अमेरिका र बेलायतले यमनमा हुथी विद्रोहीको आधार शिविरमा आक्रमण गर्न थाले
काठमाडौं । अमेरिका र बेलायतले केही समयअघिदेखि नै यमनमा हुथी विद्रोहीको अखडामा आक्रमण गर्न थालेका छन्, जसले लाल सागर हुँदै जाने जहाजलाई निशाना बनाएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यमनको राजधानी साना, सादा र धामार सहरका साथै होदेइदाह प्रान्तमा आक्रमण भएको छ। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले यी आक्रमणहरू विमान, जहाज र पनडुब्बीबाट गरिएको बताएको छ।
अमेरिका र बेलायतको आक्रमणको पुष्टि गर्दै एक हुथी अधिकारीले यसलाई ‘अमेरिकी-यहूदी-ब्रिटिश आक्रमण’ भनेका छन्।
गाजामा इजरायलको आक्रमणबाट आक्रोशित हुथी विद्रोहीहरूले विगत केही हप्तादेखि लाल सागर हुँदै जाने जहाजहरूलाई निशाना बनाउँदै आएका छन्। त्यसपछि पहिलो पटक इरान समर्थित संगठनविरुद्ध कारबाही गरिएको हो ।
अमेरिका र बेलायतका यी आक्रमणका सम्बन्धमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विज्ञप्ति जारी गर्दै दुई देशको यो संयुक्त सैन्य कारबाहीको उद्देश्य हुथी विद्रोहीको क्षमतालाई कम गर्नु रहेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, यी आक्रमणहरूले ‘मानव रहित हवाई सवारी साधन, मानवरहित विमान, ग्राउण्ड अट्याक क्रुज मिसाइलहरू, तटीय निगरानी रडार र हुथी विद्रोहीहरूको आकाश निगरानी प्रणाली’ लाई निशाना बनाएको छ।
प्रोस्टेट क्यान्सरको शल्यक्रियाका लागि अस्पतालमा भर्ना भएका रक्षामन्त्री लोयड अस्टिनले त्यहाँबाट अपरेशनको सुपरिवेक्षण गरेको अमेरिकी रक्षा अधिकारीले बताएका छन् ।
यो कारबाही अघि रक्षामन्त्रीले विगत तीन दिनमा राष्ट्रपतिसँग दुईपटक कुरा गरेको पनि यी अधिकारीले बताए ।
यी आक्रमणहरू सुरु भएपछि साउदी अरेबियाले अमेरिका र उसका सहयोगीहरूलाई संयम अपनाउन आग्रह गरेको छ।
साउदी अरेबियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देश यी आक्रमणबाट चिन्तित रहेको र स्थितिको निगरानी गरिरहेको जनाएको छ।
Facebook Comment