टोखामा ‘चाकु दिवस’ मनाइयो
काठमाडौं । ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइएको छ । नेवाः गुठी टोखाको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आज ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै टोखा नगर प्रमुख प्रकाश अधिकारीले टोखाको चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिकाले पहल गरिरहेको बताए । उनले टोखाको नेवार समुदायले आफ्नो संस्कृतिलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै सराहना व्यक्त गरे । रञ्जना लिपिलाई अगाडि बढाउन टोखा नगरपालिका लागेको उनको भनाइ थियो । उनले टोखाको संस्कृति धरोहरलाई जोगाउनका लागि टोखा नगरपालिका लागिरहेको बताए ।
नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व जोगाइराख्न टोखाको नेवार समुदायले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्वपूर्ण योगदान गर्ने विशिष्ठ व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
सोही अवसरमा नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई नगद रु ५० हजारसहित सम्मान गरिएको थियो । टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई रु २५÷२५ हजार नगदसहित सम्मान गरिएको थियो ।
टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख जोगाएका खेलाडी, हास्यव्यङ्ग्य विद्या, मौलिक घर संरक्षणकर्ता र विभिन्न खलःलाई समेत सम्मान गरिएको थियो । नेवाः गुठीले टोखाको संस्कृति, सम्पदा, सङ्गीत, वाद्यवादन, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको थियो ।
नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले टोखाभित्र उत्पादित सामग्रीलाई चाकु दिवसमा प्रदर्शन गरिएको जानकारी दिए । कार्यक्रममा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनी गरिएको थियो ।
काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । उखुखेती हुने टोखामा लिच्छवीकालको पाँच सय १९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । हाल टोखामा १४ चाकु उद्योग रहेका छन् ।
Facebook Comment