भारतीय कांग्रेसको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन इम्फाल वेस्टबाट शुरू

डिसी नेपाल
१ माघ २०८० १२:३३

नयाँदिल्ली। भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले सन् २०२४ को आम निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रव्यापी पदयात्रा’ सोमबार इम्फाल वेस्टबाट शुरू गरिएको छ। कांग्रेसको दोस्रो चरणको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन हो।

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पार्टीका वरिष्ठ नेता राहुल गान्धीले ‘भारत जोडो न्याय यात्रा’ अर्थात् ‘भारत एकता न्याय मार्च’ को आइतबार उद्घाटन गरेका थिए। गत बर्ष मणिपुरमा भएका जातीय हिंसाका कारण १८० भन्दा बढीको ज्यान गएको थियो र हजारौं घरबारविहीन भएका थिए।

गान्धीले राज्यको थौबल जिल्लाबाट पदयात्रालाई उद्घाटन गरेका थिए। उनले मणिपुरमा शान्ति र सद्भाव ल्याउने प्रतिज्ञा गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मणिपुरको भ्रमण नगरेको भन्दै कटाक्ष गरे।

उनले भने, “लाखौं मानिसले क्षति बेहोर्नुपर्‍यो, तर प्रधानमन्त्री यहाँ आँसु पुछ्न, हात समात्न वा अँगालो हाल्न आउनुभएको छैन।”

“तपाईंको पीडा उनीहरूको पीडा होइन,’ गान्धीले प्रधानमन्त्री र उनको दलका नेतातर्फ संकेत गर्दै भने।

उनले भने, “मणिपुरका जनताले भोगेको पीडा हामीले बुझेका छौं। हामी चोट, दुःख बुझ्छौं। हामी जसको लागि यो राज्य परिचित थियो उनीहरूबीच सद्भाव, शान्ति र स्नेह फिर्ता ल्याउनेछौं।”

पलयात्राको लक्ष्य ६६ दिनमा छ हजार ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्नु रहेको छ। मार्च २० मा भारतको आर्थिक राजधानी मुम्बईमा यसको समापन हुनेछ।

सन् २०२२ को सेप्टेम्बरमा गान्धीले करिब १५० दिनमा चार हजार किलोमिटरको दूरी पार गरेर यस्तै अभियान चलाएका थिए। जनवरी २०२३ मा समाप्त भएको पहिलो पदयात्राले कांग्रेससजनबीच सकारात्मक प्रतिक्रिया पाएको थियो। पदयात्राले देशभरिका दलका हजारौं नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई काङ्ग्रेसको भूमिकाप्रति आशावादी बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *