प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

डिसी नेपाल
७ माघ २०८० ९:४९

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्।

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन्। सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल गत बुधबार युगान्डाको राजधानी कम्पला पुगेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे लगायतले स्वागत गरेका छन्।

विश्व आर्थिक तथा वित्तीय संरचनालाई विकासोन्मुख मुलुकहरूको आर्थिक उन्नतिका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चितता हुने गरी सुधार गरिनुपर्ने तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय व्यापार संरचना पनि विकासोन्मुख देशहरूको हित अनुकूल हुने गरी सुधार गर्न असंलग्न आन्दोलनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेपालले जोड दिएको उनले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त पत्रकार सम्मेलन गरी उनले सो जानकारी दिएका हुन्। सम्मेलनमा प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए।

उनले इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने बताउँदै शान्ति स्थापनामा जोड दिएका थिए। प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए।

युगाण्डा भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदाय र अन्य देशका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ ४ गते युगाण्डा प्रस्थान गरेका थिए। प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार युगाण्डा सम्मेलनलाई सम्बोधन गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *