राष्ट्रिय गौरवका आयोजनालाई गति दिन सहजीकरण भइरहेको छ : मन्त्री बस्नेत

डिसी नेपाल
५ माघ २०८० २१:२३

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयमातहतका राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण भइरहेको बताएका छन् ।

नियमितरूपमा आयोजनाको अनुगमन, निरीक्षण एवं समस्या समाधानका लागि मन्त्रालयका तर्फबाट आवश्यक पहल गरिएको उनको भनाइ छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा मन्त्री बस्नेतले विगतमा राष्ट्रिय गौरवको आयोजना छनोटमा भएको कमजोरीका कारण पनि केही जटिलता थपिएको तथ्य पेस गरे । विगतको कमजोरी सुधार गरेर आयोजना छनोटमा नै ध्यान दिनुपर्ने बताए ।

ठूला आयोजनाका आयोजना प्रमुखलाई जिम्मेवार भएर काम गर्न आवश्यक निर्देशन गरिएको र उनीहरूलाई समयअगावै सरुवासमेत नगरिएको मन्त्री बस्नेतको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना सञ्चालनका लागि विशेष कानुनी संरचना र प्रबन्ध गरिनुपर्ने उनको कथन छ । त्यस्ता आयोजनाको समग्र पक्षमा नै पुनःविचार गर्नुपर्ने बेला आएको मन्त्री बस्नेतले स्पष्ट पारे ।

समितिको बैठकमा मन्त्रालयमातहतका महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया आयोजना, बबई सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी गराइएको थियो ।

सरकारले सिँचाइ सुविधा विस्तार गरी कृषिउपज उत्पादन बढाउने र आत्मनिर्भर बनाउने लक्ष्यका साथ ठूला आयोजना सुरु गरे पनि अपेक्षित प्रगति हुनसकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको समय र लागत दुवै बढ्दै जाँदा अपेक्षित लाभ हासिल हुन नसकेको हो । चौतर्फी आलोचना र नियामक निकायले समेत लगातार अनुगमन गर्नुपर्ने अवस्था देखापरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यस्ता आयोजनाको हरेक एक महिनामा प्रगति विवरण लिने, समस्या समाधान गर्ने, आयोजना प्रमुख तथा संलग्न कर्मचारीलाई जिम्मेवार बनाइरहेको छ । जलस्रोत तथा सिँचाइ विभागले हरेक १५ दिनमा प्रगति विवरण लिने गरेको छ । केही आयोजनाको भौतिक निर्माणले गति लिएको भए पनि केही आयोजनाको प्रगति भने सन्तोषजनक नभएको पाइएपछि संसदीय समितिले चासो लिँदै आज छलफल गरेको हो ।

राष्ट्रिय गौरवका ती आयोजनाबाट कुल दुई लाख ८७ हजार पाँच सय ८६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । यस्तै ८२ दशमलव पाँच मेगावाट बिजुलीसमेत उत्पादन हुनेछ । त्यसमध्ये रानी जमरा कुलरिया सिँचाइ आयोजनाले चार दशमलव सात मेगावाट बिजुली उत्पादन गरिसकेको छ । सो आयोजनाको बिजुली उत्पादन तथा सञ्चालनका लागि आवश्यक मोडालिटी निर्माणको चरणमा छ ।

समितिमा प्रस्तुत भएको विवरणानुसार अधिकांश आयोजनाका निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, निर्माण सामग्री अभाव, वन क्षेत्रको जग्गा प्रयोगमा समस्या, यथेष्ट बजेटको अभाव छ । ती समस्या समाधानका लागि सहजीकरण गरिएको छ ।

राष्ट्रिय गौरवका आयोजनामध्ये रानी जमरा कुलरिया आयोजनाको प्रगति अपेक्षितरूपमा राम्रो छ । यस्तै सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुल १३ दशलमव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १० दशमलव पाँच किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

टनेल बोरिङ मेसिन (टिबीएम)को प्रयोग गरेर खनिएको सुरुङ निर्माणमा पछिल्लो दिनमा भौर्गभिक जटिलता देखापरेको बताइएको छ । यस्तै भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण सकिएको भए पनि बाँधस्थल र विद्युत्गृह निर्माणमा भने सोचेजति प्रगति हुनसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *