पीएम कप क्रिकेट : पुलिसको लगातार दोश्रो जित
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोश्रो जित निकालेको छ ।
मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गर्दै पुलिस क्लबले जित निकालेको हो । जितको लागि १ सय ६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउद ६२ रनमा नट आउट रहे । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४८.२ ओभरमा १ सय ६६ रनमा अल आउट भएको थियो । कोशीका सुजन थपलियाले १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।
त्यस्तै मुलपानी मैदानमा भएको अर्को खेलमा बागमतिले मधेश प्रदेशलाई ८६ रनले पराजित गर्यो । १ सय ९१ रनको लक्ष्य पछ्याएको मधेशले २९ ओभरमा सबै विकेट गुमाएर १ सय ४ रनमात्र बनायो । बागमतीका सूर्य तामाङले ह्याट्रिक गर्दै ६ विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ९० रन बनायो ।
त्यस्तै मंगलबार नै भैरहवा रंगशालामा भएको खेलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १ सय ३४ रनले पराजित गर्यो । २७८ रनको बिजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ३७ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै १ सय ४३ रन मात्र बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ७७ रन बनायो ।
प्रतियोगीता अन्तर्गत बुधबार मुलपानी मैदानमा बागमति प्रदेश र त्रिभुवन आर्मी तथा भैरहवा रंगशालामा लुम्बिनी र कर्णाली प्रदेशबीच खेल हुने छ । राउण्ड रोविन लिग फम्र्याटमा भइरहेको प्रतियोगीतामा ७ प्रदेश र ३ विभागीय टिम सहभागी छन् ।
Facebook Comment