सालिक तोड्नेहरुको नाममा
मुलुकमा हुने हरेक नयाँ राजनीतिक परिवर्तनहरुले पुरानो व्यवस्था, पद्धतिलाई विस्थापन गरेको हुन्छ। र, विस्थापित पद्धति इतिहास बन्न पुग्छ। यो राजनीतिक व्यवस्थाको मात्र कुरा हो तर मुलुकको इतिहास राजनीतिसँगमात्र जोडिएको हुँदैन।
इतिहासले तत्कालीन कला, संस्कृति, पहिचान, साहित्य, भाषा,जाति धर्मसहितको सम्पूर्ण समाजलाई बोकेको हुन्छ। इतिहासले पहिचान गराएका विषय र प्रसंगमात्र भौतिक संरचनाहरु पनि पुरातात्विक महत्व बोकेका अमूल्य सम्पत्ति बन्न पुग्छन्।
यस्तो सम्पत्तिमाथिको हमला मुलुकको अमूल्य सम्पत्ति र समग्रमा मुुलुकका बासिन्दाको पहिचानमाथिको हमला हो। यो अक्षम्य हुनुपर्छ। तर, नेपालमा राजनीतिक क्षणिक स्वार्थमा वा कुत्सित मनासाय बोकेका केहीको लहैलहैमा मुलुकका अमूल्य सम्पत्ति भइसकेका पुरातात्विक महत्वका सालिकहरु तोडिएका छन्, लडाइएका छन् र टुक्र्याइएका छन्।
पुरातात्विक महत्वका बस्तुहरु तोडेर इतिहास मोड्न सकिँदैन, इतिहास जनजनको मन मनमा पुस्तौं पुस्तासम्म बस्ने कुरा हो भन्ने बुझेर बुझ्पचाउनेहरुले मुलुकको कानून पनि उल्लंघन गरेका छन्।
पुरातात्विक महत्वको धनी छौं भन्ने कुरा अव हामी नेपालीको पहिचान भइसकेको छ। हाम्रा पुर्खाहरुको मिहेतन, सिप, धैर्यताले आर्जेको हाम्रो आजको मुलुकको वास्तविक धरातल दर्शाउने शान हुन्- पुरातात्विक महत्वका वस्तु।
पृथ्वीनारायण शाहको शालिक यथावत राखी लखन थापाको शालिक पनि स्थापना गरेको भए विविधतामा एकताको सपनालाई साकार पार्न लखन थापाले एकताको लागि चाहिने आधारभुत तत्व, जनताको अधिकारको निमित्त दिएको बलिदानको महत्व अझ गाडा रुपमा समाजमा हरेक जनताको भावनामा परिणत हुने थियो। तर हामीले हाम्रो पुरातात्विक महत्वको वस्तुलाई, इतिहास वोध गर्ने भावनालाई नै हटाएर संस्कार र संस्कृति मार्ने कु-प्रथाको प्रारम्भ गरेका छौँ।
इतिहासमा हाम्रो आजको नेपाल बनाउन कस्तो संघर्ष गर्नु परेको थियो, कुन चट्टानलाई चिर्नु परेको थियो, हाम्रो संस्कारको पृष्ठभूमि कस्तो थियो भनेर आजको पुस्तालाई चिनाउने नासो हुन्- पुरातात्विक महत्वका वस्तु।
आजको र भोलिको पुस्तालाई हाम्रो संस्कृति, रितिरिवाज, बाबु बाजे, आमा बजैले गरेको बलिदानको आभाष दिलाउन हामीले पुरातात्विक महत्वका वस्तुको आढ लिने गरेका छौँ।
पुरातात्विक वस्तु भनेको मठ, मन्दिर होस्, कुनै शालिक होस्, देशको इतिहासलाई बोध गराउने हस्तलिखित वंशावली, हस्तलिखित ग्रन्थ, स्वर्णपत्र, शिलापत्र इत्यादि पत्रहरु समेत हुन्। प्राचीन स्मारकहरुको र पुरातात्विक वस्तुहरुको संरक्षण गर्नको निमित्त २०१३/०७/२७ मा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ जारी गरिएको थियो।
यो ऐनले, ‘कुनै व्यक्ति वा संस्थानको व्यक्तिगत, परम्परागत वा पुर्ख्यौली संग्रहहरुमा एक सय वर्षभन्दा पुरानो पुरातात्विक वस्तु रहेको छ भने त्यस्तो संग्रहको धनीले यी वस्तुको नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको म्यादभित्र तोकिदिएको कार्यालयमा दर्ता गराउनु पर्दछ’, भनेर व्यवस्था गरेबाट समेत उक्त ऐनको मकसद पुरातात्विक महत्वका वस्तु जोगाएर इतिहासले सिकाएको संस्कार आजको पुस्ताले आगामी पुस्तालाई नासो स्वरुप संरक्षण गरी राखोस भन्ने नै हो।
त्यस्तै, ‘ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरु र त्यसको इतिहससँग राष्ट्रको अतीत जोडिएको हुने र यस्ता सम्पदाहरु एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुनुपर्छ र तिनमा जनताको भावतात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ।
यस्ता सम्पदा एक व्यक्ति वा निकायसँग सरोकार नभएर समूह, समुदाय, क्षेत्र र राज्यसँग सरोकार राख्ने हुनाले प्रत्येक राष्ट्रले राष्ट्रको ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक धरोहरहरुको बारेमा आफ्ना भावी पुस्तालाई जानकारी दिलाउनु पर्छ भन्ने कुरामा विवाद रहेन’ भनेर सम्मानित सर्वोच्च अदालतले समेत बोलेको अवस्था छ।
सर्वोच्च अदालतले गरेको परिभाषा र विधायिकाको मनसाय प्रष्ट हुँदा समेत नेपालमा पुरातात्विक महत्वको शालिक भत्काउने कु-प्रथा सलबलाइरहेको छ। गणतान्त्रिक राज्यको वहालीसँगै नेपालको इतिहासमा २०० वर्ष भन्दा बढी समय ओगटेको राजतन्त्रसँग सम्बन्धित शालिकहरु भत्काउने कार्य भयो।
यसको सबैभन्दा उच्च उदाहरण, पोखराको पृथ्वी चोकमा रहेको पृथ्वी नारायण शाहको शालिक भत्काइयो। त्यस ठाउँमा नेपालको पहिलो शहिद लखन थापाको शालिक स्थापन गरिएको छ।
लखन थापा, नेपालको पहिलो शहिदको रुपममा चिनिन्छन्। जंगबहादुर राणाले प्रारम्भ गरेको निरंकुश राणा शासनको दबदबाहटबाट नेपाली जनतालाई उकास्नको निमित्त नेपाली सेनाको गोरखा पल्टनका सिपाही, लखन थापाले घर बिदा लेखाएर मनकामना माईको प्रांगणमा निरंकुशता विरुद्ध क्रान्तिको बिउ रोपेका थिए।
जनतामा निरंकुशता विरुद्ध जनचेतना फैलाई प्रजातन्त्रको बिउ २००७ साल भन्दा करिब ९० वर्ष अगाडि नै उनले रोपेका थिए। सो विउ रोपेको फल स्वरुप राणाहरुको आदेशबमोजिम उनलाई रुखमा झुण्डाएर मारिएको थियो।
निरंकुशताको विरुद्ध पहिलो आवाज उठाउने लखन थापाको दुरगामी सोच, बहादुरी र बलिदानको फल नै आजको प्रजातन्त्र हो, आजको जनताको प्रजातान्त्रिक भावना हो।
सोही भावनालाई नेपाली पुस्ताले चिनुन, महसुस गरुन र अँगालुन भनेर अधिराज्य भरी ठाउँ ठाउँमा उनको शालिक स्थापना गरिएको छ। शालिक स्थापना गर्नको कारण पनि इतिहास वोध गराउनको लागि नै रहेको कुरामा दुई मत हुन सक्दैन।
त्यस्तै पृथ्वीनारायण शाहले पनि एकीकरणको सपना बुँनेर एकीकरणको अभियानमा नहिँडेको भए न लखन थापाले प्रजातन्त्रको विउ रोप्न पाउँथे, न हामीले आज नेपाली हुनुमा गौरवान्वित हुन नै पाउँथ्यौं।
विविधतामा एकता हाम्रो शान, हाम्रो पहिचान र हाम्रो ताकतको पर्यायवाची नाम पृथ्वीनारायाणले साकार पारेको एकीकृत नेपालको सपना नै आजको हाम्रो अस्तित्व हो।
यस्तो एकताको प्रतिकको शालिक प्रजातन्त्रको नाममा भत्काउनु भनेको ऐन कानून बिपरीत मात्र नभएर नेपाल संस्कृति, पहिचान इतिहास र संस्कारलाई समेत मारेको हो।
पृथ्वीनारायण शाहको शालिक यथावत राखी लखन थापाको शालिक पनि स्थापना गरेको भए विविधतामा एकताको सपनालाई साकार पार्न लखन थापाले एकताको लागि चाहिने आधारभुत तत्व, जनताको अधिकारको निमित्त दिएको बलिदानको महत्व अझ गाडा रुपमा समाजमा हरेक जनताको भावनामा परिणत हुने थियो। तर हामीले हाम्रो पुरातात्विक महत्वको वस्तुलाई, इतिहास वोध गर्ने भावनालाई नै हटाएर संस्कार र संस्कृति मार्ने कु-प्रथाको प्रारम्भ गरेका छौँ।
पुरातात्विक महत्वको सम्पदालाई मेट्ने होइन जोगाएर पुस्तालाई पुस्तान्तरण गर्ने हरेक नागरिको दायित्व भएको हुँदा प्राचिन स्मारक ऐन र सर्वोच्च अदालतले गरेको परिभाषाबमोजिम पनि इतिहासका हरेक व्यक्तित्वले सिकाएको संस्कारलाई भावनात्मक रुपमा जोड्ने सम्पदालाई संरक्षण गरेमा मात्र नेपलीको पहिचान र नेपालको अस्तित्व चन्द्र सूर्य रहेसम्म रहने छ।
अन्यथा, संस्कार मेटिनथालेमा राष्ट्रिय भावना समेत धमिलो हुँदै जानेछ र कालान्तरमा नेपाल र नेपालीको पहिचान र नेपालको अस्तित्वनै धरापमा पर्नेछ।
‘रहन्छौं कहाँ नेपाली, यदि नेपाल नरहे’ ।
Facebook Comment