राष्ट्रियसभा सदस्य पदमा कृष्ण सिटौलाले गराए उम्मेदवारी दर्ता
विराटनगर। राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओबादीबाट चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
सिटौलाको समर्थकका नेपाली कांग्रेसका हिमाल कार्की रहेका छन् भने प्रस्तावकमा प्रदिप सुनुवार रहेका छन्। त्यस्तै माओवदीका उम्मेदवार कार्कीको समर्थनमा नेपाली कांग्रेसका राम खत्री रहेका छन् भने प्रस्तावकमा माओवादीका गणेश उप्रेती रहेका छन्।
सिटौला गत प्रतिनिधी सभा निर्वाचनमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। सत्तारुढ गठबन्धनको भागबन्डाअनुसार कोशीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भए अनुरुपनै उम्मेदवारी दर्ता भएको हो।
उम्मेदवारी दर्ता पछि सिटौलाले गठबन्धन दलहरु एक भएर लाग्ने र एक भएर अगाडि बढ्ने बताए। उनले पार्टी भित्रका विवाद पनि मिलाउने र आगामी दिनमा गठबन्धनलाई अझ बलियो बनाएर लैजाने बताए।
कोशीबाट नेकपा एमालेले अन्यमा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपाध्यक्ष उद्धव पौडेललाई उम्मेदवार बनाएको छ ।
Facebook Comment