङ (मन्दिर) ह्लासामा निर्माण गर्न लगाइन्। उक्त मन्दिरको वास्तुकलाको प्रसिद्धि सबैतिर फैलियो।
त्यस मन्दिर बनाउन नेपालबाट कालीगडहरू गएको सम्भावना प्रबल छ। त्यही समयदेखि नेपाली वास्तुकलाविद कालीगडको माग भोटमा बढ्न थालेको हो। नेपाली राजकुमारी भृकुटीले यस्तो चकचकी मच्चाएको, नेपालकै छवि चम्काएको जस्ता विषयमा नेपालका ऐतिहासिक सामग्री मौन हुनु पनि खड्किदो कुरा हुन पुगेको छ।
नेपालको सम्बन्ध उत्तरका मुलुक खास गरी भोट-चीनसँग घनिष्टता ल्याउन बौद्ध धर्मले सेतुको काम गरेको थियो। शान्तिभद्र, अनन्तश्री, जितकर्ण, सुमनकीर्ति, शान्तिश्री जस्ता बौद्ध विद्वान् तथा पण्डितहरू नेपालबाट भोट-चीन पुगेका थिए।
यसैगरी पद्मसम्भव पनि नेपालबाटै ह्लासा पुगी मानसम्मान पाएको तथ्य पनि स्मरणीय छ (तीर्थप्रसाद मिश्र, नेपालको इतिहासका केही रोचक प्रसङ्गहरू, २०८० पृष्ठ ११९–१२९)।
भोटमा रहेको प्रसिद्ध साक्या (स्याक्या) गुम्बा बौद्ध धर्मालम्बीहरूका लागि आकर्षक गन्तव्य तीर्थस्थल थियो। यसैकारण नेपालका भिक्षुहरू पनि उक्त स्थानमा पुगिरहेका हुन्थे। तेह्रौँ शताब्दीमा चीनमा हर्ताकर्ता हुन पुगेका चङ्गेज खाँ धार्मिक मतमा श्रद्धा राख्ने शासक थिए।
यिनै चङ्गेजका नाति कुब्लाई खाँले साक्या गुम्बाका प्रमुख भन्ते (भिक्षु) बाट बौद्ध धर्मदर्शनको शिक्षा र दीक्षा लिए। यसैले उनले सुवर्ण चैत्य बनाउने विचारले साक्या गुम्बाका प्रमुखमार्फत नेपालका राजालाई सयजना वास्तुकला शिल्पकलामा दक्ष कालीगडहरू पठाइदिन अनुरोध गरे।
सोही अनुरोध स्वीकार गरी नेपालका मल्ल राजा जयभीम(अनन्त) मल्लले एक कालीगडको टोली भोट पठाइदिए, सन् १२६० को दशकमा। यसै टोलीको नेतृत्व वास्तुकलाका विविध पक्षमा दक्षता हासिल गरिसकेका अरनिकोले गरेका थिए। त्यस टोलीमा कतिजना थिए? नेपालको कुन ठाउँबाट गएका थिए? सेवा सर्त के के थिए? आदि प्रश्नहरू हालसम्म पनि अनुत्तरित नै छन्।
अरनिकोको नेतृत्वमा नेपाली कलाकारहरूले साक्या गुम्बाको सुवर्ण चैत्य निर्माण गरी सुनको मसीले कंग्युर र तंग्युर जस्ता बौद्ध धर्ममा कृतिहरू उतार गरी शाक्यमुनि बुद्धको सुवर्ण मूर्ति सुवर्ण चैत्य र अनेकौँ बौद्धमूर्ति बनाए। अरनिको कलाकारिता शिल्प र कौशलबाट शाक्य गुम्बाका संघनायक पाइसापा(?)ले उनलाई कुब्लाई खाँको राजप्रासाद पेचिङ लिएर गए।
अरनिकोको कार्यको प्रशंसा सुनेर सम्राटले बिग्रेर थन्किए र राखेको एक धलोटको मूर्ति मर्मत गर्ने आदेश दिए। अरनिकोले तदारुकताका साथ छोटो समयमा नै उक्त मूर्ति मर्मत गरी आफ्नो सीप र दक्षता चिनाए। यस कार्यबाट बादसाह प्रसन्न भई स्वेत चैत्य महाविहार निर्माण गर्ने दायित्व सुम्पिए।
उक्त कार्य सन् १२७१ बाट सुरु गरी आठ वर्ष लगाएर निर्माण सम्पन्न गरे। सोही परिसरमा नै अर्को बौद्ध बिहार पनि बनाए। साथै चीनका विभिन्न प्रान्तमा बौद्धमूर्ति एवं कलाकृति सजिएका बौद्ध विहार बनाए। यी सबै कार्यबाट कुब्लाई खाँ प्रभावित भई वास्तुकला प्रमुखजस्तो राजकीय सेवामा नियुक्त गरे।
चीनमा रहँदा बस्दा उनले धेरै चिनियाँलाई ढलोटकलामा दक्ष कालीगड बनाइसकेका थिए (सत्यमोहन जोशी, नेपाल र चीनको सांस्कृतिक सम्बन्ध : प्राचीन कालदेखि अरनिकोसम्म, २०७६ पृष्ठ ९) ।
अरनिको केवल वास्तुकलाविद मात्र थिएनन्, एक कुशल चित्रकार पनि थिए उनले बनाएको कुब्लाई खाँ र साम्राज्ञीको छविचित्र ताइवानको ताइपे संग्राहालयमा सुरक्षित छ। अरनिकोले स्थानीय चिनियाँसँगै घरजम गरी उतै स्थायी रूपमै बसोबास गर्न थाले। कार्यरत रहँदा नै ६३ वर्षको उमेरमा सन् १३०६ मा उनको देहान्त भयो।
भनिन्छ कि अरनिकोपश्चात् उनका छोराहरू वास्तुकला विभागमा नै कार्यरत थिए। चिनियाँ सम्राटले अरनिकोलाई मरणोपरान्त विशेष सम्मान मिङ हुई प्रदान गरी श्रद्धाञ्जली दिए (उही)।
अरनिकोको मृत्युको समयमा नेपाली श्रीमतीबाहेक दुईजना मङ्गोलियन र सातजना चिनियाँ श्रीमती रहेको उल्लेख पाइन्छ। उनी तिब्बत जाँदा नेपाली श्रीमती लिएर गएको हुनसक्ने सम्भावना छैन। बीसौँ शताब्दीको सुरुसम्म पनि भोट जाने कुनै पनि नेपालीले श्रीमती लिएर जाँदैनथे। अरनिकोले देहत्याग गरेका थिए भन्ने पनि भनाइ छ।
सन् १३११ मा पेचिङमा अरनिकोको समाधि स्थलमा खडा गरिएको कीर्तिस्तम्भ नै उनको जीवनी र कार्य विषयमा एकमात्र भरपर्दो स्रोत हो। उक्त स्मारकमा उल्लेख भएका विवरणका आधारमा सत्यमोहन जोशीले अरनिकोको विषयमा अध्ययन अनुसन्धान गरी प्रकाशमा ल्याउनुभएको हो।
भानुभक्तलाई चिनाउने मोतीराम भट्ट भएजस्तै अरनिकोलाई चिनाउने सत्यमोहन जोशी नै हुन्। यसैगरी अरनिको कुशल चित्रकार थिए भन्ने तथ्य उजागर गर्ने मीनबहादुर शाक्य हुन्।
उनले ताइवानको संग्रहालयमा रहेको अरनिकोको कुब्लाई खाँ र साम्राज्ञीको चित्रकला पत्ता लगाए। यसको छायाप्रति नेपाल आर्ट काउन्सिलको बबरमहलस्थित ग्यालरीमा सजिएको छ।
नेपालले नेपालका महान् सपुत अरनिकोकोलाई राष्ट्रिय विभूति घोषणा गरेको, चीन जोड्ने राजमार्गको नाम नै कोदारी राजमार्ग राखिएको, उनको फोटो राखेर हुलाक टिकट निष्कासन गरेको जस्ता कार्यबाट सम्मान दिएको छ।
हालसालै ललितपुर नगरपालिकाले उनको सालिक निर्माण गरेको छ भने अरनिकोको पाटनस्थित निवासस्थान पत्ता लगाई सङ्ग्रहालय बनाउने योजना गरेको समाचार आएको छ (डिसी नेपाल, २४ पुष २०७९)।
उल्लिखित सबै कार्यबाट अरनिको सम्मानित भए भए त्यसमाथि इतिहास झन् बढी सम्मानित भएको छ। आजको सन्दर्भमा सम्पूर्ण नेपालीलाई अतीतका यस्तै प्रसंगको स्मरणबाट केही राहत मिलेको छ । अरनिकोको खास नाम, जन्मस्थान, उमेर आदि विषयमा केही अलमल भए तापनि यो दुनियाँले अरनिकोको योगदानमा कुनै ओझेल पारेको छैन, पार्न दिनु पनि हुन्न।
अरनिको नेपाल-चीन सम्बन्धका सेतु र चीनमा सबैभन्दा ठूलो सम्मानित पद र प्रतिष्ठा पाउने पहिलो नेपाली हुन्। नेपालको कला भोट, चीन, मङ्गोलिया, इन्डोनेसिया पुर्याउने कलासारथि हुन्। यस्ता महान् विभूतिको स्मृति जयन्ती मनाउँदा सम्पूर्ण नेपाली नै सम्मानित भएका छन्। नेपालका प्रथम सांस्कृतिक दूत धर्तीपुत्र अरनिकोप्रति हार्दिक श्रद्धाञ्जली।
Facebook Comment