भूमिपति बने पछिको खुसी : अब घरबास बनाएर तरकारी लगाउँछौं

महोत्तरी। महोत्तरी बर्दिवास-२ का अमृत आले पढ्न जान्दैनन तर लालपुर्जामा टासेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दंग देखिन्छन्। उनकाे खुसी अनुहारमा छल्किरहेको छ।
नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ? भन्ने उनलाई यसकाे प्रवाह त छैन तर यो पुर्जा भूमिपति बनेको प्रमाण हो भन्ने चााहिँ थाहा छ।
नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भूमिपति भएको खुसी साटासाट गरिरहेका थिए। जिन्दगीभरी कहाँ बस्ने र के खाने? भन्ने त्राहीमा रहेका भूमिहीन तथा दलित भूमिहीन लालपुर्जा देखाउँदै अनेक सपनाहरु सुनाई रहँदा खुसी र सुख के हो? भन्ने अनुभूति जो कोहीले गरिरहेका देखिन्थ्यो।
प्रमुख अथिति तथा अथितिहरुले हस्तान्तरण गरेको लालपुर्जा हातमा लिएपछि आले र उनकी श्रीमतीले नगरवाट प्राप्त जग्गामा सानो घर बनाएर तरकारी खेती गर्ने योजना सुनाए। `बुढेसकालमा आफ्नै नाममा जग्गा भएको छ। यहाँ भन्दा ठूलो खुसी के हुन सक्छ र?´ आले दम्पतिले भने, `कमसेकम मर्ने बेलामा भूमिपति भएर मर्न पाइने भयो।´
उमेरले डाँडो काटेपनि आले अहिले पनि ठेला चलाउँछन्। यही पेशाबाट नै भएको आम्दानीले उनले दुई छोरी र दुई छोराको विवाह गरिदिए। `छोराहरुले कमाउन थालेपनि आफ्नै जग्गा र घर जोर्ने सपना सपनामा नै सीमित बन्यो,´ उनले भने, `अब जग्गा नगरले दियो, घर बनाउन छोराहरुलाई भन्छु।´
वडा न.२ कै चतुरमाया परियार त लालपुर्जा हातमा परेपछी निक्कैवेर भावुक भइन्। `एउटा छाप्रो बनाउँछु अनि तरकारी लगाएर भएपनि अब जिविकोपार्जन गर्छु,´ परियारले भनिन्।
अझ सोममाया लामिछानेको त आफ्नो जग्गा नहुदाँ लामो समयदेखि कोठामा बस्दै आएकी थिइन्। घरवासको लागि आफ्नै जग्गा थिएन। बनिबुताे गरेर जिविकोपार्जन गर्दै आएकी उनकाे श्रीमान बर्षौ पहिला वितेका थिए। `घरबास नहुदाको पीडा मलाई जति अरु कसलाई थाहा होला र?´ सोममायाले खुसी हुँदै भनिन्, `कमसेकम भुमी आयोग र नगरले हाम्रो पीडालाई थोरै भएपनि मलम लगाउने प्रयास गरेको छ।´
उनीहरु जस्तै बर्दिवास-२ स्थित २५ नम्बर बहादुर गंज ४ घ कित्ता न.३२ वाट प्रति घरधुरी १ कठ्ठाका दरले पहिलो चरणमा लालपुर्जा पाउने ५३ घर परिवारको उस्तै खुसी छ। जग्गा पाएपछि उनिहरुले घरवास बनाउने मात्र योजना बनाएका छैनन्, तरकारी तथा अन्य उत्पादन गरेर व्यवसायिक बन्ने समेत सपना बुनेका छन्।
पहिलो चरणमा परेका ६० आवेदन मध्य प्रक्रिया पूरा भएको ५७ जना पूर्ण भूमिहीनलाई जग्गा उपलब्ध गराउने निर्णय गर्दै राष्ट्रिय भूमि आयोग महोत्तरीले २२ मंसिरमा हकदावीको लागि नामावली प्रकाशन गरेको थियो।
त्यसमध्ये ३ जनाको नाममा उजुरी परेपछी २९ मंसिरमा आयोगले ५३ जनालाई लालपुर्जा दिने निर्णय गरेको भूमी आयोग महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोलेले जानकारी दिए।
सोहीअनुसार आज ५३ जना भूमिहीनलाई लालपुर्जा वितरण गरिएको अध्यक्ष गोलेको भनाइ छ। अन्य भूमिहीनको नाममा छानविन भैइरहेको पनि उनले बताए।
६० जना मध्ये कसैको नाममा जग्गा देखिएको, कसैको नाममा उजुरी परेको हुनाले भूमी आयोगले छानविनको लागी ३ जनाको विज्ञ सदस्य संयोजकत्वमा समिति बनाएको छ। समितिले पेश गरेको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडि बढाइने भूमी आयोगले जनाएको छ।
Facebook Comment