इरानले पाकिस्तानमा आक्रमण गर्दा २ बालबालिकाको मृत्यु, पाकिस्तानले दियो गम्भीर परिणामको चेतावनी
काठमाडौं । पाकिस्तानले मंगलबार इरानको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको जनाएको छ । इरानले चरमपन्थी संगठन जैश अल-अदलसँग सम्बन्धित दुईवटा लक्ष्यलाई निशाना बनाएको जनाएको छ।
इरानको सेनासँग सम्बन्धित समाचार एजेन्सीले यो जानकारी दिएको छ । पाकिस्तानले इरानको कदमलाई गैरकानूनी भन्दै यसको गम्भीर परिणाम हुन सक्ने बताएको छ।
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनावर उल हक कक्कडले डाभोसमा इरानी विदेशमन्त्रीसँग भेट गरिरहेका बेला इरानले यो हमला गरेको हो ।
पछिल्ला केही दिनमा इरानले आक्रमण गरेको इराक र सिरियापछि पाकिस्तान तेस्रो देश हो । पाकिस्तानको विदेश मन्त्रालयले इरानका उच्च कूटनीतिज्ञलाई बोलाएको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै इरानलाई चेतावनी दिँदै भनेको छ, “हामी हाम्रो हवाई क्षेत्रको अप्रत्याशित उल्लङ्घन र देश भित्र आक्रमणको निन्दा गर्छौं।”
मन्त्रालयले भनेको छ, “यो पाकिस्तानको सार्वभौमसत्ताको उल्लङ्घन हो र यसले गम्भीर परिणाम निम्त्याउन सक्छ।”
यसअघि इरानी सरकारी सञ्चारमाध्यममा इरानी रिभोलुसनरी गार्ड कोरले पाकिस्तानमा रहेका चरमपन्थीहरू लुकेर बसेको दुईवटा ठाउँमा आक्रमण गरेको समाचार आएको थियो।
तर, पाकिस्तानी सामाजिक सञ्जालमा यो विस्फोट बलुचिस्तान प्रान्तमा भएको दाबी गरिएको छ ।
पाकिस्तानको पश्चिमी सीमा इरानसँग जोडिएको छ। दुवैले करिब ९०० किलोमिटर (५५९ माइल) लामो सिमाना साझा गर्छन्।
सिस्तान बलुचिस्तान प्रान्त इरानको पूर्वी सीमानामा पर्छ जुन पाकिस्तानको पश्चिमी बलुचिस्तान प्रान्तसँग जोडिएको छ। सिमाना नजिकका यी क्षेत्रमा जनसङ्ख्या निकै कम छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानको चेतावनीपछि इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
इरानको सेनासँग सम्बन्धित समाचार एजेन्सीले मंगलबार इरानले अतिवादी समूह जैश अल-अदलसँग सम्बन्धित दुईवटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ।
इरानको सरकारी एजेन्सी इरनाका अनुसार पाकिस्तानमा आक्रमणका लागि मिसाइल र ड्रोनको प्रयोग गरिएको थियो र यी आक्रमणहरू अतिवादी लुकेका दुईवटा ठाउँमा गरिएको थियो।
सरकारी सञ्चारमाध्यममा उक्त आक्रमणमा अतिवादी समूहको मुख्यालयलाई निशाना बनाइएको दाबी गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार यो मिसाइल आक्रमण हो जुन पाकिस्तानको दक्षिण-पश्चिममा बलुचिस्तानको एउटा गाउँमा भएको थियो।
यस भागमा पाकिस्तान र इरान दशकौंदेखि जैश अल-अदललगायत अन्य चरमपन्थी समूहहरूसँग लडिरहेका छन्।
सीएनएनमा प्रकाशित एक रिपोर्ट अनुसार , जैश अल-अदलले मंगलबार राति भनेको छ ‘इरानी रिभोलुसनरी गार्डले आक्रमणमा छ वटा आक्रमण ड्रोन र धेरै रकेटहरू प्रयोग गरेको थियो।’
आक्रमणमा दुईवटा घर ध्वस्त भएका थिए, जसमा जैश अल-अदल लडाकुहरूका छोराछोरी र पत्नीहरू बस्थे।
सीएनएनले भनेअनुसार जैश अल-अदलले टेलिग्राममा एक विज्ञप्ति जारी गरेर भनेको छ – आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन्। घाइते हुनेमा दुई महिला र एक बालक रहेका छन् । बालकको अवस्था गम्भीर रहेको बताइएको छ ।
इरानमा गत महिना सीमानजिकै रहेको इरानको रस्क सहरमा प्रहरी चौकीमा आक्रमण भएको थियो , जसमा एक दर्जनभन्दा बढी इरानी प्रहरी अधिकारी मारिएका थिए।
डनमा प्रकाशित समाचार अनुसार जैश अल-अदलले यस हमलाको जिम्मेवारी लिएको थियो।
Facebook Comment