पृथ्वी नारायण शाहलाई हेर्ने दृष्टिकोण
मार्क्सवादी दृष्टिकोणले हेर्दा उनी सामन्त राजाका रुपमा हाम्रो दिल दिमागमा चित्र स्पष्ट बनेकै छ। यो चित्र बन्न सात साल भन्दा अघिदेखि नै हाम्रा पार्टीहरुले समय र पैसा खर्चेका थिए। राजाको पक्षमा बोल्ने बित्तिकै राजावादी आरोप लाग्ने कुरा पनि सामान्य हो।
यसो हुनु बिचारको क्रान्ति भनिने सामन्तवाद बिरोधी श्रृंखलाबद्ध लामो आन्दोलनको पनि त्यतिकै भूमिका छ। यसो भनिरहँदा हामीले के बुझ्नुपर्छ भने हाम्रो बिचार बनाउने काम कम्युनिष्ट आन्दोलन र यो आन्दोलन हाक्ने पार्टीहरुले नै गरेका हुन्।
यसै गरी बिभिन्न पुँजिवादी पार्टीहरुले पनि राजतन्त्रको बिरोध गरेको देखिन्छ। राजालाई मान्ने कुनै पनि ब्यक्ति प्रजातान्त्रिक हुन सक्दैनन् भन्ने एउटा मान्यता पनि हुर्केको छ। यसरी हेर्दा कम्युनिष्ट र कांग्रेस दुवै राजाका बिरोधी हुन् भन्ने कुरा सबैले सामान्य रुपमा बुझेकै कुरा हो। हाम्रा बिचार मूल्य मान्यता यिनै दुई शक्ति कम्युनिष्ट र कांग्रेस पार्टीले बनाइदिएका हुन्।
अहिलेको परिस्थितिलाई फर्केर हेर्दा इतिहासको पुर्नसमीक्षा गर्नुपर्ने कुरा खट्केको आभाष मिल्दछ। हाम्रो दिल दिमागलाई जब्बर रुपमा फेर्न सक्ने प्रजातान्त्रिक र कम्युनिष्ट शक्तिहरुको नै बेलाबखत मिलिजुली सरकार बन्दै आएको छ। अहिले भर्खरै पनि यी दुबै शक्ति मिलेर सरकार बनाइरहेका छन्।
के उनीहरुले हिजो जनतालाई देखाएको सपना पूरा गरे त? पूरा भयो भन्ने सर्बसाधरण एउटा पनि भेटिँदैन। बरु हिजो क्रान्ति कालमा क्रान्तिकारी बिहेमा जोड दिने कम्युनिष्ट शिर्ष नेताको नातिनीको बिहे राजखानदानको जस्तो तामझामपूर्ण रुपमा सुसम्पन्न गरियो।
छोरीले बोक्ने ब्याग चार लाख पर्नेे भनी सर्बत्र चर्चा भएबाट दरबारिया सान सौकत त नेताहरुलाई पनि चाहिएकै रहेछ भन्ने पुष्टी हुन्छ। अझ प्रधानमन्त्री प्रचण्डले बान्ने घडी पैसठ्ठी लाख भन्दा बढी पर्ने कुरा सर्वत्र चर्चा भैरहेको छ। यसबाट राजसी ठाटबाटको चाहना लोकतान्त्रिक भनिने नेतामा पनि रहेछ भन्न सकिन्छ।
सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भरपुर चाहना नेताहरुमा देखिएकाले उनीहरुमा गलत कुराको बिरोध भएको देख्न नचाहने निरंकुश चरित्र पनि रहेछ भन्ने पुष्टी हुुन्छ। टिकटकमा देखिएका छाडापन मात्रलाई नियमन गरे पुग्ने ठाउँमा यसैलाई बाहाना बनाएर टिकटक बन्द गर्नु एउटा राम्रो उदाहरण हो।
निरंकुशता राजामा मात्र हैन मौका परेसम्म सबैमा देखिने रहेछ। आफूले जे गरे पनि चुपचाप सबैले समर्थन गरुन् भन्ने चाहनाबाटनै निरंकुशताको जन्म हुने हो। त्यो हाम्रा नेताहरुमा भरपुर छ। ब्यबस्थाको नाम मात्र लोकतन्त्र राखेर लोकतन्त्रको महसुस जनतामा हुने होइन।
हिजो राणाहरुलाई पनि राजसी ठाटबाटमा हिँड्न मन थियो होला यसैले शक्तिमा आउने बित्तिकै जंगबहादुर र उनका परिवारले राजालाई खोपामा राखेर सबै राजकाजका काम आफैंले समाले । राजसी ठाट र तामझाम उनीहरुमा पनि देखियो।
भलै त्यसबेला नेपालमा लोकतन्त्र भन्ने शब्दको उदय पनि भएको थिएन होला। के थाहा, भएको भए उनीहरुले पनि आफूले अप्नाएका तन्त्रको नाम लोकतन्त्र पो राख्थे कि! नराखेर पनि १०३ वर्ष राणाहरुको शासन चल्यो। आजकल लोकतन्त्रको नामैमा निरंकुशता पनि भित्र भित्रै पैठेजोरी खेलीरहेको छ ।
कुनै पनि कुरामा राम्रा र नराम्रा दुबै पक्ष हुन्छन नै। यो एउटा सामान्य ज्ञान सिद्धान्त हो। मार्क्सवादी भाषामा भन्ने हो भने कुनै पनि बस्तु, घटना र व्यवहारमा राम्रा र नराम्रा दुबै पक्षहरु हुन्छन्। हाम्रा आजका नेताहरुमा यतिखेर नराम्रा पक्षहरु धेरै देखियो।
निश्चय नै राजा पृथ्वीनारायण शाहमा पनि कमी कमजोरी पनि थिए होला तर राम्रा र सकारात्मक पक्ष ज्यादा भएकाले नै यो राज्य अहिलेसम्म टिकेको हो। पृथ्बीनारायण शाहको सकारात्मक र राम्रा पक्षहरुको हामीले स्मरण र उनका असल बिचारहरु देश हितको पक्षमा लगाउनुपर्छ भन्ने मान्यता हामीले राख्नुपर्छ। मैले यही कुरामा बढ्ता जोड दिन खोजेको हुँ।
देशको उन्नती प्रगती कसरी गर्नुपर्छ भन्ने अग्रगामी चिन्तनदेखि देशको सुरक्षाको खातिर बिदेशी जासुसहरुसँग कसरी सतर्क हुन सकिन्छ भन्नेसम्मका कुरा पृथ्वीनारायण शाहको दिब्य उपदेशमा पाइन्छ।
परराष्ट्र सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा पनि त्यहाँ छ। सबैको राय सल्लाहा लिई सबैको सर्बमान्य कुरालाई ब्यबहारमा लागू गर्नुपर्छ भन्ने प्रजातान्त्रिक बिचारको समेत अभ्यास उनको कार्यकालमा भएको थियो।
“मलाई आसर्जे लाग्यो। तर मलाई रिझायो, दुनिञा जसदेखि राजी रहन्छन उसैलाई कजाई दिनु भन्ने शास्त्रमा पनि कहेको छ, दुनिञा बुझिहेरु बुझी हेर्दा दुनिञाबाट पनि कालु पाण्डेको चाह रहेछ र कालुपाण्डेलाई कजाई दिनुभया हामी दुनिञादारमा छहारी रहदो हो, भन्या सल्लाह दिया र अब बाइसे चौबिसे क्या भन्छन भनि बुझ्नुहुदा बाइसे चौबिसेमा पनि कालु पाण्डेकै चाह रहेछ र कालु पाण्डेलाई कजाई भया…..मेरा मनमा ता बिराज बषेतीलाई कजाई दिन आटेको थियो।”
पृथ्वीनारायण शाहको यो उदगार नै नेपालको इतिहासमा पहिलो प्रजातान्त्रिक बिचार हो। उनको बालसखा बिसे नगर्ची कहाँ गइ फलैंचामा बसेर मोही र भुटेको मकै खादै नेपाल एकीकरणको लागि हतियार किन्न रकम अभाव भएकाले रकमको व्यवस्था कसरी गर्न सकिएला भन्ने बारे छलफल गर्न खोजेबाट उनी जातजाति बीच कुनै भेदभाव गर्दैनथे भन्ने बुजिन्छ। सल्लाह सवैबाट लिनुपर्छ भन्ने मान्यतामा उनी अडिग थिए।
नभन्दै बिसे नगर्चीले घर भित्र पसि १ रुपैयाँ दाम लिई पृथ्बीनारायणलाई चन्दा स्वरुप चढाएपछि पृथ्बी निकै जंगिएको कुरा इतिहासको अध्ययनबाट थाहा लाग्छ। बिसे नगर्चिले मसँग जस्तै राज्य भरी सानो रकम उठाउँदा रकम यथेष्ट हुने कुरा सम्झाएपछि पृथ्वी नारायण निकै हौसेका थिए।
पछि बिसे लगायत युवाहरुको एउटा टिम नै यो कार्यका लागि परिचालित भएको थियो। राज्यका सारा जनताले खुसीका साथ देशको एकीकरणको काममा रकम सहयोग दिएका थिए। यो रकमले नेपाल एकीकरणमा निकै ठूलो भूमिका निर्बाह गरेको थियो।
त्यो समय राजाका छोराहरुलाई राजाले आफ्नो पैत्रिक सम्पती जस्तै राज्यलाई टुक्रा टुक्रा पारी अंश दिने चलन थियो। यो नीतिले गर्दा सारा नेपाल देस टुक्रे राज्यको रुपमा टुक्रा टुक्रा भई बिभाजित भएको थियो। यसरी टुक्रा भएको नेपाल अधिराज्यलाई एकीकरण गरी एउटै देश बनाउनु पृथ्वीनारायण शाहको एक मात्र उद्देस्य थियो।
पृथ्वी नारायण शाह बिस्तारबादी थिएनन्। उनले जितेका राज्यहरुलाई गोर्खा राज्यमा बिलिन गराएनन्। त्यो गरेको भए देशको नाम गोर्खा हुने थियो। उनले यस अधिराज्यको नाम नेपाल राख्नुले उनी नेपाल एकीकरण गर्ने एक ठूला राज नेता थिए भन्न हामीले कुनै कन्जुस्याईं गर्नुहुँदैन।
खानी भयाका ठाउँमा गाउँ भया गावलाई अन्त सारेर भया पनि खानी चलाउनु। कपास लगाउनु। स्वदेसी कपडाको नमुना देखाई कपडा बन्न सिकाउनु। जडिबुटी देशमा बेची रुपैयाँ षैचनु भन्ने जस्ता वाक्यले देश लाई सुखी सम्पन्न बनाउन त्यतिखेरको समयमा केके गर्न सम्भव थियो?
त्यो सबै विचार, उपदेशको रुपमा उनले भावी पिँडीलाई दिएर गएका छन्। देशी महाजन स्वदेशमा आया भने दुनियाँ कंगाल पारी छाड्छन् भन्ने उपदेश नमान्दा भोटेकोशी हाइड्रो पावरको डलरमा हुने गरेको भुक्तानीले हाम्रो बिद्युत प्राधिकरणलाई टाठ पल्टाउन लागेको उदाहरण काफी छैन त?
फिरन्तेलाई देशबाट लखेट्नु भन्ने सल्लाहका कारण त्यो समय बिदेशी जासुसहरुले देश भित्रको चियो चर्चो गर्न नपाएको भन्ने बुझिन्छ। यसैकारण त्यसबखत सारा एसिया अंंग्रेजको उपनिबेस भैसक्दा पनि नेपाल स्वतन्त्र देश रहिरहन सम्भव भएको थियो।
भारतमा माहात्मा गान्धीले पनि स्वदेशी कपडा नमुना देखाई सबैलाई बन्न सिकाउनु भन्ने पृथ्वीनारायणकै सन्देशको अनुसरण गरेका हुन्। यसको असर बेलायतबाट कपडा बेच्न आएका अंंग्रेजहरुमा पर्यो र अंंग्रेजहरु भारत देशबाट भाग्न पर्ने बाध्यता आइलाग्यो। यसबाट पृथ्वीनारायण शाह एक विचारक थिए भन्ने कुरा पुष्टि हुन्छ।
परराष्ट्र सम्बन्धमा जाइकटक गर्नु झिकी कटक नगर्नु भन्ने सन्देशले आइलाग्नेसँग जाइलाग्नु नत्र कसैसँग जाइ नलाग्नु भन्ने कुराको जानकारी हुन्छ। नेपाल दुई ढुंगाको बीचको तरुल हो भन्नुको अर्थ दुई बिशाल देशको बीचमा नेपाल छ। यसैले तटस्त बस्नु भनेको हो।
असंगलग्न परराष्ट्र नीतिका कुरा पृथ्वी नारायण शाहले यही बाक्यमा इंगित गरिसकेको कुरा हो। यसैले राजापृथ्वी नारायण शाह एक साहसी दूरदर्शी र अग्रगामी बिचार राख्ने ठूला राजनेता थिए। राज्य भाइ भाइमा बाँड्ने चलनको अन्त्य उनकै पालादेखि भएको हो। उनको नेतृत्वमा एकीकरण भएको देशमा हामी ऐले पनि शिर ठड्याएर बस्न पाएका छौंं।
यसैले राम्रा कुरा न राजा न जनता जोसुकैको होउन् अनुसरण गर्नुपर्छ। राजहाँसले पानीबाट दूध छुट्याए जस्तै। राज्य हाक्नेले पृथ्वीनारायणको दुर्गुणको मात्र ब्याख्या गर्ने गर्नुहुँदैन। सामन्ती शब्दमा समय खर्चनु भन्दा उहाँका महान र देशलाई काम लाग्ने बिचारलाई पृथ्वी बिचारको रुपमा उपयोग गर्नुपर्दछ।
Facebook Comment