पाकिस्तान : नवाज शरीफमाथि लगाइएको आजीवन अयोग्यता समाप्त, आम चुनावमा भाग लिन पाउने
काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले देशका पूर्वप्रधानमन्त्री नवाज शरीफ र स्टेबिलिटी पार्टीका अध्यक्ष जहांगीर तरिनलाई चुनावअघि ठूलो राहत दिएको छ ।
अदालतले दोषी ठहर भएका सांसदले आजीवन चुनाव लड्न नपाउने कानुन खारेज गरेको छ । संविधानको धारा ६२–१ सी को व्याख्या गर्दै अदालतले आजीवन अयोग्यताको प्रावधान खारेज गर्ने निर्णय गरेको हो ।
पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाको नेतृत्वमा रहेको सात सदस्यीय इजलासले मुद्दाको सुनुवाइ गर्यो र जनवरी ५ मा पक्षहरूको बहस सकिएपछि सर्वोच्च अदालतले आफ्नो निर्णय सुरक्षित राख्यो।
अदालतको पछिल्लो निर्णयपछि नवाज शरीफमाथि लगाइएको आजीवन अयोग्यता अब अन्त्य हुनेछ ।
नवाज शरीफ र जहाँगीर तरिनले आगामी निर्वाचनमा सहभागी हुने घोषणा गर्दै उम्मेदवारी दर्ता गरेका छन् ।
उल्लेखनीय छ कि यसअघिको संसदले निर्वाचन ऐन २०१७ लाई परिमार्जन गरी अयोग्यताको अधिकतम अवधि पाँच वर्ष तोकेको थियो । निर्णयमा निर्वाचन ऐन बमोजिमको अयोग्यताको अवधि पाँच वर्ष कायम रहने उल्लेख छ ।
Facebook Comment