अमेरिकाले फेरि हुथी विद्रोहीको स्थानमा हवाई आक्रमण गर्यो
काठमाडौं । अमेरिकाले शनिबार पनि यमनमा हुथी विद्रोहीको स्थानमा हवाई आक्रमण गरेको छ । अमेरिकी सेनाले शनिबार स्थानीय समय अनुसार बिहान ३ बजेर ४५ मिनेटमा यी हमला गरिएको बताएको छ ।
सेनाका अनुसार रेड सीमा रहेको अमेरिकी नौसेनाको युद्धपोत यूएसएस कार्नीबाट टोमाहक मिसाइल प्रयोग गरी हमला गरिएको हो ।
यसअघि हुथी विद्रोहीको टिभी च्यानल अल–मसिराहले आज बिहानै यमनको राजधानी सानामा हवाई आक्रमण भएको जानकारी दिएको थियो ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हुथी विद्रोहीलाई ‘आतंकवादी’ संगठन भनेका थिए ।
उनको भनाइ महत्वपूर्ण छ किनभने राष्ट्रपति बनेको एक महिनाभित्र जो बाइडेनले ट्रम्प सरकारको निर्णय उल्टाइदिएका थिए । ट्रम्प सरकारले हुथी विद्रोहीलाई ‘विदेशी आतंकवादी संगठन’ भनेर लेबल लगाएको थियो।
बाइडेनले चेतावनी दिएका छन् कि यदि हुथी विद्रोहीहरूले यस्तो क्रूर मनोवृत्ति (जहाजमा आक्रमण) जारी राखे भने, अमेरिकाले उनीहरूलाई जवाफ दिनेछ।
मध्यपूर्वमा कच्चा तेलको मूल्य बढेको बारे उनले आफू निकै चिन्तित रहेको बताए ।
पेन्सिलभेनियाको भ्रमणमा रहेका बाइडेनले पत्रकारहरूसँग कुरा गर्दै यमनमा भएका आक्रमणलाई ‘सफल’ भनेका छन् । उनले यस आक्रमणमा अहिलेसम्म कुनै पनि सर्वसाधारणको ज्यान नगएको दाबी गरेका छन् ।
हुथी विद्रोहीका सैन्य प्रवक्ताले अमेरिका र बेलायतको संयुक्त कारबाहीमा हालसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको र छ जना घाइते भएको सञ्चारमाध्यमलाई बताएका छन् । तर ती व्यक्तिहरू को हुन् भनेर उनले बताएनन्।
अमेरिकी सेनाका एक वरिष्ठ अधिकारीले यमनका ३० भन्दा कम स्थानमा हवाई हमला गरिएको बताएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन् कि यो क्षेत्रमा द्वन्द्व बढाउन चाहँदैन, तर यसले हुथी विद्रोहीहरूलाई आक्रमण गर्न अनुमति दिन सक्दैन।
अर्कोतर्फ, हुथी विद्रोहीहरूले लाल सागरमा रहेका जहाजहरूमा आक्रमण जारी राख्ने बताएका छन्।
Facebook Comment