चीनको कोइला खानीमा ठूलो दुर्घटना, अहिलेसम्म १० जनाको मृत्यु
काठमाडौं । चीनको हेनान प्रान्तमा फेरि एकपटक ठूलो दुर्घटना भएको छ । यहाँको कोइला खानी भत्किँदा एक दर्जनभन्दा बढी मजदुर पुरिएका छन् । उद्धार कार्य जारी रहेको र भग्नावशेषबाट उनीहरुको उद्धारका लागि हरसम्भव प्रयास भइरहेको छ ।
कोइला खानीको केन्द्र मानिने हेनानको पिङडिङशान सहरमा उक्त दुर्घटना भएको हो । दुर्घटना के कारणले भयो भन्नेबारे खासै प्रष्ट भइसकेको छैन, तर तत्काल उद्धार कार्य पूरा नगरे र खानी सञ्चालन गर्न नसके कोइला आपूर्ति श्रृंखला अवरुद्ध हुन सक्छ।
चीनमा कोइला खानीमा दुर्घटना हुनु सामान्य कुरा हो। यस्ता दुर्घटनामा सयौं मजदुरको पनि ज्यान गएको छ । सान्जी प्रान्तको कोइला खानीमा भएको दुर्घटनापछि सी जिनपिङ प्रशासनले सुरक्षा व्यवस्था बढाउन निर्देशन दिएको थियो । जसका कारण चीनमा कोइलाको मूल्य पनि बढेको छ ।
चिनियाँ आपतकालीन व्यवस्थापन ब्यूरोले एक विज्ञप्ति जारी गर्दै शुक्रबार दिउँसो २ः५५ मिनेटमा खानीमा कामदार काम गरिरहेका बेला दुर्घटना भएको र त्यसयता उद्धार कार्य जारी रहेको जनाएको छ ।
हेनान प्रान्तस्थित सुरक्षा निकायका अनुसार कोइला र ग्यास विस्फोटका कारण दुर्घटना भएको हो । शनिबार दिउँसो ३ बजेसम्म दुर्घटनामा १० मजदुरको मृत्यु भइसकेको र ६ मजदुरको खोजी भइरहेको छ । यद्यपी घटनाको वास्तविक कारण यो लेख्दासम्म खुल्न नसकेको तर उद्धार कार्य जारी रहेको स्थानीय निकायले जनाएको छ ।
चिनियाँ मिडियाका अनुसार दुर्घटनाको समयमा खानीमा ४२५ जना काम गरिरहेका थिए । तीमध्ये १६ जना खानीभित्र फसेका थिए । जसमध्ये १० जनाको मृत्यु भएको छ । बाँकी ६ जनाको सकुशल उद्दारका लागि उद्धार कार्य जारी रहेको छ ।
Facebook Comment