जापानको विमानस्थलमा फेरि दुई विमान ठोक्किए, एउटामा थिए २७९ यात्रु

डिसी नेपाल
३ माघ २०८० १०:२३

काठमाडौं । जनवरी २ मा टोकियोको एउटा विमानस्थलमा दुईवटा विमान आपसमा ठोक्किएको दुई सातापछि जापानमा मंगलबार फेरि यस्तै दुर्घटना भएको छ ।

जापानको सरकारी मिडिया संगठन एनएचके (जापान ब्रोडकास्टिङ कर्पोरेसन)का अनुसार स्थानीय समय अनुसार साढे ५ बजे होक्काइडोको न्यू चितोसे एयरपोर्टमा दुर्घटना भएको हो । यद्यपी यस दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

एनसीएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिकका विमान होक्काइडो विमानस्थलमा आपसमा ठोक्किएपछि यो दुर्घटना भएको हो ।

समाचार एजेन्सी रोयटर्सले कोरियन एयरका एक अधिकारीलाई उद्धृत गर्दै भनेअनुसार यस विमानस्थलमा उडान गर्ने क्रममा यसको एउटा विमान क्याथे प्यासिफिक एयरवेजसँग ठोक्किएको थियो। कोरियन एयरको विमानमा २८९ यात्रु सवार थिए ।

क्याथे प्यासिफिकलाई उद्धृत गर्दै एनएचकेले दुर्घटनाको समयमा विमानमा कुनै यात्रु नभएको जनाएको छ। उक्त दुर्घटनापछि नयाँ चितोसे विमानस्थलका धेरै उडान रद्द गर्नुपरेको थियो ।

यसअघि जनवरी २ मा जापानको हानेदा विमानस्थलको धावनमार्गमा दुईवटा विमान ठोक्किएका थिए । उक्त दुर्घटनामा कोस्ट गार्डको विमानमा रहेका ६ जना चालक दलका सदस्यमध्ये पाँच जनाको मृत्यु भएको थियो ।

अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको विमान धावनमार्गमा पार्किङ गरिएको कोस्ट गार्डको विमानसँग ठोक्किएपछि दुवै विमानमा ठूलो आगो लागेको थियो ।

सौभाग्यवश, जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालिएको थियो ।

तर कोस्ट गार्डको विमानमा रहेका ६ जना चालक दलका सदस्यमध्ये पाँच जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *