मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
जलेश्वर (महोत्तरी)। महोत्तरीको जलेश्वर-बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भंगहा नगरपालिका-३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भंगहा-५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन्। उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ।
गए राति जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज११प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२-०२-००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका-१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताए।
बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो।
Facebook Comment