ओमानको समुन्द्रमा तेल ट्याङ्करमा हतियारधारीको आक्रमण, जहाजको रुट इरानतर्फ परिवर्तन
काठमाडौं । ओमानको तटबाट करिब ९२ किलोमिटर पूर्वमा र सोहर बन्दरगाह नजिकै ‘चार देखि पाँच सशस्त्र व्यक्ति’ले एउटा तेल ट्याङ्करलाई निशाना बनाएको सूचना प्राप्त भएको बेलायती सिपिङ कमर्शियल अपरेसन विभागले बताएको छ ।
यस रिपोर्टका अनुसार, “सशस्त्र आक्रमणकारीहरूले सैन्य शैलीको वर्दी र कालो मास्क लगाएका थिए।”
यसैबीच, इरानका केही मिडिया प्लेटफर्महरूले तेल ट्याङ्करलाई “जफत” गरेको बारेमा रिपोर्ट गरेका छन्। इरानले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।
बेलायतको कमर्शियल सिपिङ अपरेशन्स अथोरिटीले यो रिपोर्टपछि जहाजसँग थप सम्पर्क गर्न नसकेको र अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ।
ब्रिटिश सामुद्रिक सुरक्षा कम्पनी (एम्ब्री) ले पनि भन्यो “यो ट्याङ्कर पहिले तेल बोकेको आरोपमा इरानले मुद्दा चलाएको थियो र संयुक्त राज्यले कब्जा गरेको थियो।”
यस संगठनका अनुसार मार्शल टापुको झण्डा बोकेको यो तेल ट्याङ्करले इरानको जास्क बन्दरगाहतर्फ आफ्नो रुट परिवर्तन गरेको छ । युरो न्यूजले पनि लेखेको छ, “सशस्त्र व्यक्तिहरूले कब्जा गरेको तेल ट्याङ्कर इरानी जलक्षेत्रतर्फ अघि बढेको छ।”
यो ट्याङ्करले कच्चा तेल बोकेको थियो र इराकको बसरा बन्दरगाहमा लोड गरेपछि टर्कीतर्फ गइरहेको थियो तर पछि बाटो परिवर्तन गरेको थियो ।
यस प्रतिवेदनका अनुसार यो ट्याङ्कर सम्भवतः ‘सुएज राजन’ नामको त्यही ट्याङ्कर हो, जुन गत वर्ष मे ३० तारिखदेखि अमेरिकाको ह्युस्टनबाट ८० किलोमिटर टाढा रहेको ग्याल्भेस्टनमा रोकिएको थियो र अमेरिकाले प्रतिबन्धको कार्यान्वयनसँगै नियन्त्रणमा लिएको थियो । त्यस समयमा, इरानी अधिकारीहरूले चेतावनी दिएका थिए कि उनीहरूले ‘प्रतिशोधात्मक’ कारबाही गर्नेछन्।
Facebook Comment