मुलुकको अर्थतन्त्रले गति लिइसकेको छः नेता कार्की
संखुवासभा। पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रले गति लिइसकेको बताएका छन्। प्रेस युनियन संखुवासभाले आज खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले कोरोनापछि तहसनहस भएको अर्थतन्त्र लयमा फर्किसकेको जिकिर गरे।
अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक भएकाले यसलाई गति दिन साधन, स्रोत र सम्भावनालाई केन्द्रमा राखेर सरकारले अर्थतन्त्रलाई अग्रसर गरिरहेको उनको भनाइ थियो।
“मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपाललाई प्राप्त भएको सहायता हो”, नेता कार्कीले भने, “एमसिसी अन्तर्गत निर्माण हुने आयोजना पाँच वर्षमा सम्पन्न गर्नुपर्छ, विद्युत्को क्षेत्रमा एमसीसी कोसेढुंगा साबित हुनेछ।”
व्यापार घाटालाई न्यूनीकरण गर्न र देशलाई समृद्ध गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने कार्कीको भनाइ थियो।
संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाले देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउँदै उनले यस आयोजनाबाट सबैभन्दा पहिला जिल्लाबासीले लाभ लिनुपर्ने धारणा राखे।
फरक प्रसंगमा बोल्दै कांग्रेस नेता कार्कीले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै सिटमा गठबन्धनमा उम्मेदवार विजयी हुने पनि दाबी गरे। सत्तागठबन्धनले १९ वटा नै सिटमा उम्मेदवारी दिएको र सबै सिटमा सहजरूपमा जित्ने उनको जिकिर थियो।
नेता कार्कीले संविधान जारी गर्न र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कृष्णप्रसाद सिटौलाले खेलेको महत्वपूर्ण भूमिकालाई हेरेर राष्ट्रियसभा सदस्य पदमा उम्मेदवार बनाइएको उनको तर्क थियो।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेता कार्की कार्यकर्तासँग भेटघाट गर्न कोशी प्रदेशका सोलुखम्बु, खोटाङ, भोजपुर जिल्ला हुँदै हिजो बेलुकी संखुवासभा आइपुगेका हुन्।
Facebook Comment