चीनले अमेरिकालाई भन्यो- ताइवान मुद्दामा ‘कहिल्यै सम्झौता हुँदैन…’
काठमाडौं । चीनले ताइवानको मुद्दामा ‘कहिल्यै सम्झौता नगर्ने’ बताएको छ। लामो समयपछि अमेरिकासँगको सैन्य तहको वार्ताका क्रममा चीनको यो बयान आएको हो ।
चीन र अमेरिकाबीच पछिल्लो पटक सन् २०२१ मा सैन्य तहको वार्ता भएको थियो। चीनले अमेरिकालाई ‘ताइवानलाई हतियारको आपूर्ति रोक्न’ र आफ्नो चिन्तालाई ‘गम्भीरताका साथ’ लिन अपील गरेको छ।
चीनको यो भनाइ यस्तो बेला आएको हो जब ताइवानमा आगामी दिनमा चुनाव हुन लागेको छ । यो भनाइले चीन र ताइवानबीचको दूरी बढाउन सक्ने विश्वास गरिएको छ ।
चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ तर ताइवानले आफूलाई मुख्य भूमि चीनबाट अलग ठान्छ।
चिनियाँ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनले समानता र सम्मानको आधारमा अमेरिकासँग स्वस्थ र स्थिर सैन्य सम्बन्ध विकास गर्न चाहन्छ।”
सोही विज्ञप्तिमा अमेरिकाले चीनको चासोलाई गम्भीरताका साथ लिनुपर्ने र ताइवानको मुद्दामा बेइजिङले कुनै पनि छुट वा सम्झौता नगर्ने पनि भनिएको छ ।
चीनले अमेरिकाले एक चीन नीतिको प्रतिवद्धता पालना गर्नुपर्ने पनि जनाएको छ ।
Facebook Comment