पहिचान पक्षधरसँग वार्ता गर्न कोशी सरकारले गठन गर्‍यो तीन सदस्यीय समिति

डिसी नेपाल
६ माघ २०८० १४:३९

विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरहरु संग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

शनिवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो।

वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेललाई सदस्य सचिव तोकेको कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले जानकारी दिए।

यसअघि तत्कालिन हिक्मत कार्की नेतृत्व र उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारले पनि पहिचानवादीहरु संग वार्ता गर्न मन्त्रीको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। कोशी प्रदेशको नामाकरण बारे पहिचान पक्षधरहरुले विवाद गरेपछि प्रदेश सरकारले वार्ता समिति गठन गर्दै आएको छ।

यसैगरी मन्त्रिपरिषद बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो सशोधन स्वीकृत गरेको छ ।

त्यस्तै केही प्रदेश ऐनलाई संसोधन गर्ने अध्यादेश २०८० सिफारिश गर्ने तथा १० वर्ष मुनिका बालबालिकाहरुको निशुल्क उपचारका लागि कोशी प्रदेश बालबालिका संरक्षण नियमावली स्वीकृत गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *