नेपाली रगत विदेशी सेवामा कहिलेसम्म
रुस-युक्रेन युद्धका क्रममा एघार जना नेपालीले ज्यान गुमाएको समाचार आएको छ। यस घटनाले सबै नेपालीको मन रुवाएको छ। वास्तवमा यो रुनै पर्ने घटना पनि हो।
स्वदेशी रगत विदेशीको स्वार्थका लागि प्रयोग हुँदा कताकता नमिठो लाग्नु स्वाभाविकै हो। यसै विषयमा विचार गर्दागर्दै आज किन यस्तो भयो त? भन्दा हिजोको याद आयो। फलतः यो आलेख तयार भयो।
प्राचीनकालदेखि नै नेपालबाट चीन र भारत दुवैतर्फ नेपाली व्यापारी भिक्षु तथा पण्डित आउनेजाने गर्दथे भने कतिपय नेपालीहरु नालन्दा तथा तक्षशिलामा उच्च पदमा आसीन थिए। यसैगरी भोटमा त नेपालीहरु विशिष्ट सुविधा उपभोग गरी महाजनका रुपमा प्रतिष्ठित भएका थिए।
कलाकार अरनिको त उच्च पद पाएर पेचिङ दरबारमा चिनियाँ बादसाहको निकट भएका थिए। नेपाली वास्तुकलाविद तथा बौद्ध धर्मका पण्डितहरू उत्तर तथा दक्षिणतिर सम्मानित थिए। तर, उन्नाइसौँ शताब्दीअगाडि नेपालीहरू विदेशी सेनामा भर्ना भएको अभिलेख पाइएको छैन।
नेपाली रगत विदेशी सेवाको लागि खर्च हुने कार्यबाट मुलुकले के पायो, के गुमायो? विचार गरी भविष्य उन्मुख योजना वा रणनीति बनाउन जरुरी छ। एकपटक ढोका खोलेपछि बन्द गर्न निश्चय नै कठिन हुन्छ तर पनि मुलुकलाई परेको र पर्ने दीर्घकालीन असरलाई दृष्टिगत गरी यस विषयमा गम्भीर भइहाल्नु पर्नेछ।
गोरखाको नेतृत्वमा विजय अभियान सञ्चालन गर्ने क्रममा सैनिक परिचालन अधिक मात्रामा हुँदा गोर्खालीहरू युद्धकलामा निपुण हुँदै गए। सैनिकमा हुनुपर्ने गुण नेपालकै केही विशेष वर्गमा हुँदा तिनीहरु वीर कहलिए। यिनै वीर नेपालीहरूकै बहादुरीका कारण नेपाल टिस्टादेखि सतलजसम्म पुगेको थियो।
नेपालीहरूले विजय अभियान सञ्चालन गर्दा भारतमा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा तीव्र गतिले अगाडि बढिरहेको इस्ट इन्डिया कम्पनी तर्सन पुग्यो। नेपाल-अंग्रेज युद्ध हुनुपूर्व नै गोर्खालीलाई आफ्नो सेनामा भर्ना गराउने कुटिल चाल चलिसकेको थियो तर आशातित सफलता पाउन सकेको थिएन।
सुगौली सन्धिपश्चात् नेपाल अंग्रेज युद्धमा बहादुरी देखाएका र अंग्रेजबाट समेत प्रशंसित बलभद्र कुँवर केही नेपाली जवानका साथ पन्जाबका नरेश रणजित सिंहको सेवामा सम्मिलित हुन पुगे। प्रथम पटक ठूलो संख्यामामा नेपालीहरु विदेशी सेनामा भर्ना हुन गए।
अर्को तर्फ नेपाल-अंग्रेज युद्धमा गोरखालीलाई भर्ना गर्न प्रोत्साहन गर्न थाले। पश्चिमका केही भगौडा नेपाली सैनिक अंग्रेज सेनामा भर्ना हुन थालिसकेका थिए। सुगौली सन्धि पछि त अंग्रेजी सेनामा नेपालीहरु भर्ना हुने क्रम वृद्धि हुँदै गयो। नेपालभन्दा उतै सेवा सुविधा बढी हुने हुँदा नेपालीहरू अंग्रेजी सेनामा भर्ना हुन चाहने नै भए।
नेपाल सरकारले नेपालीहरूलाई अंग्रेजी सेनामा भर्ती हुन परोक्ष रूपमा रोक्नै लगाएको थियो। अंग्रेजहरू बढीभन्दा बढी नेपालीलाई आफ्नै सैन्य बलमा समावेश गर्न चाहन्थे र यस दिशामा नेपाल सरकारकै समर्थन पनि खोजेका थिए। तर वीरसमशेरभन्दा अगाडि नेपालले अंग्रेजको चाहना पूरा गर्न कहिल्यै लागेन। बरु परोक्ष रुपमा अंग्रेज फौजमा भर्ना हुन नेपालीलाई निरुत्साहित नै गरेको थियो।
वीरसमशेर सत्तामा आएपछि अंग्रेजले चाहेजति नेपाली जवान लिन थाल्यो। समशेर तथा राणा शासकले अंग्रेजको सेनामा सामेल हुन उक्साए। अंग्रेजी सेनामा भर्ना भएकालाई पनि नेपाली सेनामा भएकै ठानिने आशयको ढोल पिटाए।
अंग्रेजका एजेन्टहरू गल्लावाल संकलन गर्न गाउँगाउँ पुगे यसबाट अंग्रेजीको सेनामा भर्ना हुने संख्या ह्वात्तै बढ्न गयो। द्वितीय विश्वयुद्धसम्म यो क्रम बढी नै रह्यो नेपालीहरूमा अंग्रेजी फौजमा सेवा गरी लाहुरे हुने धेरैको रहर जाग्यो अंग्रेजले राई लिम्बु क्षेत्री मगर गुरुङ जस्ता जातिबाट सेनामा भर्ना लिने हुँदा धेरै ब्राह्मण तथा नेवारले समेत आफ्नो थर नै परिवर्तन गरी अंग्रेज सेनामा भर्ना हुन पुगे।
नेपाल शासकको अंग्रेजप्रति सहयोगको भावना थियो भने भोट-चीनमा ठिक उल्टो थियो। चिनियाँ फौजमा भर्ना हुन बन्देज नै लगाइएको थियो। लुकिछिपी जानेलाई समेत रोक लगाइन्थ्यो। ह्लासा स्थित चिनियाँ अम्बानले गोर्खाली जवानहरूलाई चिनियाँ फौजमा भर्ना गर्न चाहेकामा नेपालले मञ्जुरी दिएन।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि गोर्खा भर्ती विषयमा नेपाल भारत र ग्रेट ब्रिटेन बीच त्रिपक्षीय सन्धि भयो। यसले मौजुदा गोर्खाली फौज बाँटफाँड गरी भविष्यमा आआफ्ना आवश्यकता अनुसार भर्ना गर्ने कार्यलाई निरन्तरता दिए।
धरान पोखरा भैरहवा जस्ता स्थानमा नेपालीलाई भर्ना गर्ने डिपो नै खुले। अंग्रेजले गोर्खाली फौजलाई सिंगाापुर, मलेसिया र आवश्यकता अनुसार अन्यत्र खटाउँदै गयो। भारतीय फौजमा पनि गोर्खाली जवानहरूको संख्या बढ्दै गयो।
प्रथम तथा द्वितीय विश्वयुद्धमा नेपालीले देखाएको वीरताका कारण संसारका सबै मुलुक नै गोर्खालीहरुप्रति आकर्षित हुन थालेका थिए। भारत बेलायत लगायत हाल युरोप अमेरिका अस्ट्रेलियामा समेत धेरै नेपालीहरु सैन्य सेवामा छन्।
बेलायत र भारतमा गोर्खालीको बेग्लै बटालियनहरु संगठित छन्। ब्रिटिस सेना भर्नाका लागि त तालिम दिने धेरै संस्थाहरु काठमाडौँ, धरान, पोखरा लगायतका विभिन्न स्थानमा संस्थाका रूपमा खुलेर क्रियाशील छन्।
यसै पृष्ठभूमिमा नेपालीहरू रुसी सेनामा भर्ना भई युक्रेनसँग युद्धमा होमिँदा केहीको वीरगति प्राप्त भएको समाचार छापामा आउन थालेका छन्। यी युवाहरू दलालमार्फत वा अन्य माध्यमबाट रूस पुगी सेनामा भर्ती हुन पुगेका थिए।
किन नेपालीहरू रुसी सेनामा भर्ना भए त भनेर खोज्ने हो भने राम्रो आएबाट भविष्य सुन्दर बनाउने योजनाकै कारण युद्धको समयमा पनि रुसी सेनामा भर्ती भएको देखिन्छ। कति नेपालीहरू रुसी सेनामा भर्ती भए।
रूस र युक्रेन बीचको युद्धमा कति नेपालीहरूलाई खटाइयो कतिको ज्यान गयो त्यसको यकिन तथ्यांक छैन। जुन तथ्यांक बाहिर आएको छ त्यो मिथ्यांक मात्र पनि हुन सक्छ। त्यसको अभिलेख न सरकारसँग छ न त सम्बन्धित देशले नै उपलब्ध गराएको छ। चीनको सेनामा भर्ना गर्न बन्देज लगाउने तर अंग्रेजी सेनामा भर्ना हुन उक्साउने सरकारी नीतिले भारतप्रति कुटनीतिको झल्को दिन्छ।
नेपाली युवा विदेशी सेनामा सामेल हुने परिपाटी र यसको परिणामका विषयमा हालसम्म पनि वस्तुनिष्ठ हिसाबले समीक्षा हुन सकेको छैन। गोर्खा भर्ती बन्द गर्ने विषयमा समयसमयमा आवाज उठ्ने गरेका छन् तर ती आवाजले चर्को रूप लिन नसक्दा कुम्भकर्णे सरकारले वास्ता गरेको छैन।
नेपाली रगत विदेशी सेवाको लागि खर्च हुने कार्यबाट मुलुकले के पायो, के गुमायो? विचार गरी भविष्य उन्मुख योजना वा रणनीति बनाउन जरुरी छ। एकपटक ढोका खोलेपछि बन्द गर्न निश्चय नै कठिन हुन्छ तर पनि मुलुकलाई परेको र पर्ने दीर्घकालीन असरलाई दृष्टिगत गरी यस विषयमा गम्भीर भइहाल्नु पर्नेछ।
तर, संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली फौज पठाउने कार्यलाई यस विषयसँग गास्न मिल्दैन। आफ्नै स्वार्थ र सन्दर्भमा रूमलिएका राजनीतिज्ञ, बुद्धिजीवी, पत्रकार, समाजसेवी तथा नागरिक समाजको ध्यान यता कहिले पुग्ला? बाढी आएको बेला माझीको सल्लाहमै समय लाग्दा के हुने हो?
वर्तमानमा स्वार्थको घेराबाट बाहिर आई सबै राजनीतिक पार्टीको सहमतिमा साझा मुद्दा पहिचान गरी सोको समाधानतर्फ लागेमा सबै मठाधीशहरुलाई पाप पखाल्न सहज हुने थियो कि? जो जससँग सम्बन्धित छ। अस्तु।
Facebook Comment