अध्यात्मवादी चिन्तन र भौतिकवादी खोज

शंकरप्रसाद रिजाल
६ माघ २०८० ७:०१

अध्यात्मवादीहरु भन्छन्- ईश्वर छ। ईश्वरीय चिन्तनमा नै उनीहरु आनन्दित रहन्छन्। तर यो तर्कमात्र हो। यसको सजीवता हामी पाउन सक्दैनौं। भावना र अनुभूतिमानै यसको प्रमाण मानिन्छ। यसबाट भौतिकवादीलार्ई अत्यन्तै खुराक मिलेको छ।

यो संसारमा तर्कबाट जति अध्यात्मवादीहरुले छोपेका छन उत्तिनै बस्तुवादीहरुले पनि छोपेका छन्। दुवै आ–आफ्नो ठाउँमा तर्कातित छन्, आ–आफ्नो प्रमाणमा। दुबैका बलिया प्रमाण र प्रवचन संसारभरी जबजस्तको पाइन्छ।

तर जे होस् ईश्वरको अनुभूति गर्ने तरिका भारतका प्रसिद्ध महामुनी रामकृष्ण परमहंशले अर्का महान स्वामी बिबेकानन्दलार्ई सिकाएका थिए रे। रामकृष्ण परमहंश सिकाउँथे, आफूलाई शून्यमा लैजाउ, निरन्तर लाग अनि परमात्माको अनुभूति भैहाल्छ।

भित्रको तेस्रो आँखा खोल, परमात्माको परिकल्पना अवश्य हुन्छ। ‘म’ लाई बुझ र जान। यसबाट नै सबै ज्ञानको प्रस्फुटन हुन्छ भनेर सिकाउँदा स्वामी बिबेकानन्दले यसैबाट महाज्ञान प्राप्त गरी देवत्वमा समाहित भएका थिए।

अजब र गजब छ यो संसार र संसार चलाउने मालिकको यो दुनिया। जहाँ खोजी खोजी ईश्वरको त अनुभूति गर्न सकिन्छ भने अरु क्षणभंगुर बस्तुको त के कुरा। तसर्थ यो पृथ्वीमा नै बसी परमात्माको साक्षात्कार र अनुभूति गर्न सकिन्छ भन्ने कुरा सयौं महाज्ञानीले प्रमाणित गरिसकेका छन्।

ईश्वरको अनुभूति पाउन भिड संसारमा हैन, शून्य संसारमा बस्नु पर्दछ। किनकि ईश्वरको आगमन शून्यमा हुन्छ। किनकि ईश्वर शून्यतामा रमाउनु हुन्छ। ईश्वरको भौतिक रुपमा दर्शन होइन अभौतिक रुपमामात्र अनुभूति हुन्छ। ईश्वरको आवश्यकता र रुप आफ्नो आवश्यकता र कल्पनामामात्र पाउने हो। चाहे जोसुकैले हो।

भगवान आफ्नो अगाडि उभिने र पलेँटी मारेर बस्ने थोकबस्तु जस्तो होइन। किनकि परमात्माको कुनै रुप र रंग हुँदैन। वेदमा प्रष्ट लेखिएको छ- ‘नातस्य प्रतिमा अस्ति’ अर्थात् ती परमात्माको प्रतिमा, मुर्ति र सशरीर कुनै हुँदैन।

आफ्नो कला संस्कृति सनातन, रितिरिवाज र आवश्यकतालाई आधार मानेर ईश्वर वास्तवमा आफैंले आफ्नो अनुकुल सृजना र सृष्टि गर्ने हो। नत्र हिन्दु संस्कृतिमा ३३ करोड देवताको सृष्टि कसरी भयो? फेरि भारत नेपाल हिमवत खण्डमा मानिसबाट प्रकट भएका कल्पनातीत सम्पूर्ण ईश्वर प्राय गहुँ गोरा नै छन्।

भेष भुसापनि भारत खण्डको जस्तै पाइन्छ। फेरि युरोप अमेरिका र अन्य मुलुकमा गोरा नै ईश्वर येशु क्रायिष्ट हुनु, इस्लाम धर्ममा पेगम्बर मोहम्मद चुस्स दारीजुंगा पालेकै हुनु पर्ने, त्यस्तै चीनमा र मंगोलमा फुरे दारी भएका लाओत्से र कन्फुसिअस नै हुनु पर्ने, पञ्जावीका ईश्वर फेटा गुतेका गुरुनानक नै हुनुपर्ने।

त्यस्तै काला जातिका मानिसको ईश्वर ‘ओया’ शानो र तानो कालो जातिकै हुनु पर्ने। यो कसरी भयो? किनकी ईश्वरको परिकल्पना मानिसको जाति र धर्मानुसार नै भएको हो भन्ने यी सब प्रवचनबाट प्रष्ट हुन्छ।

महान दार्शनिक र चिन्तक जेकृष्ण मुर्ति भन्छन्-ईश्वरको सृष्टि मानिसको कल्पनाबाट सिर्जित हो, न कि ईश्वर आफैं सृष्टि भएको। भनिन्छ-यो संसारमा हामी जे खोज्दछौं, त्यही पाउँछौं। ढिलो र चाँडोमात्र हो।

ईश्वरकै सृष्टिको कुरा गर्ने हो भने चरा चुरुंगी र पशुले पनि आ-आफ्नै जातिको ईश्वर बनाउँदछन्। नत्र किन यस्तो फरक फरक ईश्वरको सृष्टिको अनुभूति भयो। वास्तवमा ईश्वर एक मानिसको तर्क तस्बीर र प्रतिमा हो जसलार्ई जसरी पनि हेर्न, राख्न र अनुभूति गर्न सकिन्छ।

ईश्वरबारे धेरै तर्क गर्ने र अध्यात्मवादका पुजारीले धेरै जड अडान नलिई ईश्वर देखेकै हो, कुरा गरेकै हो भनेर जिद्दी नगरी आफ्नो स्वकर्ममा र स्वधर्ममा मात्र लागीरहुन भन्ने कामना राखून् भन्ने प्राज्ञको भनाइ छ किनकि जति यसमा उफ्रिउफ्री डंका पिट्दछन्, उति उति नास्तिकताको उदय हुँदै जान्छन् यो बैज्ञानिक समाजमा।

ईश्वर देख्नेहरु अकालमा वा अल्पायुमै किन मर्दछन्? उनीहरुलार्ई भयंकर रोग किन लाग्दछ? किन ईश्वरले यिनीहरुलार्ई ब्रम्मलीन गराई समाधिमा लैजान सक्दैनन्। किन ३५/४० ,४०/५० र ५०/६० वर्षमै यिनीहरुलार्ई परलोकतिर धकेलिइरहेको छ। यसको सटिक जवाफ ईश्वरवादीहरुले संसार समक्ष स्पष्ट रुपमा राखून्।

समयको लेखा हो भनी उम्कन पाउँदैनन्। यसमा ईश्वरवादीहरुले भौतिकवादीहरुलाई चित्त बुझाउनै पर्दछ। आखिर भौतिकवादीहरु पनि ठिक्कै छन् नि। कारण देखेको चिजबस्तुहरुलार्ई मात्र स्वीकार गर्ने। कर्मलार्ई र मानिसको जीवनलार्ई बिकसित तहमा लैजाने यी बस्तुवादीहरुलाई किन मानिदैन।

किन यिनीहरुले उत्पादन गरेका सम्पूर्ण चिजबस्तु ईश्वरवादीहरुले बेफिक्रीसँग भोग गरिरहेका छन्। घडी, औंठी, मल्मल्का कपडा र अन्य सजिसजावाटका सामान उनैले भोग गरिरहेका हुन्छन्।

त्यस्तै हवाइजाहाज, मोटर, रेल आदि सबै प्रयोग गर्दछन् भने ती अध्यात्मवादीहरू तिनीहरुलार्ई किन मान्दैनन् र पुज्दैनन्। संसार श्रृंगार्ने कलाकारहरुको पूजा किन गर्दैनन्? संसारलार्ई बन्द एक कोठाभित्र बसेर देखाउन सक्नेदेखि के को इष्र्या? गगनचुम्बी महल र चिल्ला नागबेली सडक बनाउने माथि के को डाह?

जटिल भन्दा जटिल रोगको सघन उपचार गर्ने ठुला बैज्ञानिकसँग के को बिबाद? खेतीपातीमा बिशाल अन्न उत्पादन गर्ने परिश्रमी किसानको तारिफ यहाँ किन गरिँदैन? किन खुला आकासमा सुकरातलार्ई झुलाइँदैन। किन यस्ता व्यक्तिलार्ई पोटासियम साइनाइड जस्ता बिख सेवन गर्न बाध्य गराइन्छ।

१६ वर्षसम्म लगाएर विश्व प्रसिद्ध मोनालिसाको चित्र निर्माण गर्ने लिओनार्दो दा.भिन्चीको किन पूजा गरिँदैन। किन यस्ता बस्तुवादी पुजारीको पूजा हुँदैन? किन फेर्देरिक नेत्से जस्ता ईश्वरको कल्पनालार्ई वास्ता नगरी बस्तुवादको मात्र डंका पिटेर हिँड्छन? के सुकरात, नेत्से, न्युटन, ग्यालियो, आइस्टाइन र स्टेफेन हकिंस मुर्ख थिए र?

यिनीहरुपनि बाटो बिराएर अध्यात्मवाद तिर लागेर हरिनाम मात्र जपेर बसेका भए आजको विश्व के हुन्थ्यो होला। यो हाम्रो परम भाग्य हो। नत्र आजपनि हामीले टुकी बालेर बस्नु पर्ने बाध्यता हुन्थ्यो होला।

तसर्थ स्थिर रुपमा कल्पनातीत भावनात्मक रुपमा मात्र रहेको रहेको प्रतिमा वा आकार केही नभएको तत्वलार्ई अनेक नामाकरण गरी अनेक झल्मलाउँदो परिभाषा र उपनामले श्रृंगारी ईश्वरलार्ई जडरुपमा उतार्न कोसिस गर्नेे पण्डितहरु आफ्नो काम गरेर बसून्। ईश्वर छ र छैनमा पटक्कै विवाद नगरुन्।

ईश्वर छ या छैन भन्ने कुरा अनुभूति गर्नमात्र दिउँ। जे भेटिन्छ त्यही स्वीकार गर्ने हो। भगवान बुद्ध किन यसमा विवाद शून्य छन्? मानिसले जेबाट सन्तुष्टि र आनन्द पाउँछन् त्यही ईश्वर हो। वास्तवमा आस्तिकताको हुंकार नगर्ने हो भने नाश्तिकताको जन्म नै हुँदैन। जहाँ हो आउँछ त्यहाँ होइनले जन्म लिन्छ।

आज भौतिकवादीले गरेको बिकास हेर्दा अध्यात्मवादीहरुद्ध अझै जलिरहेको मानिसको देह हेरी संसार केही छैन भनी बिकास गर्नेलार्ई कर्मदेखि विमुख गराउन तल्लीन छन्। आजसम्म खरबौं खरबको समाजमा कतिजनाले ईश्वरीय अनुभूति गरे होलान् त्यो नगण्य छ। बुद्ध लाओत्से,जिसस,पेगम्बर र अन्य दुई चार जनाले गरे होलान्।

तर बाँकी सब त अहिलेसम्म खोजेरै हिँडेका छन् र भेट्टाउन सकेका छैनन्। तर भौतिक संसारमा कमसेकम आनन्द त लिइरहेका छन्। परमात्माको दर्शन होइन अनुभूति गर्न सबैभन्दा पहिले मनमा शान्ति हुनुपर्दछ।

शान्त मनले स्थिरपना जगाउँदछ, स्थिरपनाले सन्तोष आउँछ, सन्तोष फरि चित्त शुद्धीबाट प्राप्त हुन्छ र चित्त शुद्ध संगतले हुन्छ, संगत र सत्कर्मबाट मोह बासना क्रोध र घमण्ड सबै हराई कर्म ज्ञानको ढोका खुल्दछ र यसको निरन्तर अभ्याशले फेरि महाज्ञानको तेश्रो आँखा खुली जीवको मुक्ति हुने मार्ग प्रशस्त हुन्छ र अनिमात्र आनन्द प्राप्त भै भित्र ईश्वर जो सधैं सदा चित्त आनन्दमा रहेको तत्व छ त्यो छमछम नाच्न थाल्दछ।

अनि त्यही नाचमा जीव कर्मशील बनी त्यही आसपासमा हरिहरको दर्शन मिल्दछ भन्ने कुरा वेद पुराण आदि ग्रन्थमा र निर्णय सिन्धुमा वर्णित छ।

तर जीवन त फेरि सुख दुःखको घाम छायाँ हो। कहाँ सबै मानिस यस्तो गर्न सक्छन र? कहिले सुख त कहिले दुःखले मानिसलार्ई डसी नै रहेको हुन्छ। कहिले प्रचण्ड गर्मी त कहिले कठाग्रिँदो जाडो। कति माया पिरती बसे यहाँ त कति झरी बर्षा बर्से यहाँ।

कति सुखको पहाड ठडियो त कति दुःखका भीर पैरो खस्यो यहाँ। सबै परमेश्वरको मोह जालमा तिल्मिलाएका छन्। सबै अल्मलिइरहेका छन। भैतिक तत्वले यसमा निक्कै साथ दिएको छ। आज भौतिक तत्व नहुने हो भने जीवन निराश बनेर अन्धकार हुन जान्छ।

तसर्थ हे अध्यात्मवादीहरु न धन त्यागेर त्यागी र ईश्वर भइन्छ न मोह त्यागेर त्यागी भइन्छ। सच्चा त्यागी त त्यो हुन्छ जो ‘अहम’ त्यागेर मात्र त्यागी बनिन्छ। भौतिक संसारमा बसेर प्रेम र भक्तिको भाव जगाउ।

अनि कुनै तीर्थ टाढा हुँदैनन्। राम श्याम सबै यहीँ छन्। कर्म गर, ईश्वर कुनै पर छैनन्। यतैकतै हाम्रै वरिपरी घुमिरहेका छन्। तसर्थ अध्यात्म चिन्तन र भौतिक प्रगतिको बीचमा बसेर केवल साक्षीको रुपमा मात्र रहेर हेर्ने, देख्ने र चिन्तन गर्ने गर। बस यसैमा छ ईश्वरीय आनन्द र भौतिकवादको सुख सयल।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *