इराकबाट टर्की जाँदै गरेको तेल ट्याङ्कर इरानको नियन्त्रणमा, कच्चा तेल महँगो भयो
काठमाडौं । इरानले बिहीबार बिहान ओमानको तट नजिकै इराकबाट टर्कीतर्फ तेल बोकेर गइरहेको जहाजलाई नियन्त्रणमा लिएको छ । यो घटनापछि कच्चा तेलको मूल्यमा करिब दुई प्रतिशतले वृद्धि भएको छ ।
ब्रेन्ट क्रूडको मूल्ययो २.१ प्रतिशतले बढेर प्रति ब्यारेल ७९ डलर पुगेको छ।
हुथी विद्रोहीको आक्रमणका कारण लाल सागरमा आवतजावतमा परेको अवरोधका कारण समस्यामा परेका पश्चिमा देशहरू विशेषगरी बेलायतको समस्या इरानको यो कारबाहीले थप बढ्न सक्छ ।
यी समस्याका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल १० डलर र प्राकृतिक ग्यासको मूल्य २५ प्रतिशतले बढ्न सक्ने बेलायतको वित्त विभागले अनुमान गरेको बीबीसीले जनाएको छ ।
युरोप ग्यास आपूर्तिका लागि खाडीका देशहरूमा धेरै निर्भर छ। यस्तो अवस्थामा पछिल्लो घटनापछि मुद्रास्फीति बढ्ने सम्भावना छ ।
युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसनका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान ७:३० बजे सैन्य पोशाक लगाएका चार वा पाँच जना मुखौटाधारी व्यक्तिले ओमानको खाडीमा रहेको इराकको बसराबाट टर्कीतर्फ जाँदै गरेको तेल ट्याङ्करलाई नियन्त्रणमा लिएका थिए।
इरान ओमानको खाडीको उत्तरमा अवस्थित छ भने ओमान दक्षिणमा अवस्थित छ। यो ट्याङ्कर ओमानको तटबाट ५० समुद्री माइल टाढा समातेर इरानको बन्दर–ए–जास्क बन्दरगाहमा लगिएको थियो ।
ट्याङ्करट्रयाकर्सले यो ट्याङ्करलाई सेन्ट निकोलसको रूपमा पहिचान गरेको छ। यसमा मार्शल टापुको झण्डा छ ।
Facebook Comment