सत्ता गठबन्धन सामाजिक सद्भाव भड्काउन प्रयत्नशील रहेको छ : ईश्वर पोखरेल
काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव भड्काउन प्रयत्नशील रहेको बताएका छन्।
राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पोखरेलले एमालेले सामाजिक सद्भाव नखलबलियोस् र राष्ट्रिय एकता कमजोर नहोस् भनेर सधैँ सामाजिक सद्भावको पक्षमा काम गर्दै आएको स्मरण गराए । तर, वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव खलबल्याउने काममा लागेको पोखरेलको भनाइ छ।
‘गठबन्धनको नेतृत्व गर्नेहरू जातीय सद्भावलाई भड्काउनको लागि पहिचानको नाममा आगो सल्काउने काम गरिरहेका छन्, जसको हामी निन्दा र भर्त्सना गर्न चाहन्छौँ’, पोखरेले भने।
कुनै पनि जाति सानो वा ठुलो नहुने र कसैलाई विभेद गर्न नहुने पोखरेलले बताए । तर, पहिचानको नाममा जातीय सद्भाव भड्काइन्छ भने नेकपा एमालेलाई सो कुरा मान्य नहुने उनले प्रष्ट पारे। एमाले सरकारमा नभएको मौका पारेर देशमा विग्रह ल्याउने प्रयत्न भइरहेको उनले बताए।
पोखरेलले अहिले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा कमजोर बनेको बताए। हिजो सरकारमा हुँदा विदेशीले अतिक्रमण गरेको भूमि फिर्ता लिनुपर्छ भनेर सम्पूर्ण देश भरिका शक्तिलाई एक ठाउँमा उभ्याउने काम एमालेले गरेको उनले बताए।
अहिले गठबन्धनका प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा त्यसको बारेमा बोल्न समेत नसकेको बताउँदै उनले भने, ‘एक शब्द पनि बोल्दैनन्, हाम्रो मिचिएको भूमि फिर्ता लिनुपर्छ भनेर कूटनीतिक पहल र प्रयत्न पनि गर्दैनन्, त्यस्तो एउटा निर्लज्ज र कायर खालको भूमिका उनले खेलिरहेका छन्।’
भारतीय राजदूतावासले नेपालमा आफूखुसी २० करोड रुपैँयासम्मका योजनामा खर्च गर्ने गरी सरकारले गरेको सम्झौता एमालेलाई मान्य नरहेको पोखरेलले बताउनुभयो । यो राष्ट्र हित र राष्ट्रिय स्वाधीनता विपरीतको कार्य भएको उनले प्रष्ट पारे।
‘कुनै पनि मुलुकको राजदूतावासले नेपाल भित्र आएर बजेट वितरण गर्ने र आफ्ना मान्छे बनाउने डरलाग्दो षडयन्त्रपूर्ण योजना बनाइएको छ, नेकपा एमाले त्यो सहमति, त्यो सम्झौताको विरोध गर्दछ, त्यस प्रति आफ्नो असहमति प्रकट गर्दछ’, पोखरेलले भने ।
एमालेले राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई कमजोर हुन नदिने उहाँले प्रष्ट पार्नुभयो । यसको लागि एमाले दृढतापूर्वक उभिने पोखरेलले प्रतिबद्धता व्यक्त गरे।
सामाजिक सुरक्षाका विभिन्न क्षेत्रलाई नेकपा एमालेले अघि बढाउने र विस्तार गर्ने उनले बताए । राज्यको तर्फबाट ती कुरा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । देशका धेरै संरचना अपाङ्गतामैत्री बनाउनु पर्ने कुरामा एमालेको ध्यान रहेको उनले प्रष्ट पारे ।
Facebook Comment