प्रचण्ड सरकारको सफलता, असफलता र चुनौती

शंकरप्रसाद रिजाल
२ माघ २०८० ९:३५

सशस्त्र द्वन्द्वको नेतृत्व गर्दै शान्ति प्रक्रियामा आएपछि तेस्रो पटक प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो कार्यकालको सुरुवातमा केही आशालाग्दो कामको सुरुवात गरेका थिए।

सुरुमा एमालेसँग मिलेर प्रधानमन्त्री बनेका प्रचण्ड पछि पुरानै गठबन्धनलाई निरन्तरता दिन पुगे। गठबन्धनको सरकार भएको हुनाले कतिपय बाध्यात्मक अवस्थामा काम गरेर पनि आशा जगाएका प्रधानमन्त्री प्रचण्डले बीचमा सत्ता जोगाउने बाहेक केही उपलब्धी देखिएको छैन।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रचण्डले आफूले गरेको कामको फेहरिस्त प्रस्तुत गरेपनि जनताको दैनिक जीवनका कुनै परिवर्तन देखा पर्न सकेको छैन।

कर्मकाण्डी काम नभएका भने पक्कै होइनन्। तर राष्ट्रलाई मार्ग दर्शन गर्ने कुनै पनि संस्थाको समृद्धि र बिकास भने हुन सकेन। प्रधानमन्त्री हुनु भन्दा पहिले आजभन्दा १६ बर्ष अगाडि उनले भनेको ‘१० बर्ष भित्रमा देशलाई दक्षिण एसियाको सबैभन्दा धनी बनाउने” बाचा गरेका थिए।

आज तेस्रो पटकको प्रधानमन्त्री कार्यकालमा उनले देशलाई कहाँबाट काहा पुयाए त्यो सबै नेपालीले देखेकै विषय भयो। प्रत्येक पटकको कार्यकालमा उनले देशलाई अग्रगमनको नारा दिने प्रचण्डले मुलुकको बिकासमा नभई आफ्नो पार्टी र आफुलाई कसरी बलियो बनाइ सधैं सत्ता सरकार वरिपरि रहन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेका छन्।

सादगी जीबन त्याग र तपस्या र नम्र बोली उनमा कतै भेटिँदैन। उनको कार्यकालमा कतिवटा उद्योग खोलिए, कतिवटा कारखाना खोलिए, कुन कुन कुरामा संस्थागत बिकास भयो, कुन कुन कुरामा देश आत्मनिर्भर बन्ने कुरामा सरिक भयो, कति भ्रष्टाचारका फाइलहरु खोलिएर कति जनालाई दण्ड सजाय मिल्यो त्यो आजसम्म कुनै नेपालीले देख्न र हेर्न पाएका छैनन्।

तीन पटक प्रधानमन्त्री बनेर हाल तेस्रो पटकको एक वर्षे कार्यकाल पूरा गरेका प्रचण्डलाई यो एक ठूलो चुनौतीको रुपमा ठडिएको छ। यो राजसंस्था पुनः जागेर आउनु कुनै सानो कुरा होइन।यो सपना होइन बिपना नै हो र यो नली खुट्टाको हाड पनि होइन, नेपालको इतिहासमा २४० बर्ष निरन्तर शासन चलाई देशलाई निरन्तर बचाउँदै आएको उही राज संस्थाको संस्था हो।

हरेक चोटी प्रधानमन्त्री भए लगत्तै उनको पहाड फोड्ने किसिमको गर्जनले पहाड फोेरी बिकास हुनुको सट्टा भ्रष्टाचारका डुन्ग्रे मुसाकोमात्र जन्म भएको हामी पाउदछौं। देशमा भ्रष्टहरुको जगजगी छ। दलालको जगजगी बढेको छ। सरकारी काम काजमा ढिला सुस्ती दिनानुदिन बढिरहेको छ।

देश काण्डको पुलिन्दा बनेको छ। न्यायालय निरीह बनेको छ। आफ्नो चित्त नबुझेमा सबै मिलेर प्रधानन्यायाधीशलाई माहाभियोग लगाई सेवाबाट हटाउने चेष्टा गरिन्छ। न्यायालयमा पार्टी भागबण्डाको खेल खेलिन्छ। राजदूत भागबन्डाकै तरिकाले नियुक्त गरिन्छ।

थुनिएका हत्यारा ज्यानमारा केही समयपछि फूलमाला पहिरिएर जेलबाट बाहिरिन्छन्। देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको चरम अभावले दिनहुँ हजारौं युवा युबती रोजगारको लागि बिदेसिनु परेको छ।

देशमा आय आर्जन गर्ने कुनै पनि निकाय छैनन् र भएकापनि अस्त व्यस्त छन्। उनको राजकीय संरचनानुसार सरकार तीन तहमा रहेपनि समन्वयात्मक हिसाबले कहीं कतै काम भएको देखिँदैन।

स्थानीय सरकारहरुले आँटे गरेको काममा प्रदेश र संघीय सरकारको सहयोग रहेको देखिँदैन। देश सधैं धुँवा, धुलो र प्रदुषणले आक्रान्त बनिरहेको छ। अनेकौं निर्माण सामाग्रीहरु बाटोको दायाँ बायाँ अलपत्र अवस्थामा महिनौंदेखि अलपत्र पारेर थुपारिएको छ।

शिक्षामा नविनता र आधुनिकीकरण हुन सकेको छैन। स्वास्थ्यमा अस्पतालमा डाक्टर र नर्सहरुको सेवा पर्याप्त छैनन्। सेवागत वश्तुको एकनाशको मूल्य कतै छैन। व्यापारी नाफाखोर प्रवृत्तिमा मस्त छन्। कसैको कसैलाई भरोसा छैन। अर्थतन्त्र भर पर्दो छैन।

सीमित ब्यापारीको हातमा देशको ठूलो धन राशि थुप्रिएको छ। कैयौं संस्थाले सरकारलाई तिर्नु पर्ने करहरु छलिरहेका छन्। कुनै चिजबारे अनुसन्धानको थालनी छैन्। तर सरकार प्रत्येक दिन देशमा गणतन्त्र र लोकतन्त्रले देशको बिकास भैरहेको कुरा हरेक सभा सम्मेलन र समारोहमा गर्जिएर बोलीरहेका छन्।

संसारको सबै भन्दा जलश्रोतको धनी भएको देशमा आज पानी बिना मानिस हाहाकार मच्चाई रहेका छन्। आज नागरिकको अत्यधिक अपेक्षालाई सरकारले पटक्कै सम्बोधन गर्न सकेको छैन। आज पार्टीगत र व्यक्तिगत रुपमा बाहेक राष्ट्रको नीतिगत कुनै कुरामा पनि सम्बोधन भएनन्।

गणतन्त्रले नेताहरुको व्यक्तिगत, पारिवारिक र पार्टीको समुन्नत त भयो तर सर्बसाधारण जनता र राष्ट्रको स्तर झन् झन् खस्किँदै गएको छ। सरकार सधैं कर्मकाण्डकै काममा व्यस्त रहेको छ। नेता सबै डाइनामिक देखिए पनि राष्ट्रको लागि भने बिकासको शिलसिलामा गतिहीन नै साबित भएका छन्।

सबै जनताहरुको नजरबाट अप्रिय भैसकेका छन्। चाहे छ पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा हुन्, तीन पटक प्रधानमन्त्री भएका केपी शर्मा ओली हुन्, चाहे माधव नेपाल हुन् वा तीन पटक प्रधानमन्त्री हुनु भएका पुष्पकमल दाहाल।

उनीबाट ठूलो अपेक्षा राखेका जनताले हालसम्म केही सहुलियतको कुराहरु प्राप्त गर्न सकेका छैनन् भने समष्टिगत रुपमा प्रचण्ड सरकारको यो एक बर्षको कार्यकाललाई उपलब्धी र सफलताको दर्जामा राख्न सकिएको छैन।संबिधान बनेको आठ वर्ष बित्दापनि अब देशले के खोजेको हो, बिकास हुन यत्तिको गाह्रो परेको।

अझै देशले अर्को नेताको अपेक्षा राखेको छ जसले देशमा भ्रस्टाचार शून्यमा झार्न सकोस, जसले देशको संथागत बिकासमा आमुल परिबर्तन ल्याइ नैतिकताको पाठ सिकाओस्, जसले जनताको माग र आवाजलाई सुनोस् र बिबेकपूर्ण तरिकाले निर्णय र कार्यान्वयन गरोस्, जसले बिदेशी दवावलाई स्वीकार नगरी राष्ट्रको माटो हातमा लिई राष्ट्रिय झण्डाको मुनि बसी इमान, निष्ठा र धर्मले काम गरोस्। देशमा विद्यमान रहेको विसंगतिलाई बिबेकपूर्ण तरिकाले समाधान गर्न सकोस्।

तर यस्तो साहसी काम हालको प्रचण्ड सरकारको गर्जन र काम कारवाहीको तरिकाले हुन सक्ने सम्भाबना देखिँदैन। प्रचण्ड सरकारको एक बर्षे कार्यकाल तीब्र बिकासको सट्टा बेला बेलामा नयाँ शिराबाट काम थालनी गर्ने र नेपाललाई खाली अग्रगमनको बाटोतिर लैजाने भन्ने र देशलाई गणतन्त्र, लोकतन्त्र र धर्म निरपेक्षताको तिनपाते बेलपत्रको सपना देखाई रहने र आफू एक किसिमको अलार्मिस्ट (केही भयो कि अरुलाई दोष दिने) भइ खाली हटिसकेको राजसंस्थाका अनुयायीलाई र बिपक्षीमा रहेका पार्टीका सांसादलाई कामै गर्न नदिएको भनेर दोष दिने अनि सत्तामा टिकिरहने प्रबृत्ति छ।

आफू सिद्धान्तहीन रहेर फरक दृष्टिकोण राख्ने कांग्रेसको बुइ चढी सत्तामा सधैं रही रहने उनको धर्म देखिन्छ। उनलाई काम गरेर देखाउन ठूला पार्टी कांग्रेस र एमाले र सम्पूर्ण जनताले तीन तीन पटक देशको प्रधानमन्त्री बनाएकै हो।

तर हालसम्म कुनै तात्विक बिकास र सुधार नगरी उल्टो भ्रष्टाचार, घुसखोरी, बिभिन्न कान्ड आकासबाट बर्सेझैं बर्सिइरहेको र युवाहरु बिदेश पलायन भइरहेको अनि अरबौं बिदेशी मुद्रा बिदेशमा बगिरहेको छ। यो समस्टिगत अबश्थालाइ भित्रैदेखी औंल्याई हेर्दा उनको कार्यकालको उपलब्धि सफलता भन्दा असफलता नै बढी देखिन्छ।

यसो हेर्दा उनको जोश जाँगर भित्र जे भएपनि बाहिरी रुपमा प्रकट हुन सकेको छैन। देशमा आन्दोलनबाट आएको माओवादी र अन्य पार्टीलाई देश हाक्न सजिलैसँग राजा ज्ञानेन्द्रले आफ्नो श्रीपेच जनतालाई नासोको रुपमा सुम्पिएको र काम गर्न दिएकोमा पार्टीहरुको बिभिन्न चलखेल, मिलेमितो र आपसी समझदारीमा छ-छ महिना, एक बर्ष र दुई बर्ष पटके प्रधानमन्त्री बनेर देश पहिलाको भन्दा निक्कै दयनीय स्थितिमा पुगेकोले राजतन्त्र होइन राजसंस्थाका नायक फेरि मैदानमा उत्रिएका छन्।

गणतन्त्रका नायक तीन पटक प्रधानमन्त्री बनेर हाल तेस्रो पटकको एक वर्षे कार्यकाल पूरा गरेका प्रचण्डलाई यो एक ठूलो चुनौतीको रुपमा ठडिएको छ। यो राजसंस्था पुनः जागेर आउनु कुनै सानो कुरा होइन।यो सपना होइन बिपना नै हो र यो नली खुट्टाको हाड पनि होइन, नेपालको इतिहासमा २४० बर्ष निरन्तर शासन चलाई देशलाई निरन्तर बचाउँदै आएको उही राज संस्थाको संस्था हो।

यसलाई सधैं सरापी देशको बिकास नेपालले किमार्थ गर्न सक्दैन चाहे गणतन्त्र होस् वा लोकतन्त्र। कलियुगमा ‘संघौं शक्ति कलियुगे’। कलियुगमा शक्तिको एकटठा र समन्वय हुनु अत्यन्त लाभदायक हुन्छ।

यो सबै कुराहरुलाई ध्यानमा राखेर अबका दिनमा गर्जेर होइन, अर्कालाई दोष दिएर होइन, बिदेशीको गुलाममुखी बिचार लिएर होइन, अत्यन्त बिबेकशील र देशको एक राजनेता लि कुआन यु र माहाथीर मोहम्मद जस्तो जस्तो भै विद्यमान चुनौतीलाई चीर्दै सुधार गर्दै लैजाने शक्ति प्रचण्डलगायत नेपालका हालका अन्य नेताहरुमा सद्बुद्धि र सद्बिचार आओस भन्ने आशा राखेर आगामी दिनमा देशले छिट्टै बिकास र प्रगतिको बाटोको मार्ग प्रशस्त गरोस् भन्ने आम जनताको चाहना हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *