परिवर्तित रहनसहन र बोलीचाली
विश्वमा १९ औँ शताब्दीसम्म पनि परापूर्वकालदेखि चलिआएका चलन, रहनसहन र बोलीचालीमा खासै परिवर्तन आएको थिएन।
यसो हुनुका प्रमुख कारणमा यातायातको विकास आजको स्तरमा नहुनाले एक ठाउँबाट अर्को ठाउँमा खासै आवत जावत नहुनु र आमसञ्चारका साधन पनि नगण्य हुनु हुन्।
ठूला ठूला महामारी समेत त्यतिबेला मानिसहरूको आवत जावत एक ठाउँ वा मुलुकबाट अर्को ठाउँमा निकै कम हुने भएकोले एउटै महादेश वा कुनै क्षेत्रमा मात्र सीमित हुने गर्दथे। विश्वका सबैजसा मुलुकहरू आआफ्ना धर्मकर्म र रितिरिवाज तथा लवाइखवाइमा बाँधिएर बसेका थिए।
तर पनि निकै लामो दुरी तय गरेर व्यापारको सिलसिलामा घुमिरहने मानिसहरू तथा त्यतिबेलाका निकै साहसी अन्वेषकहरूको माध्यमबाट भने एक ठाउँको सभ्यता अर्को ठाउँसम्म केही हदसम्म भएपनि पैmलिन मद्दत पुगेको थियो।
युद्धको बेलामा विभिन्न मुलुकका सेनाको प्रवेशबाट तथा व्यापारको सिलसिलामा व्यापारीहरूको एक ठाउँबाट अर्को ठाउँमा आवत जावतले गर्दा भने केही हदसम्म धर्म, संस्कृति र नयाँ लवाइखवाइ बारे मानिसमा चेतना बढ्दै गएको हो।
सन् १९१८ को मार्चमा स्पेनीस फ्लुको महामारी अमेरिकाको क्यानसासबाट शुरु भएर त्यसको एक महिनापछि अमेरिकी फौजबाटै जर्मनी, फ्रान्स र बेलायतमा पुगेको तथा यी मुलुकका विश्वभर रहेका उपनिवेशमा पनि यिनै मुलुकका अधिकारी तथा सेनाबाट फैलिएको थियो।
त्यस्तै सन् १९४५ मा दोश्रो विश्वयुद्ध ताका र सो पश्चात युरोपमा पसेका अमेरिकी फोजले ह्यामबर्गर खाँदै सडकमा हिँडेको देखेपछि मात्र यस्तो खाना बारे युरोपेलीहरूले थाहा पाएका र शुरुमा सडकमा खाँदै हिँड्ने अमेरिकी कस्ता असभ्य रहेछन् भन्ने सोच आए तापनि पछि भने फास्टफूड कल्चरले विश्वव्यापी मान्यता पाएको थियो।
भारत तथा अफ्रिका र अन्य ठाउँका मुलुकहरूमा बेलायत तथा अन्य युरोपेली मुलुकहरूले आफ्नो साम्राज्य स्थापना गर्दै गएपछि नै ती उपनिवेशहरूमा तिनको सभ्यता पसेको र आफ्ना मौलिक सभ्यता र धर्ममा ह्रास आउँदै गएको हो।
दास बनाएर अफ्रिकाबाट अमेरिका र अन्य मुलुकमा लगिएका मानिसहरूले पनि आफ्ना सभ्यता उता लिएर गएका थिए। भारतमा बेलायती पसेपछि उनीहरूले भुटान, सिक्किम र नेपाललाई छाडेर पुरै भारतवर्षलाई एकीकरण गरे।
यसो हुँदा एकातर्फ आजको भारतको एक ठाउँको सभ्यता अर्को ठाउँमा समेत फैलियो भने बेलायती सभ्यतासमेत आयात भयो। यो भन्दा पहिले मुसलमान सम्राटहरूले पश्चिमका इरान, हेरात र उत्तरका मध्य एशियादेखि आएर आफ्नो धर्म र संस्कृति लाद्ने र यहाँका पुरातन धर्म र संस्कृतिलाई नष्ट गर्ने काम गरेका थिए।
वास्तवमा नेपालको एकीकरण वीर गोर्खाली फौजको नेतृत्व गरेर राजा पृथ्वीनारायण शाह र पछि राजकुमार बहादुर शाहले गरे जस्तै भारतको वास्तविक एकीकरण बेलायतले गरिदिएको हो।
बेलायती साम्राज्यको अन्त पश्चात भने भारतमा राजा-रजौटा प्रणाली हटाएर एक ढिक्का बनाउन सरदार बल्लभभाई पटेलको ठूलो हात रह्यो।
उनी केही वर्ष अझ बाँचेका र सत्तामा रहेका भए सिक्किम, भुटान र नेपालको अस्तित्व समेत रहन्थ्यो वा रहँदैनथ्यो, त्यो भन्न सकिँदैन। तर पछि इन्दिरा गान्धी प्रधानमन्त्री भएको बेलामा उनले सिक्किमलाई भारतमा गाभिन् भने नेपालका राजा महेन्द्रले नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा राखिरहन ठूलो मेहनत गरेका हुन्।
वास्तवमा नेपालको एकीकरण वीर गोर्खाली फौजको नेतृत्व गरेर राजा पृथ्वीनारायण शाह र पछि राजकुमार बहादुर शाहले गरे जस्तै भारतको वास्तविक एकीकरण बेलायतले गरिदिएको हो।
सरदार पटेलले बेलायत विरुद्ध गरेको आन्दोलन, भारतको निजामती सेवामा ल्याएका सुधार र अन्य धेरै राम्रा कामको कारण भन्दा पनि भारतलाई एकीकरण गरेर एक विशाल र शक्तिशाली राष्ट्र बन्ने बाटो खोलि दिएकाले नै आज उनलाई पुरै भारतले खुला मनले सम्झन्छन् र पुज्छन् भने उनको विशाल प्रतिमा जुन विश्वकै सबैभन्दा अग्लो हो, सोको अनावरण समेत केही वर्ष पहिले गरिएको थियो।
पटेलले गरेको कार्यले आजको भारतका साना साना राज्यका जनताहरूले त्यतिबेला आक्रोशित भएर उनलाई सत्तोसराप गरेका भए तापनि आजका नयाँ पिँढीले विशाल भारत मात्र देखेकाले उनलाई पटेल इश्वर समान नै लाग्दछन्।
त्यस्तै सिक्किमका पुराना मानिसहरूलाई आज पनि आफ्नो मुलुकलाई भारतले आफूसँग विलय गरेकोमा निकै दुख र पीडा हुन्छ भने लेण्डुपलाई उनीहरू निकै सराप्छन्।
तर त्यहाँका आजका नयाँ पिँढी भने त्यही लेण्डुप दोर्जेले गद्दारी गरेकोले नै आज उनीहरू विशाल भारतका जनता हुन पाएकोमा उ माथि अनुगृहित छन्। राम्रो नराम्रो भन्ने कुरा सब समयचक्रको खेल रहेछ।
भारतमा वा अन्य कुनै पनि देशमा आफ्नो देशको हितमा काम गर्ने यस्ता महान् व्यक्तित्वलाई गाली गर्ने वा उनको शालिक तोड्ने कार्यलाई ठूलै अपराधको रूपमा हेरिन्छ भने हाम्रो देश नेपालमा मुलुकलाई एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहलाई लुटेरा, डाँका, हत्यारा, क्रुर व्यक्ति र अन्य नानाथरीका आरोपसहित शालिक तोडफोड गर्ने र गाली गलौज गर्ने काम आम जनताको स्तरमा मात्र नभई राष्ट्रियस्तरका नेता तथा व्यक्तित्वहरूबाट पनि सगर्व हुन्छ। यो निकै निर्लज्ज र बर्बर कार्य हो। तर हाम्रा यस्ता अमानवीय आदत भने कुनै पनि मुलुकमा सरेको छैन र यस्तो कुकार्यको निम्ति नेपालीले निकै बदनामी कमाउनु परेको छ।
मुसलमान सम्राटहरूको भारतवर्षमा प्रवेशसँगै यहाँको धर्म मात्र प्रभावित नभएर संगीत, कला, भवन निर्माण, खानपानका परिकार, भेषभूषा र बोलीचालीमा समेत ठूलो बदलाव आयो।
त्यस्तै बेलायतीको आगमन पश्चात् सेनाका तालीम, हतियार, पोशाकदेखि कर्मचारी प्रशासन, यातायात तथा सञ्चार, प्रकाशन, पत्रपत्रिका, भाषा, संस्कृति, क्रिश्चियन धर्म तथा संस्कार, भवन, सजावटका सामान, विकास-निर्माण, विलासी सामान, पश्चिमा शिक्षा तथा स्वास्थ्य प्रणाली, पहिरन, खाना आदि पनि भारतमा भित्रिए तथा सती प्रथा र जाती पातीको भेदभाव जस्ता कुरिती हट्दै गए।
सन् १८१५ देखि नेपालीहरू बेलायती सेनामा भर्ती हुन थालेका हुन्। यसअघि पनि भिमसेन थापा तथा अन्य उच्च पदस्थ भारदार भारतमा नै बसोबास गरेर अंग्रेजी, फ्रेन्च, अन्य युरोपेली तथा भारतीय संस्कृति बारे जानकारी राखेर तथा ती मुलुकका संस्कृतिका केही पक्षहरूलाई व्यवहारमा पनि उतार्न थालेका हुन्।
भिमसेन थापाको टोप फ्रेन्च शैलीको थियो भने जुङ्गा तथा पहिरन पनि युरोपेली शैली कै। भारत गएका लाहुरेले तथा भारतमा अध्ययनको निम्ति गएका विद्यार्थीले नै नेपालका गाउँ गाउँमा उताका सभ्यताहरू भित्राएका हुन् भने नेपालीमा थोरै भएपनि राजनीतिक जागरण त्यसपछि नै भित्रिएको हो। पछिल्लो समयमा विदेशमा काम गर्ने कामदार तथा बृटिस सेनामा काम गर्ने फौजीहरूबाट पनि विश्वभरका सभ्यता नेपालमा भित्रिए।
कोट, पाइन्ट, बुट, बेल्ट, क्रिम, लिपस्टिक, रेल, मोटर, प्लेन, स्टोभ, सिनेमा, रेडियो, डाक्टर, बिस्कुट, लाठ साहेब, प्राइम मिनिस्टर जस्ता शब्दहरू त्यसपछि नै भित्रिएका हुन् नेपालमा। त्यस्तै सेनाका दर्जाहरू तथा बर्दी, बाजागाजा पनि पश्चिमा शैलीमा नै कायम हुन थाले भने फुटबल, क्रिकेट, व्याडमिन्टन, चेस, क्यारेम बोर्ड जस्ता खेलहरू पनि नेपालमा भित्रिए।
मुगलको फौजमा भर्ती हुनेलाई मुग्लान पसेको भन्ने र शिखहरूको सेनामा लाहोर जानेलाई लाहुरे भन्न थालियो। बेलायत जस्ता सम्भ्रान्त मुलुकले आजसम्म पनि उनका पुरातन तथा सामन्ती शब्दहरू जस्तै सर, ड्युक आदिलाई कायमै राखेका छन् भने आफ्ना धर्मगुरु तथा धार्मिक मान्यता र चर्चलाई हृदयदेखि मान्ने गर्दछन्।
तर हाम्रा काजी, सरदार, गुरूवर, हाकिम आदि मानकारी शब्दहरू मासिएर हामी कामरेड भनिन रुचाउँछौँ। अचम्म त धर्म मान्दैनौँ भनेर फलाक्ने कम्युनिष्ट पनि बुढेशकालमा भने अझ बढी धार्मिक हुने र त्यस्तै परे होली वाइन नै पनि खाने गर्दा रहेछन्।
राणाशासन कालमा बेलायती समृद्धिका साधनको उपभोग राणा तथा राजपरिवार र केही सीमित भारदारलाई मात्र गर्ने अधिकार थियो।
उनका भव्य दरवारमा जडान गरिएका आधुनिक सुखसयलका वस्तुहरू, वैठकका झाडपानस, सोफा, कुर्सी, गलैँचा, ऐना, कलाकृति, आधुनिक पाइखाना, उनले लगाउने पहिरन, विभिन्न खाले टोप तथा कोटहरू, कम्मरमा मोटो बेल्ट, बग्गी, महिलाका सौन्दर्यका प्रसाधन, गरगहना, चाँदतोडा तथा खानपानमा प्रयोग हुने धेरै वस्तुहरू बेलायत र भारतबाट नै आउने गर्दथे।
जसको कारण नेपालको मौलिक वस्तु, पुरातन मान्यता तथा भाषा र भेषभूषामा पनि ठूलो परिवर्तन आउन थाल्यो। दुनियादारले त्यस्तो सौख गर्न नपाए तापनि बाटोमा बग्गी र घोडामा सवार राणाहरूलाई हेरेर वा केही सीमित व्यक्ति जो भारतमा अध्ययनको निम्ति जान्थे तिनले त्यतै केही हदसम्म उपभोग गरेर सन्तोष मान्ने गर्दथे।
त्यतिबेला भारतमा नै पनि बेलायतबाटै सामान ल्याएर बेचिन्थ्यो र पछि पछि बिस्तारै तिनै बेलायती कम्पनीहरूको लगानीमा भारतमा उद्योगधन्दा खुल्न थाले।
दोश्रो विश्वयुद्धताका बेलायतबाट सामान ल्याउन मुस्किल पर्न थालेको तथा भारतमा रहेका विदेशी मालसामान र उपकरण बिग्रेमा पनि पार्टपुर्जा नपाइने भएपछि बिस्तारै त्यहाँ घरेलु कुटिर उद्योगहरू खुलेर त्यस्ता पार्टपुर्जा र सानातिना वस्तुहरू त्यतै बन्न थाले।
भारतमा पनि युरोपेली खानाहरू बेलायतीहरूले नै चिनाएका भए तापनि भारतका असंख्य प्रकारका खानाहरू पनि बिस्तारै विश्वभर नै गएर आज अन्तर्राष्ट्रिय व्यञ्जन नै बन्न गएका छन्।
जुद्धशमशेरको शासनकालमा भारतबाट अध्ययन सकेर नेपाल फर्केका केही युवाहरूले उतैका पाश्चात्य र भारतीय भेषमा काठमाडौँको सडकमा हिँड्दा घोडामा आवतजावत गर्ने राणाहरूलाई अभिवादन र वास्ता समेत नगरेको उजुरी परेपछि तिनलाई पक्रेर जुद्धको अगाडि पेश गर्दा उनले तिनका लुगा धुजा धुजा हुने गरी च्यात्न लगाएर एक पटकको निम्ति बाँकी सजाय माफी गरेका थिए अरे।
त्यस्तै जुद्धका परिवारका लागि खोलिएका बिदेशी बिस्कुटका ठूला टिन खोलेर केही बिस्कुट खपत भएपछि बाँकी भएको बिस्कुट दरवारका मन परेका भारदार तथा कर्मचारीहरूलाई आफ्ना परिवारलाई खुवाउनु भनेर दिन्थे रे। यसरी पाइने बिदेशी खाद्य तथा सामानको बक्सिसले गर्दा पनि त्यतिबेलाका दुनियादार कर्मचारीको इज्जत निकै माथि हुन्थ्यो रे। वीरतामा जमीन पाउने प्रथा त एकीकरणको बेलादेखि कै हो।
वि.सं. २००७ सालमा नेपालमा राणाशासनको पतन भएर प्रजातन्त्र आउनुका साथै नेपाल खुला हुँदै गएपछि आम जनताले पनि शिक्षा, स्वास्थ्य र थोरै मात्र भएपनि हुन थालेको विकासको प्रतिफल पाउन थाले भने विदेशी तौर तरिका र सभ्यतासँग परिचित पनि हुन थाले।
पश्चिमा प्रजातन्त्र र शासन शैलीको पनि आयात भयो भने भारतमा अवलम्बन भइरहेको बेलायती प्रशासनिक प्रणाली पनि लागू हुन थाल्यो। विकासे आयोजना तथा विदेशी विशेषज्ञ र विभिन्न मुलुकका स्वयम्सेवकहरू मुलुकका कुना काप्चामा गएर काम गर्न थालेपछि तिनका तौर तरिका तथा धर्म र संस्कृतिको प्रभाव पनि बिस्तारै पर्दै गयो।
प्रजातन्त्र प्राप्ति पश्चात नै मुलुकमा यातायातको विकास हुने थालेकोले भारत हुँदै नेपालकै एक ठाउँबाट अर्को ठाउँमा पुग्नु पर्ने वाध्यताको अन्त हुँदै गयो भने मुलुकका विभिन्न ठाउँका आआफ्ना संस्कृति पनि मूलधारमा मिसिँदै जान थाले।
अन्य मुलुकबाट भन्दा पनि भारतबाट नेपालमा बसाईँ सराई गर्नेको संख्या बढ्दै आज आधा जति जनसंख्या उनैको हुन लागि सक्यो भने उनीहरूको र हाम्रा विभिन्न जातजातिका संस्कृति पनि एकापसमा घुलमिल भएर नेपाल आज बेग्लै प्रकारको मुलुक हुन पुगेको छ।
तर पनि हाम्रो विशेषता के छ भने, सबै खालका नेपाली एकापसमा मिलेर नै बसेका छन्। समाजमा भाँडभैलो मच्चाउने, प्रलोभन दिएर धर्म परिवर्तन गराउने केही व्यक्ति मात्र नभई ठूला ठूला अन्तर्राष्ट्रिय संस्थासमेत यस्ता कुकार्यमा लागेका भए तापनि वास्तवमा अधिकांश नेपालीले यस्ता कुरीतिलाई फस्टाउन भने दिएका छैनन्।
आज सबै जातजातिका चाडबाड तथा सांस्कृतिक उत्सवहरू नेपालमा सबै मिलेर मनाउँछन् भने जातपातको भेदभावमा समेत निकै कमी आउँदै गएको छ। तेस्रो लिंगी समूदायलाई अधिकार दिने कुरामासमेत नेपाल धेरै मुलुकहरू भन्दा अगाडि छ।
यहाँ विश्वभरका खानाहरू पाइने र हाम्रा मौलिक खानाहरू लोपोन्मुख हुँदै गएका भए पनि आज आएर कैयन् पुराना खानपानहरू फेरि ब्युँतिन थालेका छन्। ढिँडो, गुन्द्रुक, यमरी, चटामरी, बारा, अनर्सा, पुरातन मिठाइहरू, जुजु धाउ, हलुवा-स्वारी, पुरी-तरकारी आदि आज नयाँ पिँढीका पनि प्रिय खाद्य वस्तु भएका छन्।
विगत ३ दशक जतिमा नेपालका नयाँ पिँढीको चेतनाको स्तरमा ह्वात्तै अभिवृद्धि हुनुका साथै आमसञ्चार र शिक्षाको पहुँचले गर्दा उनीहरू अघिल्ला पिँढीभन्दा निकै भिन्न हुँदै गएका छन्।
पुरातन संस्कृति र चालचलनबाट निकै पर पुगिसकेका उनीहरूलाई हामी जस्ता ५०-६० वर्ष पुगिसकेका मानिसहरूका अनुभव र कुरा पनि निकै नौलो र आश्चर्यजनकको लाग्ने गरेको छ।
यो नयाँ पिँढीलाई २०४६ साल र त्यसपछिका राजनीतिक परिवर्तन, नेपालका तत्कालीन शासक, नेता तथा विद्वान र त्यतिबेलातिरका इतिहास र परिवेश बारे समेत खासै कुनै ज्ञान छैन । हामीले बोल्ने लवज र उखान सुनेर उनीहरू छक्क पर्छन्।
विगत ४० वर्षमा विज्ञान तथा प्रविधिले विशाल फड्को मारेपछि अस्तित्वमा आएको यो पिँढी कम्प्युटर, ट्याब र मोवाइलमा नै हुर्केकाले यिनीहरूमध्ये धेरैलाई हामीले खेल्ने खेल, हाम्रा रोजाइका गीत र संगीत, हाम्रा जस्ता आनीबानी आदिमा पटक्कै चाख छैन र यस्ता कुरा सुन्ने पनि फुर्सद छैन।
अंग्रेजी बोल्न र नेपाली बोलेमा पनि आफ्नै पाराका स्ल्याङ्गहरू प्रयोग गरेर बोल्न रुचाउने उनीहरू गेमिङ, च्याटिङ र अत्याधुनिक संगीतमा नै बढी आनन्द लिने गर्दछन्।
नयाँ पिँढी मात्र होइन आजकलमा वयश्क, अर्धवैँशे तथा वृद्धवृद्धा पनि सामाजिक सञ्जाल तथा भिडियो गेम र अन्य कम्प्युटर र मोवाइलका खेलाको लतमा परेका छन्। घरपरिवारका सबै सदस्य मोवाइलमा नै झुण्डिरहेका हुन्छन् भने एकै ठाउँमा बसिरहेका सबैको खेला गोप्य नै हुन्छ।
एक प्रकारले प्रविधिले गर्दा एक्ला तथा वृद्धवृद्धाको एकाङ्गीपना निकै घटेको छ भने समाज र परिवार एक्ला एक्लै पनि हुँदै गएका छन् र कैयन् प्रकारका पहिले नसोचिएका सामाजिक बिकारका घटनाहरू पनि छर्लङ्गिन थालेका छन्।
केही महिना अघि एउटा अस्पतालमा बिरामी कुर्ने क्रममा केही कलिला नर्सहरूसँग कुरा गरिरहँदा मैले डा. रामवरण यादव जस्ता नेपालका राष्ट्रपति भइसकेका व्यक्ति कुनै बेला चिकित्सक थिए र उनी वी.पी.का पनि व्यक्तिगत चिकित्सक थिए भन्दा रामवरणलाई केहीले त चिनेका रहेछन् तर वी.पी. भन्ने नाम सुन्दा उनीहरू निकै उत्साहित भएर ‘वाव! बिपुल पोखरेलको डाक्टर?’ भन्न थाले।
वास्तवमा उनीहरूले बिपुल क्षेत्री भन्ने गायकको डाक्टर भनि ठानेका रहेछन् जस्तो लाग्यो तर त्यति महान् विश्वेश्वरप्रसाद कोइराला बारे त कुनै जानकारी नै रहेनछ उनीहरूलाई। हाँसो लाग्नुका साथै नैराश्यता पनि छायो।
हल गोरु, हलो, घट्ट, पँधेरो, कोल, ढिकी, ओखल, थुन्चे, दाम्लो, तामदानी, कसौँडी, ताप्के, करुवा, अङ्खरा, गाग्री, सुराही, कोपरा, माना, पाथी, छटाक, सुको, मोहर, मोरु, दमचुलो, टुकी, लालटिन, घोप्टे, घुँयेत्रो, खोपा, खोपी, चदुवा, लङ्गौटी, पाखी, काम्लो, सुकुल, चकटी, गुण्टा आदि जस्ता सयौँ शब्दहरू त प्रविधिको फड्कोसँगै नयाँ पिँढीलाई मात्र होइन, पुरानालाई पनि अचम्मका लाग्ने भइसके।
हिजोआज विवाहमा दुलहीले साडीको साटो भारतीय लेहेङ्गा तथा दुलाहाले दौरा-सुरुवालको सट्टा पश्चिमा सुट र पूर्वीय कुर्ता–सुरुवाल र अझ आँखामा गगल्स लगाउने चलन छ। मेहेन्दी तथा संगीत जस्ता भारतीय संस्कार पनि हाम्रा बिहेका अंश बन्न थालेका छन् भने जातपात र दाइजो लोप हुँदै गएका छन्।
केही दशक अघिदेखि गृहिणीले धोतीको साटो कुर्तासलवार र गाउन लगाउन थालेका छन् भने उमेर पाका भएका पुरुषले पनि पाइन्ट, कमिज, ट्रयाक सुट, ज्याकेट लगाउन थालेका छन्।
छोटा स्कर्ट, कसिला पाइन्ट र टिसर्ट पनि निकै सामान्य भइसके भने पहिले पहिले दबिएर बसेका शहरी युवतीहरूलाई गढेर हेर्नु पनि युवाहरूको लागि अभिशाप बन्दै छ अधिकार र कानुनको अतिशयताले गर्दा। सबै क्षेत्रमा आमुल परिवर्तन आएको भए पनि नेपालको कानुनी क्षेत्र राणाशासनकै पाराको पुरातन र घुमाउरो छ।
दक्षिण एशियाका भारत, पाकिस्तान वा अन्य कुनै पनि मुलुकले आफ्ना संस्कृति, परम्परा र संस्कार तथा कला, साहित्य र धर्मलाई जोगाएर राख्न निरन्तर प्रयत्न गरिरहेका हुन्छन् भलै त्यहाँ यी कुरामा स्वतन्त्रता पनि छ।
अमेरिका तथा युरोप जस्ता अत्याधुनिक प्रविधिलाई अँगाल्ने मुलुकमा पनि जथाभावी धर्म परिवर्तन गर्न वा आफ्नो परम्परा नै ध्वस्त हुने कार्य गर्न कसैलाई छुट दिइँदैन।
प्रजातन्त्र आजको विश्वको उत्कृष्ट राजनीतिक तथा सामाजिक व्यवस्था भए तापनि खुलापन र स्वतन्त्रताको नाममा मुलुकको इतिहास, मूल्य र मान्यता नै सखाप हुने काम गर्ने अधिकार कतै पनि दिइएको हुँदैन, बरु यस्तो गर्नेका लागि त कडा कानुन पो बनाइएको हुन्छ।
भाँडभैलो, नग्न नाच, गालीगलौज, तोडफोड, आगजनी, अग्रजको तौहिन, जातीय, धार्मिक र सांस्कृतिक घृणा फैलाउने तथा दंगाफसाद गर्ने कार्य आदिलाई नेपालको सम्बिधान र कानुनले वर्जित गरेको भए तापनि यहाँ यी कुरा सर्वसुलभ रूपमा देख्न पाइन्छन् र कैयन् यस्ता कुकार्यलाई भित्र भित्र राज्य, नेता, विदेशी र भित्री राजनैतिक शक्ति तथा उच्छृङ्खल तत्वले समेत टेवा दिइरहेका घटनाहरू बेला बेलामा छर्लंग हुन्छन्।
प्रविधि र यातायात तथा सञ्चारले गर्दा विश्व साँघुरिँदै गएकोले संसारभरको पहिरन, खानपान, रहनसहन, संस्कार, शिक्षा, कला, साहित्य, संगीत सबै कुरा उस्तै उस्तै हुँदै गएको छ।
आजका नयाँ पिँढी पनि समयको प्रवाहसँगै पुराना हुँदै जानेछन् भने अर्का झन् नयाँ पिँढीको आगमन हुनेछ र झन् नयाँ नयाँ चालचलन र रितिरिवाज थपिँदै नै जानेछन्।
यो सब जीवनको एक अभिन्न हिस्सा नै हो। तर सरकार, सञ्चार माध्यम, समाज, अभिभावक वा विद्यालय र शिक्षकहरूको दायित्व केमा पनि हुन्छ भने, आफ्ना कतिपय परम्परागत चलन, रितिरिवाज र संस्कारलाई अब व्यवहारमा ल्याउन नसकिने भए पनि तिनको बारेका ज्ञान र जानकारी भने नयाँ पिँढीलाई दिइ नै रहनु पर्दछ। यसरी नै इतिहास, परम्परा र संस्कार को हस्तान्तरण र सम्वद्र्धन हु्ँदै जान्छ।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment