एकै परिवारका ११ जना मृत अवस्थामा भेटिए, आत्महत्याको आशंका
काठमाडौं । पाकिस्तानबाट एउटा दर्दनाक घटना बाहिर आएको छ । यहाँ एकै परिवारका ११ जना घरमा मृत फेला परेका छन् । यो घटना खैबर पख्तुनख्वा प्रान्तको हो। घरायसी विवादका कारण विष सेवन गरेर उनीहरुको मृत्यु भएको आशंका गरिएको छ ।
उनीहरुको शव लक्की मारवत जिल्लाको तख्ती खेल टाउनमा रहेको एक घरबाट भेटिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुई महिला र दुई बालबालिका पनि छन् । प्रहरी टोलीले घर पूरै सिल गरेको छ ।
घरायसी विवादका कारण यी व्यक्तिले दुई दिनअघि खानामा विष मिसाएर सेवन गरेको प्रहरीको आशंका छ । मृतकको परिवारका एक सदस्यले दुई दिनअघि वजिरिस्तानबाट खाना किनेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
स्थानीय स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले घरायसी विवादका कारण यो घटना भएको जनाएको छ ।
प्रदेशका कार्यवाहक मुख्यमन्त्री न्यायधिश (निवृत्त) अरशद हुसेनले यस विषयमा आईजीपीसँग विस्तृत प्रतिवेदन मागेका छन् । उनले घटनामा संलग्न दोषीलाई यथाशीघ्र पक्राउ गर्ने बताए ।
Facebook Comment