उच्च अदालतले खाणलाई छोडेर आफूहरुलाई थुनेपछि टोपबहादुरहरू सर्वोच्चमा

डिसी नेपाल
७ माघ २०८० १०:१३

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएपछि थुनामा रहेका अन्य अभियोगीहरु रिहाइको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनको आदेशले थुनामा रहेकाले उक्त आदेश बदरको माग गर्दै सर्वोच्चमा पुगेका हुन्। उच्चको आदेशले नौजना यस मुद्दामा पुर्पक्षका लागि थुनामा छन् भने ११ जनाको हकमा जिल्लाको आदेश बदर भएकाले उनीहरु थुनामुक्त भइसकेका छन्।

यतिबेला गत १२ पुसमा गृहसचिव टेकनारायण पाण्डे र पूर्वमन्त्री टोपबहादुर रायमाझीले उच्चको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दर्ता गराएका थिए। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले उक्त निवेदनउपर सुनुवाइ गर्दै १६ पुसमा कैफियत झिकाउने आदेश दिएका थिए।

यसैगरी उच्चको आदेशले थुनामै रहेका पाण्डे र रायमाझीसहित केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, इन्द्रजित राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पासमेत निवेदनसहित सर्वोच्च पुगेका थिए।

नेपाली नागरिकलाई भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने प्रलोभनमा करोडौँ ठगी गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। गत १० जेठमा जिल्ला सरकारी वकिलको कार्यालयले पूर्वमन्त्री र सांसदका साथै उच्च सरकारी अधिकृतलाई पनि विपक्षी बनाउँदै मुद्दा चलाएको थियो। ठगी, लिखत किर्ते र राज्यविरुद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत १ असारमा थुनछेक आदेश गरेका थिए। तत्काल उपस्थित भएका १८ प्रतिवादीमध्ये १६ जनालाई थुनामा पठाएका थिए भने दुईजनालाई धरौटीमा रिहा गर्ने आदेश गरेका थिए।

पछि उपस्थित गराइएका दुईजनासमेत गरी २० जनाको हकमा उच्च अदालतले १५ मंसिरमा आदेश गरेको थियो। उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले जिल्लाले आदेश दिएकामध्ये नौजनालाई थुनामै रहने आदेश गरेको थियो भने पूर्व १० जनाको हकमा आदेश आंशिक उल्ट्याएको थियो।

उक्त इजलासले टेकनारायण पाण्डे, इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पा थुनामै रहने गरी जिल्ला अदालतकै आदेश सदर गरेको थियो।

यसैगरी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ, सन्दीप रायमाझी, टेकनाथ रिजाल, रामशरण केसीलाई धरौटीमा रिहा गर्ने गरी जिल्लाको आदेश बदर गरेको थियो। पाण्डे र खरेलको इजलासले लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *