पृथ्वीनारायणलाई सम्झन जरुरी छ ?

हरिप्रसाद सोडारी
२५ पुष २०८० १०:५२

आज भन्दा झण्डै ३०१ अगाडि अर्थात् वि. सं. १७७९ पौष २७ गते साँझ बितेपछि गोरखा दरबारले नरभूपालका पुत्र एवं कौशल्यावतीका सुपत्रका रुपमा पृथ्वीनारायणलाई जन्मायो। सात महिनामा जन्मिएका युवराजले झण्डै सात वर्षको उमेरमा गोरखनाथबाट दधीवर पाए।

जेठी महारानी चन्द्रप्रभाले युवराजलाई विशेष निग्रानीमा राखिन्, वरपरका राजा, राजनीतिको अभ्यास गराइन्। पृथ्वीनारायणभन्दा अघिका राजाहरूले नेपालराज्यको एकीकरण वा आफ्नो राज्य विस्तारको प्रयास गरे पनि सफलता हासिल गर्न सकेका थिएनन्।

द्रव्य शाहपछि राम शाहले तात्कालिक गोरखाराज्यलाई भूगोल र राजनीतिक दृष्टिले सबल बनाउने कार्य गरे पनि अपेक्षाकृत कार्य भएन। टुक्रेराज्यहरु आपसमा टक्राउनेबाहेक अन्य उपलब्धी हात परेको थिएन। काठमाडौं उपत्यकाका राजा यक्ष मल्ल, पाल्पाका राजा मुकुन्दसेनले राज्य विस्तार गरेका थिए।

उनीहरू राजा हुनुपर्नेमा बुबा हुन पुगेर सन्तानलाई राज्यलाई बाँड्ने वा श्रीपेचमा समान हैशियत दिने कार्य गरे। राजपाठ सञ्चालनमा विवेकको प्रयोग गर्नुपर्छ, विश्वास जित्न सक्नुपर्छ, युगलाई बुझ्नुपर्छ, जनभावलाई नाप्नुपर्छ। राज्यलाई सन्तानहरूमा अंशबण्डा गर्दा टुक्रा-टुक्रा भएको नेपाललाई कसैले जोड्ने प्रयास गरे पनि फेरि सन्तानका मोहले ‘पुनर्मुसिको भव’ हुन्थ्यो।

पृथ्वीनारायणले वि. सं. १८००मा अर्थात् २१ बर्षको उमेरमा नुवाकोट आक्रमण गरेर पराजयको स्वाद चाखे। अब यस्तो भोग्न नपरोस् भनी बनारसको यात्रा गरे, हातहतियार संकलन गरे, युद्धकला सिक्नका लागि मुसलमान योद्धालाई गोरखा ल्याए। दरबारमा बसेर युद्धको निर्देशन दिएनन् आफैं युद्धस्थलमा पुगेर सेनाको मनोबल बढाए।

मकवानपुरलाई ससुराली बनाएर सहयोगको अपेच्छा गरेका पृथ्वीनारायणले उल्टै अपमान सहनुपरेको थियो। जनता मोटा भया दरबार बलिया रहन्छ भन्ने सिद्धान्तमा हिँडेकाले विसे नगर्चीको अर्ति माने। उचित व्यक्तिलाई उपयुक्त पद दिनुपर्छ भन्ने भावमा अडिक हुनाले विराज बखेती मन पर्दापर्दै पनि जनताका हृदयमा बसेका कालु पाँडेलाई कजाइँ दिए।

पृथ्वीनारायणमा आत्मसमीक्षा गर्ने क्षमता थियो। केशव द्वारेको उखु निःशुल्कमा खान हुँदैन भन्ने जेठीआमाका वचनलाई स्वीकार गरे। उद्योत सेनले लमजुङ भनेको गरुड हो, गोरखा भनेको सर्प हो, काठमाडौँ भनेको भ्यागुता हो भनी दिएको निर्देशनअनुसार युद्ध नीतिलाई अगाडि बढाए।

कीर्तिपुरमा कालु पाँडे गुमाएर फर्किएको रात एक जना बुढीआमाले छेउछेउबाट खिचडी खान सिकाएर उपत्यका जित्ने विधि बतादिएपछि पूर्णरुपमा पालना गरे। उपत्यका जितेपछि भाइहरुले राज्य माग्दा देश निकाला गरिदिए। यसरी पृथ्वीनाराणले सुझाव र संकेतलाई जीवनमा सदुपयोग गरे।

जात, धर्म, वर्ण, भूगोल आदिका आधारमा प्राचीन नेपालझैँ आधुनिक नेपालले विखण्डन देख्न नपरोस् भनी उनले सबै जातको साझा फूलबारी हो भएको जानकारी गराउँदै भावी पुस्तालाई सचेत गराए।

उनले बौद्ध गुम्बाका लामालाई परिवर्तन गरेर व्राह्मण नियुक्ती गरेनन्, नेवार कन्यालाई कुमारी बनाउने परम्परालाई तोडेर शाहकुलकी कन्यालाई जिम्मेवारी दिएनन्। पशुपतिको पुजारीमा गोरखाली भट्ट राख्न सक्थे, स्वयम्भूका लामालाई हटाउन सक्थे, भोटो देखाउने जात्रालाई रोक्न सक्थे, मल्ल राजाहरुका शालिकलाई तोड्न सक्थे, नेपालकै नाम गोरखा राख्न सक्थे तर एक इन्च पनि जनविरोधी कार्य गरेनन्।

नेपाललाई निल्न बसेका क्रिश्चियनभीरुहरुले मुख बाउन थालेपछि भक्तपुरबाट निकाला गरिदिए तर यीशुलाई मान्छु भन्नेलाई संरक्षण दिए। उनलाई अंग्रेज र क्रिश्चियनको नियत थाहा भएकाले दक्षिणको बादशाह चतुर छ भने। ब्रिटिशले व्यापार, धर्म र मित्रताका नाममा भारतलाई उपनिवेश बनाएका याद भएकाले सचेत रहे।

आधुनिक नेपालका जन्मदाता पृथ्वीनारायण शाहको योगदानलाई तिलाञ्जलि दिएर पौष २७ गतेका दिन सरकारले बिदा नदिई ठूलो कृतघ्नता देखाएको थियो। पृथ्वीनारायणले एकीकरण नगरिदिएको भए आज शासनसत्तामा रहेका दलका नेताहरू कुन भूगोलमा शासन चलाउँथे? कुन मुलुकलाई सात प्रदेशमा विभाजन गर्थे?

कुन देशका नागरिकलाई भूटानीशरणार्थी बनाए बेच्थे? कुन जनताले कोरिया जान्छु भन्दा बालकुमारीमा जीवनको आहुति दिन्थे? आफू पदमा रही आफन्तलाई कसरी नियुक्त गर्थे विवेक गर्ने दिन आँगनमा नै आएको छ।

कालु पाँडे र विसे नगर्चीको जन्मभूमिमा विदेशी हस्तक्षेप बढेर राष्ट्रियता, सद्भाव, एकता र स्वतन्त्रतामा खतराको घण्टी बजेको छ। शिकारी गुरुङको पसिना बगेको माटोमा सामाजिक सद्भाव र एकता खलबलिएको छ।

शिवराम बस्न्यातले तरबार चलाएको माटोमा कम्युनिष्टहरुको मगन्ते र मनगणन्ते शासन देखिएकै छ। राष्ट्रनिर्माताले देखाएको बाटोमा हिँड्न सक्यौँ भने राष्ट्रिय एकता र स्वाधीनताको रक्षा हुन सक्दछ। पृथ्वीनारायणले गोरखाको भाषा र संस्कृतिलाई कतै लाद्ने काम गरेनन्।

स्थानीय जनताको भाषा, संस्कृति, परम्परा, रीतिरिवाजलाई मान्यता दिई त्यसलाई राष्ट्रिय स्वरूप प्रदान गरे। जस्तो कि काठमाडौँ उपत्यकालाई विजय गरेपछि त्यहाँका नेवारीभाषा, संस्कृति, कला, चाडपर्व, नाचगानलाई प्रोत्साहन दिए।

उनको दिव्योपदेशमा ‘आफ्ना स्वषसयेललाई ता सास्त्रबमोजिम्को तिनै सहर नेपालको नेवारहरुको नाच झिकाई हे¥या पनि हुन्छ। ईनमा ता दियाको पनि आफ्नो देशमा रहन्छ” यसरी स्थानीय संस्कृतिलाई बढावा दिई एकताको सन्देश प्रवाहित गरे। जनकपुरका महन्त सुमरन दासलाई वि. सं. १८२८ मा मैथिलीभाषामा लालमोहर दिँदै भने-

“श्री दूर्गा सहाय स्वस्ति श्री गिरीराज चक्र चुडामणि नरनारायणोत्यादि विविधविरुदावली विराजमान मनोन्नत श्री मन्महाराजधिराज श्री श्री श्री श्री श्री पृथ्वीनारायण शाह देवानाम् सदा समर विजयनाम् आगे जनकपुर बेलाही ससिम साविक बदस्तुर कुश बिर्ता जाति श्री……. प्रति वहाल कै दिया । अप्पने षातिर जमासै वै वसावे आवाद कै कुश विर्ति जाति सबै अंक बेतलव भोग्य किया करे श्री …….. का सेवा पूजा किया करै श्री हजुरको आसिर्वाद दिया करे धर्म चलाया करै, इति संवत् १८२८ साल मिति चैत वदी १ रोज ६ मुकाम काठमाडौँँ शूभम् ।”

विजयपुर (धरान) का कालिकामन्दिरका पूजारीलाई थमौती गरी वि. सं. १८३१ कार्तिकमा लालमोहर दिएका थिए । वि. सं. १८१९ मा सप्तरीका जीतु राउतलाई पहिला सेनवंशी राजाद्वारा दिइएका बिर्ता राष्ट्र एकीकरण गरेपछि थामि दिइएका थिए-

“स्वस्ति श्री गिरिराज चक्र चुडामणि नरनारायणेत्यादि विविधविरुदावलि विराजमान मनोन्नत श्री मन्महाराजधिराज श्री श्री श्री श्री श्री पृथ्वीनारायण शाहदेव देवानाम् सदासमर विजयनाम् आगे जीतु राउत के प्रगना चेखन्त मौजे कलावनजर अंक १ से जे तरह सौ देल रहै से सहित हम उगाद वक्स के देल है । अप्पन षातीज ….. जीतु के सभ माफ केदेल है । मौकदमी सेहो जीतु राउत के देल है । अप्पन षातिर वैसु हजुर के सेवा करु, इति संवत् १८१९ साल फागुन सुदी रोज १ हरिहरपुर शुभम् ।”

पृथ्वीनारायाणलाई उनकी सौतानेआमा चन्द्रप्रभाले विशेषरुपमा रेखदेख र प्रतिशिक्षित गराएकी थिइन्। जीवनको उत्तरार्धमा मानसिकरुपमा विक्षिप्त भएका नरभूपाल र पृथ्वीनारायणबीच सुमधुर सम्बन्ध बनाउन चन्द्रप्रभाले महनीय भूमिका निभाइन्। मकवानपुरसँग सम्बन्ध बिग्रिए पनि पृथ्वीनारायणले कहिल्यै श्रीमतीलाई यातना दिएनन्। गृहनीतिदेखि युद्धनीतिसम्म उनी निपूर्ण देखिन्छन्। सेनामा कार्यरतहरुको कार्य क्षमतामा उनको प्रष्ट दृष्टिकोण थियो-

ब्राम्हण भनेको बयल हो पातक लाग्छ,
ठकुरी भनेको सिंह हो पछि दागा धर्छ,
मगर भनेको टाँगन घोडा हो ढिलो हुन्छ ।
क्षत्रीय भनेका ताजी तुर्की घोडा हो छिटो ।

गोरखालीहरुले वि. सं. १८०१मा नुवाकोट जितेपछि बाइसे र चौबिसे मिलेर गोरखालाई अत्याउने, धम्क्याउने कार्य हुँदै आएको थियो। बीस वर्षको उमेरमा अर्थात् संवत् १७९९ मा गोरखाका राजा भएका पृथ्वीनारायणमा आफ्नो उमेरभन्दा बढी नै परिपक्वता थियो।

एशियामा अंग्रेजको प्रभुत्व बढ्दै जानाले सम्पूर्ण भारतमा अंग्रेजी शासनको अधीनमा जान सक्ने खतरालाई इन्कार गर्न नसकिने स्थितिप्रति पृथ्वीनारायण शाह चनाखो देखिन्थे। यसै परिप्रेक्ष्यमा एकीकरणको प्रक्रियालाई तीव्र बनाएर, राष्ट्रिय भाव जगाएर आधुनिक नेपालको पुनः निर्माण गर्ने कार्यमा सफल भए।

पृथ्वीनारायण शाह गोरखाको राजसिंहासनमा बसेपछि सर्वप्रथम नुवाकोट हमला गर्दा हार व्यहोर्नु परेको थियो। सैनिक तयारी, अस्त्र शस्त्रको कमी, युद्धको अनुभव नहुनुजस्ता कारणले पराजय भोग्नुपर्‍यो।

यसपछि कीर्तिपुरसँगको पहिलो र दोस्रो युद्धमा गोरखाको हार भयो अन्यथा गोरखालीसेनाले युद्धमा जय गोरख, जय कालीकै ध्वनि गुञ्जाए। तेस्रोपटकको युद्धमा निकै तयारीका साथ धेरै कीर्तिपुरवासीहरूको समेत साथ र समर्थनमा रातीको समयमा गोरखालीहरूले विशाल नेपालमा अर्को इटा थप्ने काम गरे।

यस युद्धमा कीर्तिपुरवासीको नाक, कान काटिएको तथ्यविहीन कुरालाई क्रिश्चियन लेखकहरुले व्यपकता बनाए। १७ धार्नी नाक काट्न कति मानिस चाहिन्छ स्वतः बुझ्न सकिन्छ। कागले कान लग्यो भन्दैमा पछि दौड्दा राष्ट्रनिर्मातालाई आततायी योद्धा बनाउन पुगियो।

अन्तिमपटकको युद्धमा गोरखालीको लामो नाकाबन्दीबाट आजित कीर्तिपुरले कुनै प्रतिकार गरेका थिएनन्। कीर्तिपुरका युवा र जोसिला योद्धाले गोरखाली सेनालाई काटेकोमा दण्ड स्वरूप २, ४ जनाको नाक कान काटिएको कुरालाई इन्कार गर्न सकिँदैन।

त्यतिबेलाको गोरखाराज्यको तुलनामा निकै बलियो ठानिएका कीर्तिपुरको उनीहरूको नाकै गएको भे; भनाइ अपभ्रंशमात्र भएको हो। इज्जत जानुलाई नाक काटियो भे; परम्परा अहिले पनि छँदैछ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले वि. सं. १८२५ असोज १३ गते इन्द्रजात्राको दिन कान्तिपुरमाथि विजय गरी आधुनिक नेपालको जग बसालेका थिए। त्यसअघि उपत्यकाका चारैतिरका सानासाना राज्यहरू विजय गरी घेरा हालिसकेका थिए।

पाटन र भक्तपुर तुलनात्मक रूपमा त्यत्ति बलियो राज्य थिएनन्। भक्तपुरसँगको पुरानो मितेरी साइनोले गर्दा पनि उनीहरूसँग लडाइँ नै होला वा गर्नुपर्ला भे; लागेको थिएन।

कान्तिपुर भने परिवारभित्रका आन्तरिक कलहमा मात्र लागेका थिएनन्, सरकारी कोषबाट समेत सम्पत्तिको चरम दुरुपयोग, मठमन्दिरहरूको आम्दानीमा हिनामिनालगायतका कार्यले थला पर्दै गएको थियो।

यस्तै अवस्थामा गोरखाली सेनाले इन्द्रजात्राको दिन सम्पूर्ण कान्तिपुरवासी जात्रा सिद्ध्याएर आराम गर्ने समयमा तीनतिरबाट कान्तिपुरमा हमला गरे। कान्तिपुरका राजा जयप्रकाश मल्ल भागेर पाटनमा शरण लिन पुगे।

पाटनमा तात्कालिक समयमा ६ जना प्रधानहरूमध्ये चुनिएका तेजनरसिंह मल्ला राजा थिए। पाटनका ६ वटै प्रधानसहितका भारदारहरु पृथ्वीनारायण शाहसमक्ष आत्मसमर्पणको लागि तयार थिए। पाटनको परिस्थिति देखेपछि जयप्रकाश मल्ल तथा तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजित् मल्लको शरणमा पुगे।

भक्तपुरका राजा रणजित् मल्ल कान्तिपुरका राजा पृथ्वीनारायण शाहका मितबाबु भएकाले आक्रमण गर्न केही अप्ठेरो थियो। पृथ्वीनारायणले भक्तपुरमा शरण लिई बसेका कान्तिपुर तथा पाटनका राजाहरूलाई सुपुर्दगी गरी दिन आग्रह गरे। रणजित् मल्ल शरणमा आएकाहरूको मरण गर्ने काम मेरो नैतिकताले दिँदैन भनी अडेर बसे। अन्ततः गोरखालीसेनाले भक्तपुरमाथि जय गोरख, जयकालीको विजय पतका फहराउन करै लाग्यो।

भक्तपुर विजयीपछि कान्तिपुर, पाटन, भक्तपुरराज्यका राजाहरूलाई सम्मानपूर्वक भेट गरेर अन्तिम इच्छा सोधे। रणजित मल्लले वनारस जाने इच्छा गरे, जयप्रकाश मल्लले आर्यघाटमा मृत्युवरण गरे तर चूपचाप बसेर कुनै उत्तर नदिने तेजनरसिंहले जेलबाटै बिदा लिए। पृथ्वीनारायण शाहलाई योद्धाका दृष्टिले मात्र होइन चिन्तक, शासक, संयोजक, योद्धा, विचारकका नजरले हेर्न पनि आवश्यक छ।

राज्यको एकीकरण माला जपेर वा शास्त्रको पाठ गरेरमात्र हुँदैन भाला र शस्त्र त चलाउनै पर्छ। पृथ्वीनारायणको नेतृत्वमा भएको युद्ध ज्यान गुम्यो तर नेपाल बन्यो, हामीले नेपाली हुने सौभाग्य पायौँ। १७ हजार मान्छे मरेर सत्ता परिवर्तन भयो तर नेपालीले के पाए?

विभिन्न आन्दोलन भए त्यसले नेता जन्मयो तर राष्ट्रियता एकपछि अर्को कमजोर हुँदै गए। यसकारण पृथ्वीनारायणको नेतृत्वले हामीलाई गोरखाली बनाएर नेपाली बनाएकाले उनी राष्ट्र निर्माता हुन्। एकीकरणको जग उनैले राखेको हुँदा एकताका प्रतिक हुन्।

उनको चिन्तन, उनको चोर औँला, उनको दिव्योपदेशले नै बुझाउँछ कि नेपाल र नेपाली रहेसम्म उनी राष्ट्रनिर्माता नै हुन्। उनका सबै कामहरू सामयिक एवं राष्ट्र कल्याणकारी भएका कारण आजसम्म पनि उत्तिकै उपयोगी सिद्ध भएका छन्।

पृथ्वीनारायण शाह अठोट र दृढताका साथ नेपालको एकीकरणमा नलागेको भए शायद देश छि;भि; भई हामी सबै उसबखत अंग्रेजको अधीनमा हुने थियौँ। हाम्रो स्वतन्त्र अस्तित्वमा प्रश्न चिन्ह लाग्न सक्ने थियो।

हामी कुल, मुल र मुलुकबाट विहीन हुने अवस्थामा पुग्ने थियौँ। जुन राष्ट्रमा बसेको छ त्यसलाई भुल्नुभनेको आफूलाई नै बिर्सनु होइन र? ऋषिका सन्तान, बुद्धको देश, पशुपतिको राष्ट्र, सगरमाथाको भूमि भन्ने अधिकार पृथ्वीनारायण शाह र उनका सहयात्रीले दिएको हुँदा राष्ट्रनिर्मातालाई हामी आदरको साथ स्मरण गर्नुपर्ला कि?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *